कृषिबाट गाउँमै आम्दानी

९मंसिर, रोल्पा । धेरै युवा दैनिक जसो रोजगारीको खोजीमा विदेशि रहेको वेला पूर्वी तेबाङका केही युवाले भने गाउँमै व्यावसायिक खेती गरेर मनग्य आम्दानी गरिरहेका छन् । गाउँमा व्यावसायिक तरकारी खेती, कुखुरा पालन, बाख्रा पालनमा युवा सक्रिय बन्न थालेका छन् ।

रोल्पाको सुनिल स्मृति गाउँपालिका –७ तेबाङका साहिराम पुनले गाउँमै आम्दानी गर्न व्यवसाय गर्दै छन् । व्यावसायिक तरकारी खेतीका साथै कुखुरा पालन, बाख्रा पालनमा पुन व्यस्त छन् । उनी विगत केही वर्षयता व्यावसायिक रूपमा कृषि कर्ममा जोडिएका हुन् । उनको बारीमा अहिले विभिन्न प्रजातिका साग, टमाटर, खुर्सानी, करेला लगायतका तरकारीहरू छन् ।

बाख्रा, कुखुरा पनि प्रशस्त मात्रामा पालेका छन् । ‘गाउँको बारी बाझो राखेर बिदेसिनु भन्दा गाउँमै केही गर्नुपर्छ भन्ने सोचले मलाई यहीँ केही गर्न मन लाग्यो’साहिरामले भन्छन्, ‘खेतीबाट गाउँमै राम्रो आम्दानी गरिरहेको छु । वार्षिक रूपमा २/३ लाख बराबरको आम्दानी हुन्छ ।’ उत्पादित कृषि उपजको बजारीकरणमा पनि समस्या नभएको उनले बताए । उत्पादित वस्तु मध्ये कतिपय गाउँमै विक्री हुने गरेको छ भने बढी भएको बजार लगेर विक्री गर्नुपरेको अनुभव उनले सुनाए ।

साहीरामले अहिले करिब ३ रोपनी क्षेत्रफलमा तरकारी खेती गरिरहेका छन् । उनको बारीमा सधैँ जसो प्रशस्त मात्रामा टमाटर, खुर्सानी लगायतका तरकारी लटरम्म बारीमा फलेको देख्न सकिन्छ ।

अर्का किसान टेकेन्द्र पुनमगर पनि पछिल्लो समय व्यावसायिक रूपमा कृषि कर्ममा जोडिएका छन् । केही समय वैदेशिक रोजगारीमा रहेको उनले अहिले गाउँमै खेतीबाट मनग्य आम्दानी गरिरहेको बताए । पानीको प्रशस्त सुविधा भएकाले बेमौसमी तरकारी खेती पनि राम्रो भएको उनले सुनाए । विदेशबाट फर्किए पश्चात् ५ वर्ष पहिलेदेखि कृषि कर्ममा जोडिएको उनी बत्ताउँछन् ।

‘विदेशमा गरेको संघर्ष जति गाउँमै गरे आम्दानी गर्न सकिने सम्भावना देखेँ अनि गाउँमै व्यावसायिक रूपमा कृषि कर्म गर्न मन लाग्यो ।’ व्यावसायिक कृषिमा जोडिएको बारे उनले थपे । उनले अहिले बेमौसमी तरकारी खेतीबाट मात्रै मनग्य आम्दानी गरिरहेका छन् । घरको आम्दानीको मुख्य स्रोत नै तरकारी खेती भएको पुनले सुनाए ।

तरकारी खेतीबाट सन्तानले पढ्न र घर खर्च चलेको छ बत्ताउँछन् । गाउँमा उत्पादन गरेको वस्तुको विक्रीका लागि भने केही कठिनाइ हुने गरेको उनको अनुभव छ । सामग्री विक्रीका लागि ढुवानी गरी बजारमा लगेर बेच्नुपर्ने अवस्था छ रहेको उनी सुनाउँछन् ।

समयमै तरकारीको माग पु¥याउन भने कठिन हुने गरेको बताए । तरकारी खेतीबाट वार्षिक ३ लाख बराबरको आम्दानी गर्दै आएका छन् । देशमा रोजगारीको अवसर छैन् भन्दै दैनिक रूपमा हजारौँको संख्यामा रोजगारीका लागि बिदेसिनेहरूका लागि यी उदाहरणीय पात्र हुन् ।

गाउँ ठाउँमै केही गर्न सकिन्छ भन्ने उदाहरणका पात्र साहिराम र टेकेन्द्रको बाटो अरू युवाले पनि पछ्याउन सके जाति हुने देखिन्छ । स्थानीय, प्रदेश र संघ तिनै तहको सरकारले गाउँघरमा कृषि उत्पादनमा विशेष जोड दिन आवश्यक छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर १० गते सोमवार
प्रतिक्रिया दिनुहोस