अस्तव्यस्त जीवनशैली अस्वस्थकर खानपाल व्यायामको कमी आदी कारणले पछिल्लो समय मानिसहरु मुटुको रोगबाट पीडित बनिरहेका छन् ।
केही काम गर्न सकेको खण्डमा मुटुरोगबाट बच्न सकिने चिकित्सकहरु बताउँछन्
धूमपान त्याग्नुहोस्
धूमपान त्याग गरेमा कुनै पनि मानिस लामो समयसम्म बाँच्न सक्छ । धूमपान गर्ने व्यक्तिमा अन्य व्यक्तिको तुलनामा दुई गुना ह्दयघात हुने सम्भावना हुन्छ । तर, यदि तपाईंमा पिउने आदत छ भने चुरोट पिउन छोडेको दिनदेखि नै हृदयघातको खतरा कम हुन्छ ।
नुन कम खानुहोस्
अत्यधिक नुनले उच्च रक्तचाप हुनुका साथै मुटुका धमनीहरु असामान्य रुपमा चल्दा मुटुको रोग बढ्ने खतरा हुन्छ । नुनिलो, आलु चिप्स, बदाम, प्याकेटमा राखिएको सुप र सस, टोम्याटो सस, फ्राई गरेको सागसब्जी, पोर्क, पिजा र तयारी मासु सकभर नखानुहोस् । ब्रेकफास्टमा प्रयोग हुने रोटीमा हेर्दा स्वस्थ देखिए पनि अत्यधिक नुन राखिएको हुनाले यसको उपभोग गर्दा विशेष ख्याल गर्नुहोस् ।
डाइटको ख्याल गर्नुहोस्
स्वस्थ डाइटले मुटुको रोग लाग्ने खतरा न्यून हुनुका साथै हृदयघात भएपछि पनि बाँच्ने सम्भावना बढी नै हुन्छ । पर्याप्त ताजा फलफूल र सागसब्जी, कार्बोहाइड्रेडयुक्त गेडागुडी, पास्तालगायत सन्तुलित भोजनको प्रयत्न गर्नुहोस् । बिस्कुट, केक र डेरीबाट उत्पादित चिल्ला र गुलियो खानेकुरा कहिल्यै नखानुहोस् ।
मदिराको मात्रा अनुगमन गर्नुहोस्
अत्यधिक रक्सीको मात्राले मुटुको मांसपेसीलाई हानि र उच्च रक्तचाप बढाउनुका साथै अस्वाभाविक रुपमा तौल बढ्न सक्छ । अत्यधिक मदिरा सेवनले हृदयघातको अत्यधिक खतरा भएकाले पिउने आदत भए पनि आजैदेखि दिनको एक वा दुई प्याकमा सीमित गर्नुहोस् ।
सदा सक्रिय रहनुहोस्
मुटु पनि एउटा मांसपेशी भएकाले यसलाई तन्द्रुस्त राख्न मुटुलाई पनि व्यायामको आवश्यकता पर्छ, ताकि हरेक मुटुको धड्कनमा यसले स्वस्थ रगत शरीरभरि फैलाउन सकोस् । दिनमा कम्तीमा ३० मिनेट औसत दरको व्यायाम गर्नहोस् । तन्दुरुस्तीले शारीरिक स्वास्थ्य मात्र होइन, यसले मानसिक स्वास्थ्य र समृद्धि बनाउँछ ।