१५ जेठ, रोल्पा । रोल्पाका मुख्य व्यापारिक केन्द्रहरूमा पछिल्लो समय सवारी जामको समस्या बढ्दो छ । सवारी जामको समस्या बढ्दा रोल्पाका बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन चुनौती बन्दै गएको छ ।
बजार क्षेत्रका साँघुरा सडक र अव्यवस्थित पार्किङले यस्तो समस्या आएको हो । बढ्दो सवारी साधन र बजारमा पैदल यात्रुको चापले पनि जामको समस्या हुन थालेको हो । पूर्वी रोल्पाको व्यापारिक केन्द्र सुलिचौर र रूइनिबाङ बजार, रोल्पाको सदरमुकाम लिबाङ बजारमा ट्राफिक व्यवस्थापन चुनौती बन्दै गएको छ । बजार क्षेत्रमा पछिल्लो समय सवारी जामको समस्या बढिरहेको छ ।
मुख्य बजार क्षेत्रमा सवारी जामको समस्या पछिल्लो समय चुनौतीको रुपमा रहेको सुनिलस्मृति गाउँपालिका ४ सुलिचौरका स्थानीय व्यावसायी तथा रोल्पा उद्योग वाणिज्य संघका उपाध्यक्ष मिलन रोकाले बताए । ‘सुलिचौर र रुइनिबाङ बजारमा जामको समस्या बढी छ,’ उनले भने । जामको समस्या समाधानको विषयमा सरोकारवालाहरूसँग गाउँपालिकामा छलफल चलेको भएपनि त्यसको प्रभावकारी कार्यान्वयन नभएको उनी बताउँछन् ।
‘सवारी जामको समस्या समाधानको लागि सुनिलस्मृति गाउँपालिकाले बजार नजिकै पार्किङको लागि जग्गा भाडामा लिए पनि सो जग्गामा कमैले पार्किङ गर्छन,’ रोकाले भने ‘सवारी जामलाई कम गर्न ठूला (ट्रक) गाडीहरूलाई बजार क्षेत्रमा निश्चित समयमा मात्र प्रवेश गर्न दिनुपर्दछ ।’
जिल्लाको हकमा केही समय पहिले ट्राफिक व्यवस्थापनको विषयमा केही निर्णयहरू पनि भएका थिए, तर ति निर्णय पछिल्लो समय कार्यान्वयन भएका छैनन् । सवारी आवागमनलाई व्यवस्थित गर्नका लागि जिल्लामा ठुलै छलफल चलेको भएपनि निर्णय कार्यान्वयन नहुनु दुर्भाग्य हो । जसले गर्दा बजार क्षेत्रमा हुने अव्यवस्थित पार्किङ, साँघुरो सडक र गाडीको अनियन्त्रित भीडले पैदल यात्रुलाई समेत सकस छ । साँघुरा गल्लीहरूमा दुवैतर्फ रोकिएका सवारी साधनका कारण हिँड्डुल गर्नै समस्या छ । बजार क्षेत्रमा जामको समस्याले सवारी दुर्घटनाको जोखिम समेत बढाएको छ । साँघुरो सडकमै सवारी पार्किङ गर्ने समस्या छ ।
सदरमुकाम लिवाङ र पूर्वी रोल्पाको प्रमुख व्यापारिक केन्द्र मानिने सुलिचौर र रूइनिबाङ बजारका मुख्य सडक अत्यन्तै साँघुरा छन् । दिनमै बजार क्षेत्रमा ठुल्ठुला ट्रक आए सवारी जाम हुने निश्चित छ । किनकी प्राय ठाउँमा गाडी सहजै रूपमा ओहोरदोहोर गर्ने ठाउँ छैन् । ठुला गाडीहरूले बाटो नै बन्द गर्छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख पूर्णबहादुर रायमाझीले सुलिचौर र रुइनिबाङ बजारमा जामको समस्या बढी रहेको बताउँछन् । जामको व्यवस्थापनको विषयमा ट्राफिक सक्रियता रहेको दावी पनि गर्छन् । ‘हाम्रो (ट्राफिकको) पहल सडकमा जामको कारण अवरोध सिर्जना नहोस् भन्ने हो,’ उनले भने ‘समस्याको दीर्घकालीन समाधानको लागि सम्बन्धी क्षेत्रका स्थानीय निकाय, सरोकारवाला जवाफदेही हुनुपर्छ । तत्कालै कारबाही गर्दैमा दीर्घकालीन रूपमा समस्याको समाधान हुँदैन ।’
रूइनिबाङ र सुलिचौर पूर्वी रोल्पाका सुनिलस्मृति, लुंग्री र सुनछहरी गाउँपालिकाका मुख्य व्यापारिक केन्द्र हुन् । त्यसो त रोल्पा नगरपालिका, थबाङ गाउँपालिका र प्यूठानका केही भेगका नागरिक समेत बजारमा किनमेलमा आउँछन् ।
पूर्वी रोल्पाको मुख्य नाका समेत भएकाले जिल्ला प्रवेश गर्ने सवारी साधन यहाँको बजार भएर प्रवेश गर्दछन् । त्यसले गर्दापनि जामको समस्या यो बजार क्षेत्रमा बढी छ ।
बजार क्षेत्रमा हुने जामको विषयमा पालिकामा वेलावेला सरोकारवालाहरूसँग छलफल चलेको सुनिलस्मृति गाउँपालिकाकी उपाध्यक्ष मीना थापाले बताइन् । उपाध्याक्ष थापा भन्छिन्, ‘हामीले बजारलाई व्यवस्थित गर्नुपर्दछ र जामको समस्यालाई पनि हल गर्नुपर्छ भन्ने विषयमा हामी निर्वाचित भएपछि विभिन्न समयमा सरोकारवालासँग वैठक बसेर विभिन्न निणर्यहरू गरेका छौँ ।’ बजारलाई व्यवस्थित गर्न तथा सवारी जामको समस्यालाई हटाउन साना गाडीलाई पार्किङमा लैजाने व्यवस्था गरेको उनले बताइन् ।
सवारी धनीले गाउँपालिकाले निश्चित गरेको पार्किङ स्थलमा गाडी सुरक्षित नभएको गुनासो गर्छन् । त्यहाँ सुरक्षाको व्यवस्था गरिदिने र पार्किङ शुल्क उठाउने निर्णय समेत गरेको पालिकाले जनाएको छ ।
‘साना गाडी पर्किङमा राख्ने र ठूला गाडीलाई निश्चित समयमा बजार प्रवेश गराउने, साना गाडीलाई सामान लोड गर्दा मात्र बजारमा ल्याउने गरियो भने पनि बजारको जामलाई कम गर्न सकिन्छ’, उपाध्यक्ष थापाले थपिन् । पालिकाले जामको समस्या समाधान गर्न नगरप्रहरी समेत परिचालन गरेको जनाएको छ । पार्किङको लागि भनेर पालिकाले मासिक सत्र हजारको दरले जग्गा भाडामा लिएको छ ।
सवारी साधनको चाप दिनहुँ बढ्दो क्रममा छ, त्यस अनुसारको पार्किङ स्थल तथा सडक विस्तार हुन सकेको छैन् । बजार क्षेत्रमा देखिएको सवारी जामले कुनै दिन ठुलै दुर्घटना निम्त्याउन सक्छ । साघुँरो सडक त्यसमा पनि सडकसँगै जोडिएका पसलहरू अझ मुल सडकमै छाडिने पशुचैपायले पनि सवारी आवागमनमा समस्या निम्त्याएको छ । दिनभर बजारमा किनमेलका लागि हजारौको संख्यामा मानिसहरूको चहलपहल र साना तथा ठूला सवारीको चाप प्राय रहन्छ । किनमेलका वेला नागरिकले सधै सास्ती नै खेप्नुपर्ने हुन्छ । चाडपर्वको समयमा झन जामको समस्या बढी नै हुने गर्दछ ।


