
काठमाडौँ । कैलालीको गौरीफन्टा नाकामा भारतबाट नेपाल प्रवेश गर्न लागेका नेपाली र सुरक्षाकर्मीबीच झडप भएको छ । सरकारले गए राती अबेरसम्म सीमा नाकामा आइपुगेका नेपालीलाई नेपाल प्रवेश गर्न दिए पनि सीमा क्षेत्रमा नेपाल प्रवेश गर्नेको भीड लागेको थियो ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै सरकारले नेपाल भारत सीमा बन्द गरेपछि सुरक्षाकर्मीले उनीहरूलाई रोक्न खोज्दा झडप भएको हो । भीड नियन्त्रण गर्ने क्रममा सीमापारिबाट आउँदै गरेका नेपालीले ढुुंगामुढा गरेका थिए । नेपाल प्रवेश गर्नेको ठूलो भीड रहेका कारण सुरक्षाकर्मीलाई उनीहरूलाई रोक्न कठिन परेको हो ।
गौरीफन्टा नाकामा अलपत्र परेका सयौँ नेपाली सुरक्षा घेरा छिचोल्दै नेपाल प्रवेश गर्न थालेका छन् । उनीहरू दशगजा क्षेत्रमा आइसकेका छन् ।
मोहना पुलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उनीहरूलाई रोक्ने प्रयास गरिरहेको छ । कतिपय नेपाली भने भागेर नेपाल प्रवेश गरिसकेका छन् ।