रोल्पा । थाइल्याण्डमा भएको अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै सहभागि भएर विजयी भएका रोल्पाका २ खेलाडीहरू आज स्वदेश फर्किएका छन्।
विभिन्न ९ वटा देशका खेलाडीहरूको विचमा माघ १३ गते भएको अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा ५४ केजी तौल समूहको प्रतिस्पर्धामा सहभागि भइ रोल्पा त्रिवेणी गाउँपालिकाका विरेन्द्र डाँगीले गोल्ड मेडल प्राप्त गर्न सफल भएका थिए ।भने ५१ केजी समूहको प्रतिस्पर्धामा सहभागि भइ रोल्पा थबाङ गाउँपालिकाका रिमोट झाक्री मगरले दोस्रो स्थान हासिल गर्न सफल भएका थिए। साथै यि दुई खेलाडी मलेसियामा भएको पुम्से सेमिनारमा पनि सहभागि भएर उत्तिर्ण भएका छन्।
दुई देशमा हुने खेलमा सहभागी हुन माघ ११ गते थाईल्याण्ड प्रस्थान गरेका उनिहरु आज बिहान ८ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन ।
उनिहरुलाई प्रतिनिधि सभा सांसद तथा एमाले केन्द्रिय सदस्य ईश्वरी घर्तीमगरको संयोजनमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल प्रांगणमा स्वागत र बधाई ज्ञापन गरिएको हो।
सो कार्यक्रममा प्रतिनिधि सभा सांसद तथा नेपाली कांग्रेसका केन्द्रिय सहमहामन्त्री बद्री पाण्डे, एमाले सांसद हर्कमाया विश्वकर्मा, सामाजिक अभियन्ता शोभाराम डाँगी, नेकपा एमाले रोल्पा-काठमाडौ सम्पर्क मन्चका अध्यक्ष गौरब डाँगी लगायतले विजयी खेलाडीहरुलाई खादा, माला, अविर र नेपालको राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थिए।
यसअघि भारतको अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पनि सहभागि भएर आ-आफ्नो तौल समूहमा प्रथम स्थान हासिल गरिसकेका रोल्पाका मध्यम वर्गीय परिवारका विरेन्द्र र रिमोट अहिले सम्म आफ्नो व्यक्तिगत खर्चमा अन्तराष्ट्रिय खेल खेलिरहेको बताएका छन्।
खेल क्षेत्रलाई नेपालका ३ तहकै सरकारले प्राथमिकता नदिएको गुनासो गर्दै उनिहरुले आफुहरुको खेल क्षेत्रमै स्थापित हुने तिब्र चाहना हुँदाहुँदै पनि आर्थिक अभावले सबै अन्तराष्ट्रिय तहको खेलमा सहभागी हुन नसक्ने बाध्यता आइपरेको बताएका थिए।
खेलमा प्रथम र द्वितीय स्थान हासिल गर्न सफल विरेन्द्र र रिमोटलाई स्वागत गर्न एअरपोर्ट पुगेका रोल्पा रुन्टिगढि-४ का एमाले नेता वेगम पुनले जनहि १०/१० हजार तथा सांसद बद्री पाण्डेले २ हजार , शोभाराम डाँगीले ५ हजार, दाङका व्यवसायीहरु रमेश भुसाल, पदम भण्डारी, ईश्वर गोराथोकी, शनम शर्मा, डा.सोम प्रसाद रिजाल, महेश चौधरी र निरज चौधरीले १/१ हजार रूपैयाँ पुरस्कार स्वरुप नगद प्रदान गरेका थिए।
अन्तराष्ट्रिय विमानस्थल प्रांगणमा सम्पन्न खेलाडी स्वागत तथा बधाई ज्ञापन कार्यक्रमको सहजीकरण गैरसरकारी संस्था महासंघका पूर्व केन्द्रीय सचिव तथा सामाजिक अभियन्ता शोभाराम डाँगीले गरेका थिए।