त्यो त्यही रगत हो
जो शिराबाट बग्दा
जीवन दिन्छ।
योनिबाट बग्दा
अछुत बनाइन्छ।
म चुलो छुन्छु-
अपराध हुन्छ।
म धारा छुन्छु-
पाप हुन्छ।
घाममा निस्किन्छु-
दोष लाग्छ।
आकाशतिर हेर्छु-
कसैको आयु घटाउने
नाम पाउँछु-
बोक्सी।
श्रीमान् गुमाउँदा
मेरो इच्छा सोधिँदैन।
सेतो लुगाले
मेरो जीवन बाँधिन्छ।
दिनभरि मजदुरी गर्छु,
आरनमा कुटिन्छु,
मेसिनमा सिलाइन्छु,
सन्तानको भोक मेटाउँछु,
तर म अझै
दया खोज्न बाध्य
म अर्को बोक्सी।
म हाँस्छु भने
चरित्रमाथि प्रश्न उठाइन्छ।
म स्वतन्त्र हिँड्छु भने
नजरले निर्वस्त्र बनाइन्छ।
म भन्छु- मेरो शरीर, मेरो अधिकार।
त्यही क्षण, हो त्यही क्षण,
दोषी ठहरिन्छु।
मार्न मिल्ने,
जलाउन मिल्ने,
म एउटा बोक्सी।
दाइजो सँगै
सहनशीलताको नाम बोकेर
जन्मघर छोडेर
पसेकी म भनिने कर्मघरमा
कुटिन्छु, पोलिन्छु, छोडिन्छु
र पीडा बोल्ने, बेद्ना पोख्ने
कुनै ठाउँ नभएको
हो-
म पनि त्यही
बोक्सी।
तर सुन-
म बोक्सी भए पनि
म डर होइन।
म प्रश्न हुँ।
म दैलो नाघ्ने साहस हुँ।
म नेतृत्व खोज्ने चेतना हुँ।
म गिद्धे नजर च्यात्न खोज्छु।
म क्रूर हात तोड्न खोज्छु।
म विभेदविरुद्ध बोल्छु।
म हिंसाविरुद्ध उभिन्छु।
म न्याय र समानताको
आवाज हुँ।
हो-
म बोक्सी हुँ।
किनकि
म चुप बस्दिनँ।
मैले एउटा प्रश्न गरेँ।
अब भन्नुहोस्-
म बोक्सी हो कि
समाजको अन्यायले जन्माएको सत्य?



