चेल्सीको संघर्षपूर्ण जित

४ माघ, एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले संघर्षपूर्ण जित निकालेको छ ।

शनिबार राति भएको खेलमा चेल्सीले रेलिगेशन जोनमा रहेको फुलहमविरूद्ध १–० को जित निकालेको हो ।

घरेलु टोली पहिलो हाफमै १० खेलाडीमा सीमित बनेको थियो । खराब ट्याकल गरेपछि एन्टोनी रविन्सन रातो कार्ड खादै पहिलो हाफको अन्तिम मिनेटमा मैदान बाहिरिएका थिए । चेल्सीले गोलका लागि ७८औँ मिनेटसम्म पर्खनु पर्‍यो ।

मिसन माउन्टले चेल्सीका लागि विजयी गोल गरे । वेन चिलवेलको क्रसमा फुलहमका गोलकिपरले पन्च गर्दा फर्किएको बलमा डिबक्सभित्र रहेका माउन्टले गोल गरेका थिए ।

पछिल्ला चार खेलमा चेल्सीले पहिलो जित निकालेको हो । चेल्सीका खेलाडीले गोलका लागि निकै प्रयास गरेका थिए । तर कुनै पनि प्रहार सफल हुन सकेन । पहिलो हाफमा माउन्टकै प्रहार पोस्टमा लागेर फर्किएको थियो ।

जितसहित चेल्सी २९ अंक जोड्दै तालिकाको सातौँ स्थानमा उक्लियो । फुलहम १२ अंकसहित रेलिगेशन जोनमै छ ।

प्रकाशित मिति : २०७७ माघ ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस