लुम्बिनी । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले लोकतन्त्रको विकल्प हुन नसक्ने बताएका छन् । देशमा लोकतन्त्रको विकल्प खोज्ने र अनेक प्रकारका प्रचारबाजी गर्ने गरिएको भए पनि देशमा अहिले लोकतान्त्रिक शासन व्यवस्थाको कुनै विकल्प हुन नसक्ने बताए ।
अध्यक्ष केसीले धर्मका नाममा अराजकता मच्चाउने काम भएको जनाउँदै यसका विपक्षमा र लोकतान्त्रिक व्यवस्था जोगाउने काममा सबै एकजुट हुनुपर्नेमा जोड दिए।
बुटवलमा आज आयोजित साक्षरता कार्यक्रममा नेता केसीले नेपालमा सङ्घीयताविरुद्ध देशभरबाट यसको आवाज उठ्नु स्वाभाविक भएको दाबीसमेत गरे। प्रदेशलाई खारेज गरी स्थानीय तहलाई आवश्यक अधिकार दिएर बलियो बनाउन सके विकास गर्न सकिने उनको भनाइ छ।
लोकतान्त्रिक पद्धतिमा सुशासनभन्दा कुशासन बढेकाले जनतामा वितृष्णा छाएको उनले बताए। नेता केसीले गठबन्धन सत्तामा जानका लागिमात्र गर्न नहुने बताउँदै गठबन्धनमा भएको सम्झौतालाई अक्षरसः पालना गरेर अगाडि बढ्नसमेत दलहरुलाई सुझाव दिए ।