लोकसेवा अन्तर्वार्तामा सफल हुन के गर्ने ?

अन्तर्वार्ता भनेको के हो ?

निजामती सेवा वा कुनै पनि सरकारी/गैरसरकारी सेवा प्रवेशका लागि योग्य व्यक्ति छनौट गर्न सम्बन्धित परीक्षा सञ्चालन गर्ने निकाय (सरकारी सेवाको हकमा संघीय लोक सेवा आयोग वा प्रदेश लोक सेवा आयोग)ले विभिन्न चरण लगायत लिखित परीक्षामा सफल भएका उम्मेदवारहरुबाट मात्र लिने मौखिक जाँच गर्ने कार्य अन्तर्वार्ता हो ।

समग्रमा अन्तर्वार्ता एउटा संवाद हो । जसले व्यक्तिको विचार, भावना, सोचाई, विचार र पद र सोको गरिमा, मूल्य मान्यता, कार्य गर्नसक्ने क्षमता लगायत समग्र पक्षको परीक्षण हुने गर्दछ ।
के अन्तर्वार्तामा सबै परीक्षार्थी सहभागी हुन्छन ?

हुँदैनन, लिखित परीक्षाको नतिजामा सफल भएका परीक्षार्थी मात्र अन्तर्वार्तामा सहभागी हुन पाउँछन् । लिखित परीक्षाको नतिजामा रिक्त पदमा तपसिल बमोजिम थप संख्यामा समावेश गरी अन्तर्वार्ता सहभागि गराउने व्यवस्था रहेको छ :

सि.नं. रिक्त पद संख्या थप हुने संख्या अन्तर्वार्तामा सहभागी हुने संख्या
१ देखि ५ जनासम्म भएमा २ जना  ३ देखि ७ जनासम्म
६ देखि १० जनासम्म भएमा ३ जना ९ देखि १३ जनासम्म
११ देखि १५ जनासम्म भएमा ४ जना १ देखि २५ जनासम्म
१६ देखि २० जनासम्म भएमा ५ जना २१ देखि २५ जनासम्म
२१ देखि २५ जनासम्म भएमा ६ जना  २७ देखि २१ जनासम्म
२६ देखि ३० जनासम्म भए ७ जना ३३ देखि ४३ जनासम्म
३१ देखि ३५ जनासम्म भएमा ८ जना ३९ देखि ४३ जनासम्म
३६ देखि ४० जनासम्म भएमा ९ जना ४५ देखि ४९ जनासम्म
४० वा सो भन्दा माथि भएमा २० प्रतिशत थप रिक्त पद संख्यामा २० प्रतिशत थप

कुन पदको अन्तर्वार्ता कसले लिन्छ ?

लोक सेवा आयोगले लिने अन्तर्वार्ताहरुमा हाल भएको व्यवस्था अनुसार संघीय श्रेणी विहिन पदहरु र खरिदार वा सो सरहको अन्तर्वार्ता लोक सेवा आयोगको अञ्चल कार्यालयले, नायब सुब्बा वा सो सरहको पदको अन्तर्वार्ता लोक सेवा आयोगको क्षेत्रीय कार्यालयले र शाखा अधिकृत, उपसचिव, सहसचिव वा सो सरहको पदको अन्तर्वार्ता लोक सेवा आयोगको केन्द्रिय कार्यालयले लिने गर्दछ ।

यो व्यवस्था प्रदेश लोक सेवा आयोग गठन भए पश्चात केही परिवर्तन भएको छ । प्रदेश निजामती सेवाको पदको अन्तर्वार्ता प्रदेश लोक सेवा आयोगले लिने व्यवस्था रहेको छ ।

अन्तर्वार्ता समिति कस्तो हुन्छ ?

लोक सेवा आयोग केन्द्रिय कार्यालयमा हुने अन्तर्वार्ता समितिमा अन्तर्वार्ता समितिको अध्यक्ष, दक्ष एवं विशेषज्ञ गरी कम्तिमा तीनजना सदस्य हुन्छन । आयोगको क्षेत्रीय र अञ्चल कार्यालयमा हुने अन्तर्वार्ताका लागि सम्बन्धित कार्यालय प्रमुखको अध्यक्षतामा अन्तर्वार्ता समिति गठन हुन्छ । अन्तर्वार्ता समिति अन्तर्वार्ता हुनुभन्दा एक दिन अगाडि गठन हुने व्यवस्था छ ।

अन्तर्वार्ता मूल्याङ्कन प्रकृया कस्तो हुन्छ ?

अन्तर्वार्ता समितिको अध्यक्ष र सदस्यहरु अन्तर्वार्ता लिने कोठा भित्र पृथक् पृथक् तरिकाले बस्ने गर्दछन । उनीहरु सामान्यतयाः पालो गरेर प्रश्न गर्ने गर्दछन् । एकले दिने अंक अर्काेले देख्न नपाउने व्यस्था गरिएको हुन्छ । पृथक् पृथक् रुपमा फरक फरक तरिकाले परीक्षार्थी उम्मेदबारको गोप्य मूल्याङ्कन गरिन्छ । उनिहरुले प्रश्नको उत्तर प्रति तथष्ट र वस्तु निष्ठ भएर व्यक्तिको मूल्याङ्कन गर्दछन् । अन्तर्वार्ता समितिका अध्यक्ष र सदस्यले अन्तर्वार्ता भइरहेको अवस्थामा व्यक्तिको मूल्याङ्कन खेस्रा कागजमा तयार गरी सबै उम्मेदवारको अन्तर्वार्ता समाप्त भएपछि मात्र फाराममा अङ्क चढाउने गर्छन् । अन्तर्वार्तामा भाग लिने उम्मेदवारसँग अन्तर्वार्ता समितिको अध्यक्ष वा सदस्य नाता पर्ने भएमा अन्तर्वार्ताकार उक्त अन्तर्वार्तामा बस्न नपाउने व्यवस्था छ ।

अन्तर्वार्तामा अन्तर्वार्ताकारले दिन पाउने कुल अङ्कको अधिकतम ७० प्रतिशत र न्यूनतम ४० प्रतिशत अङ्कको सीमा तोकिएको हुन्छ । त्यही सीमा भित्र रहेर अङ्क दिईन्छ । सीमा बाहिर गएर अङ्क दिनु पर्दा स्पष्टीकरण दिनुपर्ने हुन्छ । सामान्यतायाः सीमा बाहिर हालसम्म कोही नगएको भन्ने बुझिएको छ । सबैले दिएको अङ्क जोडेर सदस्य संख्याले भाग गरी अन्तर्वार्ताको औसत अङ्क निकाल्ने गरिन्छ । त्यही भएर पनि अन्तर्वार्ताको अङ्ककले खासै अन्तर पार्दैन ।

अन्तर्वार्ताको अङ्कभार कसरी निर्धारण हुन्छ ?

लिखित परीक्षाको पूर्णाङ्क १०० भएमा अन्तर्वार्ताको अङ्कभार २० हुन्छ । यसरी लिखित परीक्षाको पूर्णाङ्कमा थप हुने प्रत्येक १०० पूर्णाङ्क भित्र अन्तर्वार्ताको अङ्कभार १० अङ्कका दरले थप हुने व्यवस्था छ । जस्तै लिखित परीक्षाको पूर्णाङ्क क्रमशः १००, २००, ३०० र ४०० भएमा अन्तर्वार्ताको अङ्कभार क्रमशः २०, ३०, ४० र ५० हुन्छ ।

अन्तर्वार्ताको लागि कति समय लाग्ने गर्दछ ?

सामान्यतया अन्तर्वार्ता आधा घण्टादेखि एक घण्टासम्म हुने गर्दछ । पद, पदले गर्ने कार्य, व्यक्ति र उसको क्षमता, अन्तर्वार्तामा उठेका विषय, रोचकता आदिले समय तलमाथि पार्ने अवस्था हुन सक्छ ।

अन्तर्वार्तामा लिनुपर्ने कागजातहरु के के हुन ?

अन्तर्वार्तामा जाँदा प्रवेश पत्र, दुई प्रति पासपोर्ट साईजको फोटो, सम्बन्धीत पदका लागि आफ्नो शैक्षिक योग्यताको सम्पुर्ण कागजातहरु, नागरिकता तथा अनुभवको प्रमाणपत्र आवश्यक पर्ने भएमा सो सम्बन्धी कागजातहरु लिनु पर्दछ ।

अन्तर्वार्तामा अन्तर्वार्ताकारले कस्तो कुरामा ध्यान दिनुपर्ने व्यवस्था छ ?

अन्तर्वार्ताकारले अन्तर्वार्ता लिँदा मूलतः पदको कार्य विवरण, दरखास्त विवरण अध्ययन, सेवा समूह सम्बन्धी ज्ञान, राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्बन्धी ज्ञान, कामको अनुभव, रुचि, व्यक्तित्व परीक्षण, अतिरिक्त क्रियाकलापहरु जस्तै :– सामाजिक संलग्नता, खेलकुद आदि जस्ता कुरामा ध्यान दिई प्रश्न गर्नुपर्ने व्यवस्था लोक सेवा आयोगले गरेको छ ।

अन्तर्वार्तामा कस्ता प्रश्नहरु सोधिन्छ ?

सामान्यतया अन्तर्वार्तामा पदसंग सम्बन्धित पाठ्यक्रम, पदले गर्नुपर्ने कार्य, संविधान, संस्थासँग सम्बन्धित ऐन, नियम, सार्क, संयुक्त राष्ट्र संघ, समसामयिक राजीनितिक, आर्थिक एवं प्रशासनिक विषय, आफ्नो पूर्व अनुभव, आफ्नो रुचिको क्षेत्र, आफ्नो शैक्षिक योग्यता आदि जस्ता विषयमा प्रश्न आउने गर्दछन । यिनै विषयमा तयारी गर्दा आफूले अपेक्षा गरेका प्रश्न आउन सक्छन ।

अर्काे कुरा लोक सेवाले लिखित परीक्षामा सफल भएका सबै जनाको अन्तर्वार्ता एकै दिन लिन सक्दैन, आफ्नो, पालो भन्दा अगाडिका परीक्षर्थीहरुलाई के– कसरी प्रश्न सोध्ने गरिएको छ, सो बारेमा जानकारी लिन सकेमा पनि सम्भावित प्रश्नको अनुमान गर्न सकिन्छ ।

अन्तर्वार्ताको दिन के गर्ने ?

अन्तर्वार्ताको अघिल्लो दिनबाट नै अन्तर्वार्ताको लागि मानसिक रुपमा तयार हुनुपर्दछ । सरसफाई, डे«स, कागजपत्र तयार गर्नु पर्दछ । खान पिनमा समेत ध्यान दिनु पर्दछ । सकारात्मक सोचाइ वृद्धि गर्नु पर्दछ । अन्तर्वार्ताको अघिल्लो रात आरामले निदाउनु पर्दछ । अन्तर्वार्ताको दिन फ्रेस हुनु पर्दछ, असजिलो तथा अनिदो महसुस गर्नु हुदैन ।

अन्तर्वार्तामा कस्तो पोशाक लगाउने ?
अन्तरर्वार्तामा लगाउने पोशाक ठ्याक्कै यस्तो भनेर निर्धारण गरिएको छैन । तर साधारण ड्रेस राम्रो मानिन्छ । तडक भडक युक्त पोशाक राम्रो मानिदैन । पुरुषले सर्ट, पाइन्ट, सुट तथा महिलाले सुट, कुर्तासलवार वा साडी लगाउँदा राम्रो मानिन्छ । पोशाकको कारणले अन्तर्वार्ता कोठा भित्र आफुलाई अप्ठयारोमा पार्नु हुँदैन ।

अन्तर्वार्ता दिँदाको दिन लोक सेवाको कार्यालयमा कतिखेर पुग्ने ?

अन्तर्वार्ताको दिन लोकसेवा कार्यालयमा गएर केहि फारमहरु भर्नुपर्ने हुन्छ, त्यसैले सकेसम्म अन्तर्वार्ता सुरु हुनु पूर्व कम्तिमा एक घण्टा अगावै पुग्नु राम्रो हुन्छ ।

अन्तर्वार्ता दिने कोठा भित्र के गर्ने ?

अन्तर्वार्ता कोठा भित्र प्रवेश गर्दा पालो गरेर नाम बोलाइन्छ । ढोका भित्र प्रवेश गरे पछि अन्तर्वार्ता समितिका सबै सदस्यहरुलाई एकै पटक सामूहिक रुपमा नमस्काार गर्ने र सबैलाई नजर पुर्याएर हेर्नु पर्दछ । ढोका भित्र प्रवेश गर्दा सुरुमा डर लाग्न सक्छ तर डर मान्नु हुँदैन । कुनै कारण डर लागेमा अन्तर्वार्ताको क्रममा गफ हुँदै जाँदा डर आफै हराएर जान्छ ।

अन्तर्वार्ता कोठाको कुर्सीमा बस्दा के कुरामा ध्यान दिनु पर्दछ ?

अन्तर्वार्ता कोठा भित्र प्रवेश गरेपछि आफ्ना लागि छुट्टै कुर्सीको व्यवस्था गरेको देखिन्छ । कुर्सी देख्दा वित्तिकै सुटुक्क बस्नु हुँदैन । अन्तर्वार्ता समितिका अध्यक्षले कुर्सीमा बस्नुहोस् भन्नुहुन्छ, र त्यसपछि मात्र कुर्सीमा बस्नु पर्दछ । कुर्सीमा बस्दा उपरखुट्टी हालेर बस्नु हुँदैन । कुर्सीमा बस्दा खुट्टा तल सिधा राखेर बस्नुपर्छ । कुर्सीमाा बसाई, पोेशाक, बोलाई र हेराई सबैमा व्यक्तिको अनुशासन झल्किनु राम्रो मानिन्छ ।

अन्तर्वार्ता सुरुवात कसरी हुन्छ ?

कुर्सीमा आशन गरिसके पछि सामान्यतयाः अन्तर्वार्ता समितिको अध्यक्षले तपाईंको परिचय दिनुहोस् भन्नुहुन्छ । यसैबाट अन्तर्वार्ता कार्यको थालनी हुन्छ । परिचयमा खास गरी आफ्नो नाम, ठेगाना, शैक्षिक योग्यता, कार्यरत भए हाल कार्यरत पद र कार्यलयको नाम, कार्यरत नभए लोक सेवाकै अध्ययनमा लागिरहेको कुरा भन्नु उपयुक्त हुन्छ ।

अन्तर्वार्तामा हुने प्रश्न माथि प्रश्नलाई कसरी समाधान गर्ने ?

अन्तर्वार्ता समितिका सदस्यले प्रश्न गर्दा सरल भाषामा गर्नुपर्ने, व्यक्तिको शैक्षिक उपाधि, अभिरुचि, मनोवृत्ति एवं पदको स्तरसँग तालमेल हुने गरी प्रश्न गर्ने, व्यक्तिले उत्तर दिन नसकेका क्षेत्रम पुनः प्रश्न नगर्ने, उम्मेदवारको उत्तरप्रति अनावश्यक रुपमा कडा प्रतिकृया नदिने जस्ता व्यवस्था भएपनि अन्तवार्ता समितिका सदस्यले कहिलेकाहीँ कसैलाई प्रश्न माथि प्रश्न गर्न सक्छन । उत्तर दियो, फेरि प्रश्न गर्ने, उत्तरलाई घुमाईदिने, उत्तर होइन भनिदिने, तपाईंको कुरामा म सहमत छैन भनिदिने ।

तपाईं धेरै नकारात्मक हुनुभयो, भन्ने आदि जस्ता व्यवहार गर्न सक्छन । त्यस्तो अवस्थामा आफु परिपक्क हुनुपर्दछ । आत्तिनु हुँदैन । रातोपिरो हुनु हुँदैन । सहज वातावरण बनाउँनु पर्छ । आत्मबल बढाउनु पर्छ । प्रश्नमाथि प्रश्न गर्दा थप प्रष्ट पारिदिनु पर्दछ ।

आफुलाई ज्ञान भएको विषयमा बढि जोड दिनु पर्दछ । आफुलाई नआउने प्रश्न सजिलै आउँदैन भनेर स्वीकार गर्नु पर्दछ । थाहा नभएको विषयमा अनुमानका भरमा उत्तर दिनु राम्रो हुँदैन । अन्तर्वार्तामा कति उत्तर मिल्यो भन्दा पनि कसरी कस्तो वातावरणमा अन्तर्वार्ता लिइयो त्यो ठूलो हुन्छ । सबै प्रश्नको उत्तर सबैले भन्न सकिदैन । राम्रो व्यवहार स्पष्ट उत्तर र सबैलाई समान नजर दिएमा सामान्यतयाः अन्तर्वार्ता सफल भएको मान्न सकिन्छ ।

आई कन्ट्याक भनेको के हो ?

अन्तर्वार्ता दिने व्यक्तिले प्रत्येक अन्तर्वार्ताकारलाई आँखामा बराबर नजर लगाउने कार्य आई कन्ट्याक हो । अन्तर्वार्ता समितिका कुनै एक सदस्यले गरेको प्रश्नको उत्तर दिँदा उसलाई मात्र एकोहोरो नहेरी अरु सदस्यलाई पनि बराबर हेर्नुपर्ने हुन्छ । यसले सबैलाई समान व्यवहार र महत्व दिएको देखिन्छ ।

अन्तर्वार्ता कोठा भित्र अन्तर्वार्ताकारको व्यवहार कस्तो हुन्छ ?

अन्तर्वार्ता समितिका अध्यक्षले आफ्नो र अरु सदस्यको परिचय दिन पनि सक्छन् । नदिन पनि सक्छन । त्यसमा आफूले उनीहरुको परिचय माग्नु हुँदैन । उनिहरु आफूप्रति अत्यन्तै सकारात्मक हुन्छन । उनिहरुले कसैलाई पनि आग्रह पुर्वाग्रह राख्दैन्न । उनिहरु व्यक्तिको व्यक्तित्व परीक्षण गर्नमा बढि केन्द्रित हुन्छन । उनिहरुले आपसमा कार्य विभाजन गरेका हुन्छन् । सोही अनुरुप पालोपालो गरेर प्रश्न गर्दछन् । बीच बीचमा छड्के प्रश्न पनि हुन सक्छ । अन्तर्वार्ता समितिको अध्यक्षले अन्तर्वार्ताको समन्वय गरेका हुन्छन् । जुन कुरा ढोका भित्र प्रवेश गरेपछि प्रष्ट हुन्छ ।

अन्तर्वार्तामा हतोत्साहित नहुन के गर्ने ?

लोक सेवा आयोगको लिखित परीक्षा पास गरेपछि मात्र अन्तर्वार्ताको चरण सुरु हुन्छ । लिखित परीक्षा पास गर्नका लागि आफूले गरेको मेहनत सम्झनु पर्छ । मैले लिखित परीक्षा तयारीमा ठूलो दुःख गरेर अन्तर्वार्तामा आईपुगे । अब म आत्तिनु हुँदैन । म हत्तोत्साहित हुनु हुँदैन भनेर आत्मैदेखि डर, चिन्ता, भय हटाउनु पर्दछ । यसो गर्दा हतोत्साहित हुनबाट बच्न सकिन्छ ।

अन्तर्वार्ता सकेर कोठा बाहिर निस्कदा के गर्ने ?

अन्तर्वाता क्रम चलिरहन्छ । समय बित्दै जान्छ । आफूलाई समय वितेको पनि पत्ते हुदैन । अन्तर्वार्ता समितिका अध्यक्षले तपाईंको अन्तर्वार्ता समाप्त भयो जान सक्नुहुन्छ भन्नु हुन्छ । त्यसपछि उठेर सबैलाई नजर लगाउँदै सामूहिक नमस्कार गरेर बाहिर निस्कनु पर्दछ ।

कहिलेकाहीँ बाहिर निस्कने बेलामा अन्तर्वार्ताकारले तपाईंलाई आजको अन्तर्वार्ता कस्तो लाग्यो भनेर प्रश्न गर्न सक्छन । त्यस्तो बेलामा मलाई अन्तर्वार्ता साह्रै राम्रो लाग्यो । हजुरहरुको सकारात्मक व्यवहारबाट म निकै प्रभावित भए । आज म निकै खुसि छु । समग्रमा अन्तर्वार्ता सफल भएको जस्तो लाग्छ भनेर छोटो मिठो बोलेर निस्कने प्रयास गर्नुपर्दछ ।

के अग्रिम अन्तर्वार्ताको व्यवस्था छ ?

लिखित परीक्षा उत्तीर्ण भएको कुनै उम्मेदवारले मनासिब कारण जनाई लोकसेवा आयोगले तोकेको मितिभन्दा अगाडि अन्तर्वार्ता लिईदिन कारण खुलाई निवेदन दिएमा निवेदन मनासिब देखिए आयोगले उक्त व्यक्तिको लागि अग्रिम अन्तर्वार्ताको व्यवस्था गर्न सक्छ । यसरी हुने अग्रिम अन्तर्वार्तामा सहभागी हुने व्यक्तिले लोकसेवा आयोगले निर्धारण गरे बमोजिमको दस्तुर बुझाउनु पर्ने व्यवस्था छ ।

छुट अन्तर्वार्ताको व्यवस्था ?

कुनै उम्मेदवार काबु बाहिरको परिस्थिति परेमा, सरकारी कामको कारणबाट उपस्थित हुन नसकेमा, किरिया बस्नु परेमा, सुत्केरी भएमा, आकस्मिक बिरामी भएमा जस्ता कारणले लोकसेवा आयोगले तोकेको अन्तर्वार्ताको मिति र समयमा उपस्थित हुन नसकेमा सोको प्रमाण सहित किरिया बस्नुपरेको हकमा १५ दिनभित्र र अन्य अवस्थाको हकमा सात दिनभित्रमा निवेदन दिएमा निवेदन मनासिव देखिए आयोगले उक्त व्यक्तिको छुट अन्तर्वार्ता लिने व्यवस्था गर्न सक्दछ । यसरी हुने छुट अन्तर्वार्तामा सहभागी हुने व्यक्तिले लोकसेवा आयोगले निर्धारण गरे बमोजिमको दस्तुर बुझाउनुपर्ने व्यवस्था छ ।

अन्तर्वार्ताबाट हटाउने र दरखास्त रद्द गर्ने व्यवस्था ?

लिखित परीक्षामा उत्तीर्ण भई अन्तर्वार्ताका लागि छनोट भएको कुनै व्यक्तिले निजामती सेवामा प्रवेश पाउने उद्देश्यले आफ्नो शैक्षिक योग्यता, उमेर, नागरिकता, अनुभव आदि ढाँटेको देखिएमा लोकसेवा आयोगले निजलाई अन्तर्वार्तामा समावेश नगर्ने र निजको दरखास्त फारम समेत रद्दगर्ने व्यवस्था छ । यहि व्यवस्था अनुसार लोकसेवा आयोगले लिखित परीक्षामा उत्तीर्ण भई अन्तर्वार्ताका लागि छनोट भएका यस्ता प्रकृतिका उम्मेदवारलाई अन्तर्वार्ताबाट हटाई निजको दरखास्त फारम रद्द गर्दै आइरहेको छ ।

अन्तमा, अन्तर्वार्ता एउटा संवाद हो, जसमा दोहोरो वार्तालापबाट व्यक्तिको व्यक्तित्वको परीक्षण हुन्छ । अन्तर्वार्तामा खासगरी आफूलाई चाहिएको पद र पदको कार्यविवरण, आफ्नो कुनै कार्ययोजना, शैक्षिक योग्यता र मुख्य विषय, राष्ट्रिय अन्तराष्ट्रिय समसामयिक विषयको सामान्य जानकारी जस्ता विषयमा ध्यान दिई मुख्यतः आफूमा आत्मबल बढाउनु पर्दछ ।यसबाट अन्तर्वार्तामा सफल हुन सकिन्छ । सफलताको शुभ–कामना !

प्रकाशित मिति : २०७९ पुष ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस