रोल्पामा रास्वपाले सुरु गर्‍यो सुझाव संकलन

रोल्पा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रोल्पाले जिल्लामा सुझाव संकलन अभियानको सुरु गरेको छ ।

रास्वपाले सदरमुकाम लिबाङबाट अभियानको थालनी गरेको हो । रास्वपा रोल्पाका जिल्ला संयोजक रमेश थापा क्षेत्रीले जिल्लामा अभियानको औपचारिक रुपमा सुरु गरेका हुन।

उनले रोल्पा नगरपालिका वडा नं. ४ मालपोट टोलका सृजना श्रेष्ठसँग फाराम भरेर अभियानको सुरु गरेका हुन ।
सुझाव संकलनका लागि पुगेका रास्वपाका नेता तथा कार्यकर्तालाई श्रेष्ठले अस्पतालमा आवश्यक औषधी नभएको, उपचारको उचित व्यवस्था नभएको, सडक मर्मत गर्न नसकेको, फोहोर व्यवस्थापन गर्न नसकेको, प्रर्याप्त मात्रामा पिउने पानीको कमी रहेको, रोजगारीको अभाव रहेको लगायतका गुनासो गरेकी छन ।

रास्वपाले आम निर्वाचन २०७९को एक वर्ष र उपनिर्वाचनको ६ महिना पुगेको अवसरमा मतदाताप्रति आभार व्यक्त गर्न रास्वपाले ‘घरदैलो अभियान’ को थालनी गरेको हो ।

रास्वपाको मंसिर २, ३ र ४ गते देशैभर ‘घरदैलो सुझाव फाराम’ भर्ने कार्यक्रम रहेको छ ।

रास्वपाका जिल्ला संयोजक थापाले भन्नु भयो ‘चुनावका बेला मात्र होईन निरन्तर घरदैलोमा पुगेर नेताले जनताको सल्लाह सुझाव लिनुपर्छ’ भनेर हामीले यो अभियान थालनी गरेका हौं । रास्वपाबाट निर्वाचित जनप्रतिनिधिहरु सुझाव फारामसँगै रिपोट कार्ड लिएर जनताको घर आंगनमा पुग्ने कार्यक्रम रहेको छ ।

सुझाव फारम मार्फत रास्वपालाई प्रोत्साहित र खबरदारी गर्न रास्वपाले अनुरोध समेत गरेको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस