पछिल्लो समय सरकारी कार्यालयमा समेत तीज नआउँदै तामझामका साथ तीज विशेष कार्यक्रम हुन थालेका छन् । तीजका नाममा समाजमा विकृति भित्रिएको छ । तीजलाई बहाना बनाएर महिना दिन अघिदेखि विभिन्न कार्यक्रम हुनु विकृति नै हो । दर खाने नाममा तीज दारुसम्म पुगिसकेको छ । विभिन्न निकायबाट तीज नआउँदै दर खाने प्रचलन भित्रिएको छ । सहर बजारतिर पाटी प्यालेसतिर छिरिसकेको छ दर खाने कार्यक्रम । जहाँ दारुमय भएको फोटो र भिडियो बेलाबेला सामाजिक सञ्जालमा आउने गरेका छन् । तीजको बहानामा दर खाने, गरगहना र महँगा साडी (पोशाक) प्रदर्शन गर्ने विकृति बढेको छ ।
पछिल्ला वर्षमा तीजको नाममा उच्छृङ्खलता र तडक भडक आएको छ । एक पटक लगाएको साडी अर्को दिनको तीज विशेष कार्यक्रममा नलगाउने र अर्को किन्ने होडबाजी छ । यिनै गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान खोजेको देखिन्छ । यस्ता गतिविधिले नहुनेलाई खिन्न बनाउने र समाजलाई भड्किलो बनाउनेतिर धकेल्छ । तीज नआउँदै दर खाने विकृति रोक्नुपर्ने संस्कृतिविद्, धर्मशास्त्री र समाज शास्त्रीबाट जोड दिइएपनि झनझन् विकृति बढ्दै गएको छ ।
हरितालिका तीज व्रतको तयारीस्वरूप दर खाने हिन्दु नेपाली महिलाको मौलिक प्रचलन हो । तीजको व्रत निराहार बस्ने भएकाले तीजको अघिल्लो दिन व्रतालुले शक्ति प्राप्तिका लागि मीठामीठा एवं आडिलो परिकार दरका रुपमा खाएर व्रतको लागि पूर्वतयारी गर्ने परम्परागत चलन हो । विशेषगरी माइती एवं दाजुभाइले छोरी, चेली, दिदीबहिनीलाई बोलाइ दर खुवाउने गरिन्छ ।
दर दुई भाग रात हुँदै खाइसक्नुपर्ने शास्त्रीय विधान छ । तीजलाई महिलाले वर्ष दिनभर आफूलाई परेका दुःख, पीर, मर्का पोख्ने पर्वका रुपमा समेत उपयोग गर्छन् । यहीँ नै तीजको विशेषता पनि हो । पछिल्लो समय भने तीजका नाममा उच्छृङ्खल गीत बजारमा आउँछन् । त्यहीँ गीतमा दिदीबहिनी छमछमी नाच्छन् । उहिले वाद्यवादनका सामग्री बजाएर नाचगान हुन्थ्यो । पछिल्लो समय भने साउण्ड सिस्टममा तीज रूपान्तरित भएको छ । दिदीबहिनी जम्मा भएका बेला कसैले वाद्यवादन बजाउने, कसैले गीत गाउने र नाच्ने गरिन्थ्यो ।
अहिले बजाउने र गाउने कला हराउँदै गएको छ । प्रविधि सहितको गीतसङ्गीतले कला मर्दै गएको छ । हुँदाहुँदा महिनौँ दिनदेखि यो वा त्यो नाममा दर खाने प्रचलन बढ्दै गएको छ । समुदाय तहमा त यो विकृति बढ्दै गएकै थियो, पछिल्लो समय त सरकारी कार्यालयमै तीज विशेष कार्यक्रम र दर खाने विकृति छिरिसक्यो ।
हाम्रो मुलुक बहुधार्मिक, बहुजातीय र बहुसांस्कृतिक मुलुक हो । हाम्रा संस्कृति पनि कुनै न कुनै जाति र धर्मसँग जोडिएका छन् । कुनै धर्मसँग सम्बन्धित पर्व वा संस्कृतिलाई मात्र सरकारी निकायबाट मनाउनु झनै गम्भिर विषय हो । हामी धर्म निरपेक्ष मुलुकमा छौँ भन्ने भुल्नु हुनु हुँदैन । सरकारी ढुकुटीबाट त्यस प्रकारका कार्यक्रमको आयोजना भइरहेका छन् भने त, यि विषय निकै गम्भिर हुन् । समाजमा हुने विकृति र विसंगतिलाई नियन्त्रण गर्ने दायित्व सरकारी निकायको हो । तर, उल्टो विकृति आफ्नै कार्यालय भित्र्याउनु विडम्बनापुर्ण छ ।
यस्ता प्रवृत्तिले नेपाली समाज आफ्नो परम्परागत मौलिक मूल्य, मान्यता र साँस्कृतिक चेतबाट कमजोर बन्दै गइरहेकोे संकेट गर्दछ । समाज विकासका लागि सांस्कृतिक रुपान्तरण आजको आवश्यकता हो । न कि झनै विकृति छिराउने । यस्ता हर्कतले नेपाली समाज भावनामा बगेर परम्परा भुल्दै गएको देखिन्छ । समाजको आफ्नै सांस्कृतिक पुजी हुन्छ । जसको आफ्नै धार्मिक र शास्त्रीय मान्यता हुन्छ । तदनुरुप जोगाउन र बचाउन राज्यले समाजलाई सघाउनु पर्ने हुन्छ । समाजले कहिलेकाही विवेक गुमाउन सक्छ । विकृति तर्फ ढल्किनसक्छ । त्यसबेला राज्य (सरकारी निकाय) ले सजग गराउने हो, न कि आफै विकृतिमा फस्ने !


