बाटो–दोबाटो हुँदै समुद्री तटसम्म थुप्रिएका यमनका निर्दोष नागरिकहरू जताततै सुनिन्छन्। वर्षौंदेखि युद्धले थिचिएका यी आवाजहरू हुदयदाह शहरको कुना–कुनामा दिल खोलेर हाँसिरहेका छन्। रमाइरहेका छन्।

मैदानमा लडिरहेका यमनीहरूको मनमुटाव अन्त्यका लागि स्थानीयहरू कामना गर्छन्। पहिलेझैँ सामान्य जीवनमा फर्कने आशा उनीहरूसँग जीवितै छ। समुन्द्रमा उभिएर सूर्यको उज्यालो प्रकाश हेर्दै बाँचिरहेका छन्– उनीहरू।

द्वन्द्वग्रस्त यमनको उत्तर–पश्चिमी भेग एक–ताका घुम्नको लागि जोखिमपूर्ण मानिन्थ्यो तर पछिल्लोपटक समुद्री तटहरूमा खचाखच मानिस देखापर्न थालेका छन्।

यमनको गृहयुद्ध ‘लाल सागर’को किनारै–किनार दौडिरहेको छ। हुथी आन्दोलन र अन्तर्राष्ट्रिय स्तरबाट मान्यताप्राप्त सरकारप्रति वफादार सेनाहरू अन्यत्रै सरेका छन्। यस कारण– हुदयदाह, अडेनलगायतका पर्यटकीय स्थल शान्त छन्।

सन् २०१४ को अन्त्यतिर अर्थात् युद्धअघिसम्म यसक्षेत्रमा खासै पर्यटक देखिँदैन्थें। शान्तिकालमा समेत नदेखिएका पर्यटकहरू आजकल छ्याप्छ्याप्ती छन्।

सानाका बासिन्दाहरू दक्षिण हुदयदाह वा अडेनसम्मै पुगेर परम्परागत रूपमा सूर्यको पूजा गर्छन् । दृश्यसँगै रमाउँछन् तर एकपटक हुथी–नियन्त्रित साना र सरकार–नियन्त्रित अडेनलाई विभाजित गरेर लडाइँ सुरू भएपछि ‘लाल सागर’को यात्रा असुरक्षित मानिन्छ।

सानाका ४२ वर्षीय हुसेन अब्दुलवाहाब युद्धअघि हरेक वर्ष हुदयदाह शहरमा केही हप्ता बिताउँथे। मौसम सप्रेका बेला जाडोमा घुम्नको लागि उत्तम ठाउँ मानिन्छ– हुदयदाह। समुन्द्री तट पुग्न नसक्दा विगत तीन वर्षदेखि उनी यहाँ आउनै पाएनन्। तर यसपटक भने हुसेन दक्षिणी भेगमा रमाउन आइपुगेका छन्।

‘जीवनको लागि शान्ति अनिवार्य छ। हुदयदाह शहर आगन्तुकहरूले भरिएको रहेछ। यहाँका मानिसहरू सामान्य जीवनमा फर्किसकेका छन्। युद्धरत पक्षलाई आग्रह छ– लडाइँ बन्द गरेर शान्तिको बाटोमा हिँड्नुहोस्,’ हुसेन भन्छन्।

यमनीहरू आरामका समुद्री किनारमा भेटिन्छन्। भिन्नभिन्नै प्रान्तका महिला–पुरुष र केटाकेटीहरू ‘लाल सागर’ तटमा रमाइरहेका हुन्छन्। परीक्षा सकिएपछि विद्यालय बन्द छन्। बिदाको समय सदुपयोग गरेर बालबालिकाहरूले खुसीयाली मनाइरहेको बताउँछन्।

आगन्तुकहरू पौडी खेल्ने, डुङ्गा चलाउने, बालुवा उडाउने र समुन्द्रको छालसँगै दौडिएरहेका हुन्छन्। केटाकेटीहरू समुद्र तटमा खेल्न मन पराउँछन्। उनीहरू रमाउन थाल्दा होटल फर्किनै मान्दैन्न्।

सानाका अशरफ अल–जुरैकी (३२) फुर्सदको समयमा अडेन वा हुदयदाह शहरमा छुट्टी मनाउन रूचाउँछन्। उनी त्राशै–त्राशका बीच यसपटक हुदयदाहको समुन्द्री तटमा आइपुगेका हुन्। अशरफको अडेन शहरसम्मै डुल्ने रूचि छ। तर द्वन्द्वग्रस्त पार गर्न भने चुनौती छ।

उनीजस्ता हजारौँ यमनीहरू यात्रा गर्न डराउँछन्। ‘हामीहरूलाई अडेन पुग्न सजिलो छैन। उत्तरबाट आउने आगन्तुकलाई अडेनीहरू स्वागत गर्दैनन्,’ उनी भन्छन्, ‘हामीहरूले भेदभाव र धेरै अपमानको सामना गर्न बाध्य छौँ।’

दक्षिण–उत्तरका यमनीहरूबीच स्वतन्त्रताको तीव्र द्वन्द्व छ। उत्तरीहरूले अडेनका स्थानीयबाट बढ्दो शत्रुता भोगिरहेको बताउँछन्। हुदयदाह भन्दा अडेन सुविधायुक्त छ। हुदयदाहका मानिसहरू राम्रा छन्। किनकि उनीहरूले पर्यटकलाई स्वगत गर्छन्। अशरफ भन्छन्, ‘हामी अर्को प्रान्तबाट आएको महसुस गर्दैनौँ।’

तीन वर्षदेखि गृहयुद्धमा फसेको हुदयदाह पर्यटकहरूका लागि सुरक्षित मानिँदैन्थ्यों। तर पछिल्लो समय एकाएक शहरभर आन्तरिक पर्यटकहरू व्यापक रूपमा भरिएका छन्।

‘युद्धस्थल हुँदै कच्ची मार्ग पार गरेर यहाँ आइपुग्न अनेकौँ दुःख भोग्नुपरेको परिवारसँग सानाबाट घुम्न आएकी २८ वर्षीया जुराईकीले बताउँछिन्।

गल्ली, चोक, सडक र समुन्द्री तट आगन्तुकहरूले भरिभराउ छन्। हुदयदाह शहरमा रहरलाग्दो सेवा–सुविधा नभए पनि सुरक्षित र पहुँचयोग्य क्षेत्र मानिएको छ। ‘होटल–रेस्टुरेन्ट र समुन्द्र नजिकका केही स्थानहरू झुर रहेछन्। मेरो विचारमा थप सेवाको आवश्यकता छ,’ जुराईकीले भनिन्।

हुदयदाह शहरको एक बस्तीका ५१ वर्षीय अला अद्दिनले अल–मित्रक बजारमा मुशाबक (स्थानीय मिठाई) बेच्छन्। मुशाबक उनी आफैं बनाउँछन्। विगत तीन वर्षदेखि पसलमै थन्किएको सुनाउँछन्।

तर लामो समयपछि अला निकै व्यस्त छन्। बजारमा मिठाई खानेहरूको घुइँचो लाग्छ। उनी भन्छन्, ‘युद्धअघिभन्दा अहिले धेरै मुशाबक बेच्छु। पैसा बचाउन पाउँदा धेरै खुसी छु।’

साउदी नेतृत्वको नाकाबन्दीले यमनमा ठूलो आर्थिक समस्या थपेको छ। चार वर्ष अघिको तुलनामा सबै कुरा अहिले महँगो छ।

हुदयदाहका बासिन्दाहरू हालसालै आ–आफ्नो घर फर्केका छन्। उनीहरू द्वन्द्वका कारण घरै छाडेर भाग्न बाध्य भएका थिए। आजभोलि स्थानीय बजार मिठाई किन्ने आगन्तुकहरूले भरिभराउ देखिन्छ। हुदयदाह शहरमा धेरैजसो पर्यटकहरूले मुशाबक किन्छन्। किनकि यो एक प्रकारको मिठाई हो। जसको लागि हुदयदाह शहर परिचित छ।