२१ जेठ, रोल्पा । जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा बिहीबार दलित सचेतना कार्यक्रम सम्पन्न गरिएको छ। जनएकता बचत तथा ऋण सहकारी संस्था लिमिटेड, सुलिचौर रोल्पाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रमको उद्घाटन संस्थाका अध्यक्ष आकाश गिरीले गरेका थिए। कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष गिरीले जातीय विभेद तथा छुवाछुतजस्ता अमानवीय व्यवहारको अन्त्यका लागि सबै समुदाय सचेत र जिम्मेवार बन्नुपर्ने बताए। उनले नेपालको संविधान र प्रचलित कानुनले छुवाछुतलाई दण्डनीय अपराधका रूपमा परिभाषित गरे पनि समाजमा अझै विभिन्न स्वरूपमा विभेद कायम रहेको उल्लेख गरे।
कार्यक्रममा सहभागी वक्ताहरूले जातीय भेदभाव तथा छुवाछुतविरुद्धको अभियानलाई थप प्रभावकारी बनाउन समुदायस्तरमा निरन्तर जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।
कार्यक्रममा सहकारीका पदाधिकारी, सदस्यहरुको सहभागिता रहेको थियो। कार्यक्रमले जातीय विभेदमुक्त, समतामूलक र सभ्य समाज निर्माणका लागि सकारात्मक सन्देश प्रवाह गर्ने अपेक्षा राखेको आयोजकले जनाएको छ।


