कुनै पनि जीव उभिन, हिड्न उसलाई शरीरको हड्डीले मद्दत गर्दछ । मानव शरीरमा त झन् हड्डीको भूमिका विशेष रहन्छ । त्यसैले हड्डी बलियो बनाउन एकदमै आवश्यक छ ।

हड्डी बलियो भएन भने कालान्तरमा हड्डी खिइने, हड्डीको घनत्व कम हुने जस्ता समस्या आउँछन् । हड्डी बलियो बनाउन केही घरेलु उपाय अपनाउन सकिन्छ ।

क. घाम ताप्ने

हड्डी बलियो पार्न सुर्यको किरणको महत्वपुर्ण भूमिका रहन्छ । सुर्यको किरण शरीरमा पर्दा यसबाट शरीरले भिटामिन डी प्राप्त गर्दछ । भिटामिन डीको कमी पुरा गर्न बिहानको घाम सबैभन्दा उत्तम मानिन्छ । त्यसैले दैनिक बिहान १० मिनेट घाम ताप्नु पर्दछ । यसले शरीरमा क्याल्सियमको स्तर पनि नियन्त्रणमा राख्छ ।

ख. क्याल्सियमयुक्त खाना

हड्डीलाई बलियो बनाउन डाइटमा हरियो सागसब्जी, दुध, दही, ड्राई फ्रुट, माछा, गेडागुडी, मेवा, सुन्तला समावेश गर्नु पर्दछ । यसले शरीरमा पर्याप्त क्याल्सियम प्रदान गर्दछ । साथै हड्डी बलियो बनाउँछ ।

ग. डोरी खेल्ने

नियमित बिहान बेलुका १०–१० पटक स्किपिङ गर्दा (डोरी खेल्दा) हड्डी बलियो हुन्छ । यसले शरीरमा अन्य लाभ समेत पुर्‍याउँछ ।

घ. जैतुन, धनियाको प्रयोग

खानामा जैतुनको तेल प्रयोग गर्दा हड्डी बलियो हुने गर्दछ । साथै धनियामा २।९ प्रतिशत क्याल्सियम पाइने भएकाले यसलाई नियमित खानामा समावेश गर्दा हड्डी बलियो हुन्छ ।

ङ. लसुन र प्याजको सेवन

लसुनलाई दुधमा उमालेर खिर जस्तो बनाएर खाँदा हड्डी बलियो हुने गर्दछ । साथै प्याजमा सल्फरको मात्रा धेरै हुन्छ । जुन हड्डी बलियो हुनकालागि आवश्यक पर्दछ । त्यसकारण यसलाई दैनिक खानामा समावेश गर्नु पर्दछ ।

एजेन्सीको सहयोगमा