काठमाडौँ। सञ्चारकर्मीका रुपमा परिचय बनाएर राजनीतिमा होमिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने दोस्रो पटक उपप्रधानमन्त्री एवं गृहमन्त्रीका रुपमा सिंहदरबार प्रवेश गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा गत पुस ११ गते उपप्रधानमन्त्री एवं गृहमन्त्रीको भूमिकामा रहेका उनी नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको आदेशबाट गत माघ १३ गते पदमुक्त भएका थिए।
सर्वोच्चको आदेशसँगै उनको सांसद पदसमेत खारेज भएको थियो । गत वैशाखमा भएको उपनिर्वाचनमा पुनः चितवन क्षेत्र नं २ बाट ५४ हजार एक सय ७६ मत प्राप्त गरी विजयी हुनुभएका उहाँले नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई पराजित गरेका थिए।
करिब दुई वर्षअघि सक्रिय राजनीतिमा लागेका नवनियुक्त गृहमन्त्री लामिछानेले टेलिभिजन प्रस्तोताका रुपमा काम गरेका थिए । टेलिभिजनमा काम गर्दागर्दै उनी पत्रकारिता छाडेर राजनीतिमा प्रवेश गरेका थिए । त्यसलगत्तै उनले आफ्नो नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरे।
दोस्रो पटक गृह प्रशासनको नेतृत्व सम्हाल्न पुगेका उपप्रधानमन्त्री लामिछानेका अगाडि प्रधानमन्त्री दाहालको निर्देशनमा पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्रीले थालनी गरेको सुधारका कार्यलाई निरन्तरता दिनुपर्ने बाध्यात्मक अवस्था छ ।


