भोलिदेखि एकसाता घर बाहिर निस्कन नपाइने

काठमाडौं । सरकारले मंगलबारबाट देश पूर्ण रुपमा लकडाउन गर्ने निर्णय गरेको छ । मंगलबार विहानबाट एक सातासम्म घरबाट बाहिर निस्कन नपाइने भएको छ। कोरोनासम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले भोलि मंगलबार विहान ६ बजेबाट एक सातासम्म सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको हो।

समितिले आन्तरिक उडानमा समेत रोक लगाएको छ। सार्वजनिक यातायात बन्द गर्ने निर्णय गरेको छ, भने अत्यावश्यकबाहेक सरकारी कर्मचारीलाई बिदासमेत दिने निर्णय गरेको हो।अनुमति प्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक सवारी वा निजी सवारी साधनलाई पनि रोक लगाइएको छ।

औषधि उपचार, खाद्य बस्तु खरिद जस्ता अत्यावस्यक काममा बाहेक कुनै व्यक्ति घरबाट बाहिर ननिस्कन भनिएको छ। समितिले औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दुध, ईन्धन उत्पाद गर्ने उद्योगहरु बाहेक निजी क्षेत्रबाट सञ्चालित अन्य उद्योग, कलकारखानाहरुमा काम गर्ने श्रमिक, कर्मचारीहरुलाई सम्बन्धित उद्योगले विदा दिन व्यवस्था मिलाउने निर्णय गरेको छ ।

प्रकाशित मिति : २०७६ चैत्र १० गते सोमवार
प्रतिक्रिया दिनुहोस