प्रतिनिधिसभा निर्वाचन :

रोल्पाबाट नेकपा संयोजक दाहालसहित पाँच जनाको नाम सिफारिस

१०पुस, रोल्पा । नेपाली कम्युनिस्ट पार्टी रोल्पाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रोल्पाबाट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नाम सिफारिस गरेको छ।

नेकपा रोल्पाको बिहीबार लिबाङमा बसेको बैठकले प्रत्यक्षतर्फको उम्मेदवारका लागि दाहालसहित पाँच जनाको नाम सिफारिस गरेको हो।

बैठकले पहिलो नम्बरमा दाहाल र दोस्रो नम्बरमा नेकपा नेता वर्षमान पुन को नाम सिफारिस गरेको छ। त्यसैगरी नेकपा नेता तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलप्रसाद के.सी., पूर्वमन्त्री जयपुरी घर्ती र जेन–जी युवा नेता दीपक रोका को नाम पनि सिफारिस गरिएको नेकपा रोल्पाले जनाएको छ।

हरेक निर्वाचनमा निर्वाचन क्षेत्र फेर्दै आएका दाहालले यसअघि २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा रोल्पा निर्वाचन क्षेत्र नम्बर–२ र काठमाडौं–१० बाट चुनाव लडेका थिए। दुवै क्षेत्रबाट निर्वाचित भएपछि उनले रोल्पा–२ को सिट छोडेका थिए। दाहालले छोडेको उक्त निर्वाचन क्षेत्रमा भएको उपनिर्वाचनमा माओवादीका सन्तोष बुढामगर विजयी भएका थिए।

यसैगरी, समानुपातिकतर्फ नेकपा नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा सहित चार जनाको नाम सिफारिस गरेकाे छ । महारा सहित पवित्रा घर्ती, गीता नेपाली र बाबुलाल पुनको नाम सिफारिस गरेको छ ।

प्रकाशित मिति : २०८२ पुष १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस