भरतपुर ‘हेल्थ हब’का रूपमा विकास हुँदै गएको छ : प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहालले भरतपुर महानगरपालिका स्वास्थ्य क्षेत्रमा नयाँ ‘हब’का रूपमा विकास हुँदै गएको बताएका छन् । नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालको नवनिर्मित भवनको उद्घाटन गर्दै उनले वर्तमान सरकार संविधानप्रदत्त स्वास्थ्यसम्बन्धी हकलाई व्यवहारमा कार्यान्वयन गर्न निरन्तर क्रियाशील रहँदै आएको बताए।

स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, देशभरिका सबै अस्पतालमा १० प्रतिशत शय्या गरिब, महिलाहरूमा देखापर्ने स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप निःशुल्क उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा आएको उनले बताए प्रधानमन्त्री दाहालले भने, “स्वास्थ्य क्षेत्रमा सामाजिक सुरक्षाका कार्यक्रम, विपन्न बिरामीका लागि अनुदानको व्यवस्थालगायत महत्त्वपूर्ण निर्णयहरू भई कार्यान्वयनमा आएका छन् ।”

संविधानअनुरूप निर्माण गरिनुपर्ने ऐनहरूको तर्जुमाका निम्ति सरकारले गम्भीर पहल लिइरहेको जनाउँदै उहाँले यी सबै प्रयासहरूले स्वास्थ्य क्षेत्रमा महत्त्वपूर्ण सुधार हुने विश्वास व्यक्त गरे। स्वास्थ्य क्षेत्रमा बजेट कम भएको गुनासो आउने गरेको जनाउँदै उनले भने, “स्वास्थ्य क्षेत्रमा जति सम्भव हुन्छ, अधिकतम बजेटको व्यवस्था गर्ने कोसिस यसपटक हुन्छ, यो विश्वास दिलाउन चाहन्छु ।”

भरतपुर आँखा अस्पताल भरतपुर क्षेत्रको मात्र आँखा अस्पताल नभएर स्वदेश तथा विदेशका समेत सेवाग्राहीहरूको आँखासम्बन्धी उपचारको केन्द्रका रूपमा स्थापित हुँदै गएको उनको भनाइ थियो । भरतपुर आँखा अस्पतालको प्रशंसा गर्दै प्रधानमन्त्री दाहालले विसं २०४४ मा स्थापित भई आँखाको उपचारका साथै अध्ययन, अध्यापन र व्यावसायिक तालिमका क्षेत्रमा विशिष्टिकृत योगदान पुर्याउँदै आएको उल्लेख गरे ।

प्रकाशित मिति : २०८० फाल्गुन १८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस