प्रधानमन्त्री दाहाल स्वदेश फिर्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल स्वदेश फिर्ता भएका छन् । उनी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप’ २८ मा सहभागी भई आज स्वदेश फर्किएका हुन्।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मन्त्रीहरू, नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरूले स्वागत गरेका थिए ।

मङ्सिर १४ गतेदेखि कोप–२८ दुबइमा सुरु भएको हो । प्रधानमन्त्री दाहाल मङ्सिर १५ र १६ गते ‘विश्व जलवायु शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा सहभागी भएका थिए । साथै उनले मङ्सिर १६ गते शनिबार उक्त सम्मेलनलाई सम्बोधन गरेका थिए ।

शनिबार सो सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनका कारण नेपालले अन्याय भोग्नुपरेको उल्लेख गर्दै उक्त अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए । उनले हिमाल जोगाउन र विश्वका मानवजातिको रक्षाका निम्ति जलवायु परिवर्तनको असर न्यूनीकरणमा सहयोग गर्न पनि अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेका थिए ।

सम्मेलनमा उनले विभिन्न देशका समकक्षीहरूसँग द्विपक्षीय भेटवार्ता समेत गरेका थिए । सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड यही मंसिर १३ गते दुबईतर्फ प्रस्थान गरेका थिए ।

प्रकाशित मिति : २०८० मङ्सिर १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस