२५ कार्तिक, रोल्पा। आगामी मंसिर १६ गते हुनलागेको स्थानीय तह उपनिर्वाचनका लागि नेकपा एमाले, नेपाली काँग्रेस र माओवादी केन्द्रले उम्मेदवारी टुङ्गो लगाएका छन् । रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नम्बर ४ को वडा अध्यक्ष पदमा हुन लागेको स्थानीय तह उपनिर्वाचनका लागि तीन राजनीतिक दलले उम्मेदवारको टुङ्गो लगाएको हो ।
नेकपा एमालेले रुन्टीगढी ४ को वडा अध्यक्ष पदका लागि बेगम पुनलाई उम्मेदवार बनाएको छ । पुन २०७९ को स्थानीय तह निर्वाचनमा ८ मतले पराजीत भएका थिए । उनै पुनलाई एमालेले पुनः उम्मेदवार बनाउने निर्णय गरेको एमाले रोल्पा जिल्ला अध्यक्ष अमृत बुढामगरले बताए । उम्मेरदवार टुङ्गाएसँगै घरदैलो अभियान समेत सुरु गरेको अध्यक्ष बुढामगरले बताए ।
त्यस्तै नेपाली काँग्रेसले भूपमणि पुनलाई उम्मेदवार बनाएको छ । भूपमणि २०७४ सालको स्थानीय तह निर्वाचनमा वडा अध्यक्ष पदको आकाङ्क्षी थिए । २०७४ मा वडा अध्यक्ष पदमा टिकट नपाएका भूपमणिले काँग्रेस परित्याग गरी एमाले प्रवेश गरेका थिए । तर पछि उनी काँग्रेसमै फर्किएका थिए । उम्मेदवार टुङ्गो लगाएसँगै निर्वाचन केन्द्रित गतिविधिहरू सञ्चालन गरेको काँग्रेस रोल्पाको सचिव शेरबहादुर थापाले बताए ।
यसैगरी, माओवादी केन्द्रले नरेशजङ सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको माओवादी केन्द्रका जिल्ला संयोजक रेशम पुनले बताए । सिंह माओवादी केन्द्र रुन्टीगढीका सदस्य हुन । स्थानीय तह उपनिर्वाचनका अन्य राजनीतिक दलहरूले पनि उम्मेदवार उठाउने तयारी गरी रहेका छन् ।
२०७९ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली काङ्ग्रेसबाट वडा अध्यक्षमा निर्वाचित टंकबहादुर पुनको स्क्रब टाइफसका कारण मृत्यु भएपछि उपनिर्वाचन हुन लागेको हो ।