खुंग्रीकोट दरबारको पुनर्निर्माण

१जेठ, रोल्पा । जीर्ण बन्दै गएको खुंग्रीकोट दरबारको पुनर्निर्माण गरिएको छ । सुनिलस्मृति गाउँपालिका– २ खुंग्रीकोटमा अवस्थित दरबारको पुनः र्निमाण गरिएको हो ।

तत्कालीन बाइसेचौबिसे राज्य अन्तर्गतको खुंग्रीकोट दरबारको स्थानीयले पुनर्निर्माण गरेका हुन् । सेन राजाहरूले शासन गरेको खंग्रीकोट दरबार संरक्षणको अभावमा जीर्ण बन्दै गएको थियो ।

जिर्णोद्धार गर्न आवश्यक भइसकेको दरबारको सोही ठाउँका स्थानीय राजाका सन्ततिले पुनर्निर्माणको थालनी गरेका हुन् ।
ऐतिहासिक दरबारलाई पर्यटकीय दृष्टिकोणले विकास गर्ने उद्देश्यले विभिन्न संघसंस्था तथा निकायहरूले मर्मत गर्न पहल गरेका थिए । तर, राजाका नाममा दरबारको जग्गा भएकाले राजाका सन्ततिले जग्गा नदिएपछि भाइहरू मिलेर सहयोग सङ्कलन गरी निर्माणको काम गरेको बताएका छन् ।

करिब ३० लाख बराबरको चन्दा सङ्कलन गरी दरबारको पुनर्निर्माणको गरिएको भविन्द्र सिंहले बताए । दरबार पुनर्निर्माणको सम्पूर्ण काम अन्तिम चरणमा पुगेको छ । ‘अब केही काममात्र बाँकी रहेको छ ।’, सिंहले बताए ।

दरबारको पुनर्निर्माण गरिएसँगै पर्यटकीय चहलपहल हुने अपेक्षा गरिएको छ । दरबारलाई पुरानै शैलीमा निर्माण गरिएको छ । दरबारको पुनर्निर्माणसँगै पर्यटकीय दृष्टिकोणले विकास गरिनुपर्नेमा स्थानीयहरूले माग गरेका छन् ।

खुंग्रीकोटमा राज्य सञ्चालन गर्ने अन्तिम राजा फत्तेप्रचण्ड सेन हुन् । गजुलकोट दरबारबाट भाइ फाटेर खुंग्रीकोट राज्यमा आइ शासन गरेको बताइन्छ । बहुदल आए लगत्तै दरबार संरक्षण विहिन बनेको थियो ।

तत्कालीन राजाका वंशज अहिले पनि खुंग्रीमा बस्दै आएका छन् । इतिहास अनुसार सोह्रौँ शताब्दीतिर गजुलकोटबाट भाइ छुट्टिएर खुङ्ग्री राज्यको स्थापना हुने गरेको बताइन्छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ २ गते बिहिवार
प्रतिक्रिया दिनुहोस