प्रथम परिवर्तन भर्चुअल राष्ट्रिय तेक्वान्दो सम्पन्न

रोल्पा आइटीएफ तेक्वान्दो संघको आयोजना, नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघको सहकार्य र परिवर्तन गाउँपालिका रोल्पाको मुख्य प्रायोजनमा सञ्चालित प्रथम परिवर्तन भर्चुअल तेक्वान्दो आईटीएफ राष्ट्रिय खुला प्याट्रन प्रतियोगिता सम्पन्न भएको छ । गत ११ पुसमा उद्घाटन गरिएको भर्चुअल खेलमा देशभरिबाट ६ सय ५३ जना प्रतियोगीको सहभागिता रहेको थियो ।

१५ पुससम्म सञ्चालित खेलमा सबैभन्दा धेरै ५ स्वर्णसहित काभ्रे जिल्ला उत्कृष्ट भएको छ । काभ्रेले ३ रजत र ४ कास्य पदकसमेत हात पारेको छ । त्यस्तै पाल्पाले ३ स्वर्ण, २ रजत र १० कास्य, रोल्पाले १ स्वर्ण, १ रजत र ३ कास्य पदक जितेको छ । बाग्लुङले १ स्वर्ण, २ रजत र १ कास्य, काठमाडौंले २ स्वर्ण, रामेछापले १ स्वर्ण, ललितपुरले ३ रजत, गुल्मीले १ रजत र रुकुमपूर्वले १ कास्य पदक हात पारेको रोल्पा तेक्वान्दो संघका अध्यक्ष बिक्रम बाँठामगरले जानकारी दिनुभयो ।

संघका अध्यक्ष बिक्रम बाँठामगरको अध्यक्षतामा भएको समापन कार्यक्रममा नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष तथा एसियायी तेक्वान्दो महासंघका कार्यकारी सदस्य अन्जन धमलाको प्रमुख आतिथ्यता रहेको थियो भने नेपाल आईटीएफका उपाध्यक्ष तथा प्रमुख प्रशिक्षक अन्जुनाथ श्रेष्ठ र नेपाल राष्ट्रिय मार्सल आर्ट गेम्स महासंघका अध्यक्ष प्रबिन कुमार कार्कीको विशिष्ट आतिथ्यता रहेको थियो । प्रतियोगितामा देशभरबाट उत्साहपूर्ण हिसाबले धेरै सहभागी भएको र सबैको सकारात्मक साथ रहेकाले भर्चुअल खेलकुद कार्यक्रम सफल भएको संघका जिल्ला सचिव कृष्णप्रसाद बाँठामगरले बताउनुभयो ।

वर्तमान बदलिँदो परिस्थितिसँगै खेलकुद जगतलाई पनि समयसापेक्ष बनाउनुपर्ने भन्दै संघका अध्यक्ष बिक्रम बाँठामगरले भर्चुअल प्रतियोगिताको आयोजना गर्दा आफूहरुले थप हौसला पाएको बताउनुभयो । उहाँले खेलकुद सम्पन्न गर्न सहयोग गर्ने मुख्य प्रायोजक परिवर्तन गाउँपालिका सहित सबैलाई धन्यवाद समेत व्यक्त गर्नुभयो ।

-सनस्टार साप्ताहिकबाट

प्रकाशित मिति : २०७७ पुष २० गते सोमवार
प्रतिक्रिया दिनुहोस