कविता :

झन्डाहरू

अचेल,
गाउँ होस् या सहर
जताततै देखिन्छन् झन्डाहरू

झन्डाहरू
कतै मस्तिष्क छोपिने गरी बेरिएका छन्
कतै हावा छेक्ने गरि टाँगिएका छन्
कतै धुरी खाँबोमा झुन्डिएका छन्
कतै कात्रोको सट्टा लासहरुमाथि ओढाइएका छन्
झन्डाहरू राता छन्, सेता छन् , पहेँला र निला छन्
अनेक अनेक थरी छन्, जसरी विचारहरू बहुरुपि छन्

विभिन्न रङ्गमा मुछिएका छन् झन्डाहरू
पार्टीका झन्डाहरू
नातावाद र कृपावादको झोलले मुछिएका छन्
धार्मिक झन्डाहरू
अहङ्कार र दुषित जलपले लतपतिएका छन्
झन्डाहरू लयमा छैनन्, सही गतिमा छैनन्
अझ भनौँ, झन्डाहरू हैसियतमै छैनन् ।

उड्दै गएको झन्डाको रङसँगै
उठिरहेछन् युवाका सपनाहरू
झन्डाहरुले पहिचान गुमाएपछि
मुठीहरू खुकुलो बन्दै गएका छन्
ओजन गुमाउँदै गएका छन् ठेला बोकेका हातहरुले
झन्डाको उद्रिँदै गएको लाजसँग
उदाङ्गो भइरहेछ हाम्रो मानवता

अचेल झन्डाहरू गिर्दैछन् आफ्नै अस्तित्वबाट
गौरव, सान र पहिचान विचलित छ
झन्डाहरू कतै अराजक जस्ता पनि छन्
झन्डाहरू कतै गहिरो चिन्तामा पनि छन्

झन्डाले मान्छेको मस्तिष्क बेरेपछि
ज्यूँदो मान्छे र लास उस्तै हुँदोरहेछ
झन्डाले विचारको प्रवाह गुमाएपछि  
कात्रो समान लाग्दोरहेछ
झन्डाले मान्छेलाई मान्छे बन्न नदिएपछि
लाजहरुको लेपनमा बादशाह हुन खोज्दो रहेछ चरित्र
झन्डाले क्षमतालाई ऐठन पारेपछि
लयहीन हुँदोरहेछ राष्ट्रिय स्वाभिमान
रङ्गहीन हुँदोरहेछ वर्गीय भावना ।

झन्डालाई कफन बानेर निधारमा
माइल यात्रामा हिँडेको अपरिचित युवा
बिट च्यातिएको र रङ उडेको
मैलो झन्डाको छायाँमा बसेर
उ हेर्नुस्, सुसाइट नोट लेखिरहेछ ।

प्रकाशित मिति : २०८२ भाद्र ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस