म भुइँ मान्छे हुँ
गरिबीले अँठ्याएर
भोकमरीले लात हाने पनि
सबैको भोक मेटाउन
एका बिहानै उठेर
अनाजका वाटिकाहरुमा
धुलोको पछ्यौरी ओढ्दै
तिर्खा मेटाउन– दिनभरी पसिना पिएर
एकै पटक बेलुका सुस्केरा फेर्दै
तिमी बस्ने रुमानी शहरका
ठूलाठूला तारे होटेल भित्र
महँगा प्लेटहरु माथि
सजिने खानाका परिकारहरूलाई
रसिलो र स्वादिलो बनाउने
म त्यही भुइँ मान्छे हुँ !
खुट्टाका कुर्कुचाहरुले थिचेर
दबाबमा प्वाल परेका चप्पलहरू जस्तै
यहाँ महङ्गीले थिचेर
बीचबीचमा प्वाल परेका मेरा आन्द्राहरू
बेस्मारी दुखिरहेका छन् ।
थाहा छैन, मलाई
यो दुखाईको अन्त्य कहाँ हुन्छ ?
तर म भने त्यही दुखाईलाई
सहर्ष स्वीकार गर्दै
निलो बाटोमा बाध्यताको यात्रा गरी
क्षितिज पारीको बिरानो मुलुकमा
सुनौलो भविष्यको दियो खोज्ने
म त्यही भुइँ मान्छे हुँ !
बिरानो गाउँमा बाटो बिर्सेर
आएको अपरिचित बटुवा जस्तै
हरेक चुनावमा मीठा–मीठा सपना लिएर
दुःखका अक्करे भीरहरू छिचोल्दै
मलाई सम्झेर जाबो १ भोट थाप्न
मेरै झुपडीको आँगनमा
टुसाउ छन् केही मतपेटिकाहरू ।
जितेपछि विजयका राता टीकाहरुले
छोपिन्छन्, हाम्रा सम्झना र सपनाहरू
लगाएका महँगा खादा र मालाहरुले
ढाकिन्छन्, विगतका आत्मियताहरु
अनि हाम्रा हक, अधिकार र स्वाभिमानहरु
तस्करका स्वार्थसँग बली चढ्छन्
र पनि टुलुटुलु हेर्दै
पुनः अर्को चुनावमा
हार्दिक स्वागत छ है कमरेड ! भन्ने
म त्यही भुइँ मान्छे हुँ !
थुप्रै गगनचुम्बी महलहरू
उठाउँदा उठाउँदै
आफ्नै झुपडीको छानो चुहिएको
छेक्न नसक्ने मेरा समयहरुले
आफ्नै सपनाको हत्या त कति गर्यो–गर्यो ।
त्यसको कुनै हिसाब छैन,
त्यसको कतै निसाप छैन
हुन त घुस विना सामान्य फाइलसमेत
नहिँड्ने मेरो न्यायालयमा
इन्साफको के अपेक्षा गर्नु ?
तर पनि आशाको टुकी बाल्दै
निराशाका धुलोहरू टकटक्याएर
शान्तले बसिरहेको देख्नेहरु–होसियार
मेरो धैर्यताको बाँध भत्केपछि
विद्रोहको मशाल बोकिने छ
अनि तिम्रा टाउकोमा घन ठोकिनेछ
तबसम्म, संघर्षका यात्राहरूमा
तिमीले दिएका हरेक आगोहरु निल्दै
त्यही आगो ओकेल्ने प्रतिक्षामा
दृढ संकल्पसहित चुपचाप बस्ने
हो, साच्चै म त्यही भुइँ मान्छे हुँ !


