जनआकांक्षाको वेवास्ता नगर 

मुलुकमा संघीय गणतान्त्रिक व्यवस्था आएको पनि दशक पुग्नै थालेको छ । पछिल्लो समयमा यो व्यस्था माथि नै प्रश्न उब्जिन थालेको छ । यो व्यवस्था मन पराउनेहरूले यो व्यवस्था माथि प्रश्न गर्नु र विकल्प खोज्नु स्वभाविक हो । विडम्बना यो व्यवस्थाकै पक्षपातीहरुको व्यवहारले पनि यहीँ व्यवस्थामा माथि पटकपटक प्रश्न उब्जाएको छ ।

सत्ताको बागडोर समालेकाहरुले गरेको चरम सत्ताको दुरुपयोगले आज आम मानिस आजित भएका छन् । यिनका अवाञ्छित गतिविधि, कुशासन, भ्रष्टाचार, बेइमानी, नातावाद र कृपावादले तमाम न्यायप्रेमी नेपाली हैरान छन् । चक्रिय रुपमा सत्तामा पुगिरहने यिनीहरूले कानूनी शासनको धज्जी उडाएका छन् ।

जवाफदेहिता, पारदर्शिता र कानूनी शासनको खिल्ली उडाउनु यिनीहरूको प्रवृत्ति बनेको छ । यि सबै बेथिति उपर प्रश्न उब्जायो भने पश्चगामी, राजावादी, विदेशी शक्तिले परिचालन गरेको रेडिमेड ट्याग लगाएर खेदो खन्नु यिनका झोलेहरुको दिनचर्या बनेको छ । यसले उब्जाएका चरम असन्तुष्टि अव विस्तारै सडकमा देखिन थालेको छ ।

समग्रमा नेपाली न्यायप्रेमी जनताले चाहेको समृद्धि हो । सेवा हो । सुविधा हो । जेजति सेवा, सुविधा र अवसर छन् ति सबैमा समान पहुँच र कुनै भनसुनविना प्राप्तीको चाहना नेपालीको हो । पक्षपातरहित राज्य संचालकको अपेक्षा हो । भ्रष्टाचार विरुद्धको कठोर राज्य संयन्त्र र दलको आशा नेपालीले गरेका छन् । सुशासन, मानवअधिकार, कानूनी साशन, जवाफदेहि सरकार खोजेका हुन् नेपालीले । स्वदेशमै रोजगारीको सृजना चाहेका छन् नेपालीले । उद्योग, कलकारखाना, उत्पादन, पर्यटनका सम्भावनाका ढोका खोल्ने सरकार र नेता खोजिरहेका छन् । साथै, समाजमा विद्यमान कुरीति, विकृति, विसङ्गति, अज्ञानता, पछौटेपन, रुढीवादी प्रथा, परम्परा र चलनको अन्त्य र प्रगतिशील संस्कारको अभिवृद्धिको खोजीमा समाज छ । हानिकारक अभ्यासले आक्रान्त समाज उन्मुक्तिको खोजीमा छ ।

सामाजिक क्रान्तिको बाटो खोजीरहेको छ समाजले । व्यवस्था उत्कृष्ट ल्यायौँ भनेर बुर्कुसी मारेर हुनेवाला छैन । जनतालाई डेलीभरि चाहिएको छ । तर, नेताहरू आसेपासे पोस्नमा लिप्त् छन् । राज्यदोहनको गोलचक्करमा अल्झिएका छन् । दैनिक श्रमशील युवालाई सस्तो विश्व बजारमा बेच्न तयार छन् । बोल्न पाउने व्यवस्था ल्याएका छौँ भन्ने रवाफ र दम्फु बजाउने कुराले मात्र अव नेपाली जनताको पेट भरिनेवाला छैन् । हिजो यस्तो थियो, उस्तो थियो भन्ने अर्तिउपदेशले थेग्नेवाला छैन । अवको नेपालीलाई निकास चाहियो, विकास चाहियो । बस त्यो महत्वपुर्ण कुरा हो । 

यि यावत समस्यामा संघीय व्यवस्थालाई अल्झाईएको छ । र, नेपाली जनतालाई हायलकायल पारिएको छ । दलाल पुजीवादले रन्थनिएको नेपाली समाज निकासको खोजीमा छ । यहीँ प्रवृत्तिले आन्दोलन र आक्रोश सतहमा पोखिन तयार भैरहेको सन्दर्भलाई एकथरी शक्तिले फेरी राजा फर्काए सबै हल हुन्छ जसरी व्याख्या गर्न थालेका छन् । जनताको आक्रोश र असन्तुष्टिलाई आफ्नो राजनीतिक स्वार्थको चंगुलमा पार्ने र रोती सेक्ने खेल भइरहेको छ । राजा फर्किएर यि सबै छुमन्तर हुने होईन । माथि उल्लिखित अवस्था निर्माणमा सशक्त उभिन सक्ने दूरदृष्टि भएको राजनेताको खोजीमा नेपाली समाज छ । सेन्टीमेन्टमा बगिरहेको नेपाली समाजको गलत फाईदा उठाउने गरी राजावादी हुन वा गणतन्त्रवादी कहलिने सबैले हर्कत गर्न जरुरी छैन ।

मुलुकमा सामाजिक क्रान्तिको अवको बाटो के ? आर्थिक क्रान्तिको नेपाली मौलिक बाटो के हो ? नेपाली विशेषताको समाजवाद अव कस्तो हुने ? अस्थिरताको अन्त्य गर्ने कस्तो राजनीति प्रणाली र राज्यव्यवस्था अवको खाँचो हो ? त्यता बहस गर्न जरुरी छ । अन्यथा वेथितिबाट आजित नेपालीको सेन्टीमेन्टलाई दुरुपयोग गर्दै पपुलारिटीको राजनीति गर्ने जोकोही ढिलोचादो बढारिनुपर्छ नै । जनताको आकांक्षा र चाहनाको वेवास्ता नगर अव । सच्चिउ !

प्रकाशित मिति : २०८१ चैत्र २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस