किलाचनमा पर्यटकको आकर्षण बढ्दै

१४कार्तिक, रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–१ सेरम घुस्बाङको शिरमा रहेको किलाचन तालमा पछिल्लो समय पर्यटकको चहलपहल बढ्न थालेको छ। रोल्पाको सुनछहरी गाउँपालिका र बागलुङको निसीखोला गाउँपालिकाको सिमानामा अवस्थित यो ताल उच्च भूभागमा रहेकाले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको हो।

किलाचन ताल प्राकृतिक, धार्मिक तथा पर्यावरणीय दृष्टिले महत्वपूर्ण मानिन्छ। समुद्री सतहबाट करिब ३ हजार ४ सय मिटरको उचाइमा रहेको तालबाट देखिने मनमोहक प्राकृतिक दृश्यले यहाँ पुग्ने पर्यटकलाई आकर्षित गर्ने गरेको छ। पछिल्लो समय विभिन्न ठाउँबाट पर्यटक किलाचन ताल पुग्ने गरेका छन्।

पुर्खौंदेखि भेडाचरण क्षेत्रका रूपमा प्रयोग हुँदै आएको किलाचन क्षेत्र अहिले पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ। ढोरपाटन नजिकै रहेको र मध्यपहाडी लोकमार्गबाट समेत पहुँच पुग्ने भएकाले ढोरपाटन भ्रमणमा आउने तथा उक्त मार्ग भएर यात्रा गर्ने पर्यटक किलाचन पुग्ने गरेका छन्।

वर्षायाम सुरु भएसँगै ताल वरपर विभिन्न प्रजातिका रङ्गीचङ्गी फूल फुल्ने गरेका छन्। फूलले ढाकिएको डाँडाकाँडा, घना जंगल र प्राकृतिक दृश्यको फोटो तथा भिडियो खिच्न पर्यटक यहाँ पुग्ने गरेका छन्।

रोल्पाबाट किलाचन घुम्न पुगेका भुपेन्द्र घर्तीमगर किलाचन तालले अथाह पर्यटकीय सम्भावना बोकेको बताउँछन्। रोल्पाबाट किलाचन पुग्न लामो यात्रा गर्नुपर्ने भए पनि गन्तव्यमा पुगेपछि त्यसको थकान बिर्सने उनको भनाइ छ।

“किलाचन ताल सुन्दर पर्यटकीय स्थल हो। यहाँको सुन्दरताले सबैलाई मोहित पार्छ,” उनले भने, “वर्षायाममा फुल्ने रङ्गीचङ्गी फूल, चारैतिर देखिने घना जंगल यहाँका मुख्य विशेषता रहेछन्।”पर्यटकीय क्षेत्रको संरक्षणमा सबैले ध्यान दिनुपर्ने उनको भनाइ छ। पर्यटकले पनि प्राकृतिक सुन्दरता कायम राख्दै जथाभावी फोहोर गर्न नहुने उनले बताए।

किलाचन ताल रोल्पाको भूभागमा अवस्थित भए पनि रोल्पातर्फबाट सहज सडक पहुँच नहुँदा लामो पैदलयात्रापछि मात्र पुग्न सकिन्छ। मध्यपहाडी लोकमार्ग हुँदै यात्रा गर्ने पर्यटक भने करिब आधा घण्टाको पैदल यात्रापछि तालसम्म पुग्न सक्छन्।

स्थानीय जनविश्वासअनुसार विसं १९८९ तिर किलाचनमा ताल उत्पत्ति भएको मानिन्छ। विसं १९९० देखि स्थानीयले नियमित रूपमा यहाँ पूजाआजा गर्दै आएको बताइन्छ। यहाँ रहेको थानमा पूजाआजा गरे मनोकांक्षा पूरा हुने जनविश्वाससमेत छ। स्थानीयले हरेक वर्ष साउन पूर्णिमाका दिन विशेष पूजाआजा गर्ने गरेका छन्।

स्थानीयका अनुसार विसं १९८९ तिर यस क्षेत्रमा भेडीगोठ रहेको र त्यही समयमा दह उत्पत्ति भएको जनविश्वास छ। दह उत्पत्ति भएपछि भेडाहरू त्यसको किनारमा लागेको र त्यससँग जोडिएको धार्मिक विश्वासका आधारमा यहाँ पूजाआजा गर्ने परम्परा सुरु भएको स्थानीयको भनाइ छ।

किलाचन ताल आसपासको क्षेत्र अहिले पनि भेडाका बथानले भरिभराउ देखिन्छ। डाँडाकाँडामा सेताम्य भेडा चरिरहेको दृश्यले पनि पर्यटकलाई आकर्षित गर्ने गरेको छ। रोल्पा, रुकुम र बागलुङका किसानले यस क्षेत्रमा भेडापालन गर्दै आम्दानी गर्ने गरेका छन्।

सुनछहरी गाउँपालिका–१ सेरम घुस्बाङका स्थानीय मानिक घर्तीमगरका अनुसार तालको उत्पत्तिपछि स्थानीयले साउन पूर्णिमामा नियमित रूपमा पूजाआजा गर्दै आएका छन्।“किलाचन क्षेत्र पुर्खौंदेखि नै भेडाचरण क्षेत्र हो,” उनले भने, “अहिले पनि धेरैले यहाँ भेडा चराउने गर्छन्।”
किलाचन क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न स्थानीय स्तरबाट समेत पहल भइरहेको छ। तालको संरक्षणका लागि वरपर घेराबार गर्नुका साथै मन्दिर तथा पर्यटक बस्नका लागि केही संरचना निर्माण गरिएको छ।

सुनछहरी गाउँपालिका-१ का वडाध्यक्ष धनिमान रोकाका अनुसार किलाचन दहलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न स्थानीय सरकार लागिपरेको छ।

“तालको संरक्षण र प्रवद्र्धनका लागि स्थानीय सरकार लागिपरेको छ,” उनले भने, “हामीले धेरै पहिलेदेखि नै किलाचन दहलाई पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य राखेका थियौँ। अझै ओझेलमा रहेकाले यसलाई कसरी संरक्षण र व्यवस्थापन गर्ने भन्ने विषयमा काम गरिरहेका छौँ।”

रोल्पाबाट किलाचन पुग्न सहज नभएकाले अपेक्षाअनुसार पर्यटक पुग्न नसकेको उनको भनाइ छ। मध्यपहाडी लोकमार्ग हुँदै यात्रा गर्ने पर्यटक भने किलाचन पुग्ने गरेका छन्। “किलाचन दह सुनछहरी–१ मा परे पनि यसको अपनत्व बागलुङ र रुकुम पूर्वले बढी लिने अवस्था छ,” उनले भने, “आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन तीन जिल्लाका पालिकाबीच छलफलसमेत चलेको छ। पर्यटन विकासका लागि आपसी सहकार्य गरेर अघि बढ्ने निर्णय भएको छ।”

किलाचन तालसम्म पुग्न भौगोलिक विकटता र पर्यटकका लागि बासको पर्याप्त व्यवस्था नहुनु मुख्य चुनौतीका रूपमा देखिएको छ। रोल्पाबाट किलाचन पुग्न लामो पैदलयात्रा गर्नुपर्ने बाध्यता छ। यातायातको सहज पहुँच र पर्यटकका लागि आवश्यक आवासको व्यवस्था गर्न सके यस क्षेत्रमा पर्यटन व्यवसाय विस्तार हुने सम्भावना देखिन्छ।

रोल्पा पर्यटकीय सम्भावनाले भरिपूर्ण भए पनि आवश्यक पूर्वाधार र प्रचारप्रसारको अभावमा धेरै पर्यटकीय स्थल ओझेलमा छन्। नेपालको उत्कृष्ट सय पर्यटकीय गन्तव्यको सूचीमा रहेको जलजला क्षेत्र पनि रोल्पामै छ, जुन किलाचन तालको नजिकै पर्छ। त्यसैगरी कोठीभीर, सुनछहरी झरना, थबाङ गाउँ, सातदोबाटोको बगैँचा तथा भ्युटावर, गुरुङगाउँ होमस्टेलगायतका क्षेत्र पनि पर्यटकीय सम्भावना बोकेका छन्।

यी पर्यटकीय स्थललाई एकीकृत गन्तव्यका रूपमा विकास गर्दै पूर्वाधार निर्माण, प्रचारप्रसार र अन्तरपालिकाबीच सहकार्य गर्न सके किलाचनसहित रोल्पाको पर्यटन क्षेत्रले थप गति लिन सक्ने देखिन्छ।

प्रकाशित मिति : २०८३ कार्तिक १४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस