महामारीमा अन्धविश्वासको धन्दा सामाजिक अपराध

मानिसलाई आपतविपत पर्दा धेरैले अवैध प्रकारले फाइदा उठाउने गरेका छन् । कैयौँ मानवीय सङ्कटको समयमा कालोबजारियाहरूले ठूलो लुट मच्चाएका छन् ।भू कम्प र नाकाबन्दीको बेलामा कालोबजारियाहरूले लुट मच्याए । कालोबजारियाहरू लुट मच्चाउने मौकाको खोजीमा सधैँ रहेका हुन्छन् । सामान्य अवस्थामा पनि तिनीहरूले कालोबजारी त गरेकै हुन्छन् ।केही दिन पहिले कोरोना भाइरसको सन्त्रासको समयमा मास्क, स्यानिटाइजर, ग्यास, खाद्यान्नमा कालोबजारियाहरू सक्रिय भए । सरकारले मास्कको गोदाममा छापा मारेर लाखौँ रुपैयाँ जरिमाना गरेको छ ।मानवीय सङ्कटबाट फाइदा उठाउने अमानवीय तरिका लगातार भइरहेको छ । तिनीहरूलाई कडा कारबाही नगर्दा पनि यस्ता समस्या दोहोरिएका छन् । कैयौँ कालोबजारियाहरूलाई सरकारले नै संरक्षण गरेको छ । नाकाबन्दीको बेलामा चीनले निस्शुल्क दिएका इन्डक्सन चुह्ल‍‍ोलाई ११ हजार रुपैयाँ मूल्य तोकेको थियो । ती बिक्री नभएपछि अहिले ४ हजार रुपैयाँ मूल्य तोकिएको छ । यसरी सरकारले आफैँ पनि काल‍‍ोबजारी गरेको छ ।
देशमा अहिले कालोबजारियाहरू र अन्धविश्वास फैलाएर फाइदा लुट्नेहरू सक्रिय भएका छन् । कालोबजारियाहरूले पैसा लुटिरहेका छन् भने क्रिश्चियन साम्राज्यवादका एजेन्टहरूले अन्धविश्वास र धर्मान्तरणको धन्दा सुरु गरेका छन् ।हिन्दू धर्मका केही पुजारीहरूले अन्धविश्वास फैलाउँदै हिँडेका छन् । पास्टरहरूको ताण्डव नृत्य क्रिश्चियन साम्राज्यवाद नेपालका लागि ठूलो समस्याको रूपमा रहेको छ । आगामी दिनमा यसले झन् ठूला समस्या निम्त्याउने निश्चित छ ।२०७२ सालमा देशमा विनाशकारी भूकम्प गएपछि क्रिश्चियन साम्राज्यवादका एजेन्टहरूले राहत सामग्री सँगसँगै बाइबल वितरण गरेर धेरै गरिबहरूलाई धर्मान्तरण गराएका थिए ।
भूकम्पपछि सहयोगको बहानामा कैयौँ चर्चहरू निर्माण गरिएका थिए भने धर्म परिवर्तन गरेमा मात्र सहयोग गर्ने धम्कीसमेत दिइएको थियो । पहिले धर्म परिवर्तन, त्यसपछि सहयोग गर्ने भनेपछि गरिबहरूलाई चेपुवामा पारेरसमेत धर्म परिवर्तन गराइएको थियो ।सानासाना बालबालिकाहरूलाई समेत बाइबल वितरण गरिएको थियो । कोरोनाको महामारीको समयमा फेसबुक, यट्युब र ट्वीटरमा यशुले नै कोरोनाको महामारीबाट मुक्त गराइदिने भन्दै पास्टरहरूका चर्काचर्का भाषणहरू राखिएका छन् । तिनीहरूको चिच्याहट अचम्म लाग्दो छ ।
जति चिच्याउन सक्यो, उति धेरै भ्रम फैलाउन सकिन्छ भन्ने ध्येय उनीहरूमा रहेको देखिन्छ । क्रिश्चियनका पास्टरहरूले घाँटी फुलाएर यशुले सबै रोगहरूको नास गरिदिने भन्दै यशुमाथि विश्वास गर्ने कोही पनि नमर्ने बताइरहेका छन् ।कतिपय पास्टरहरूको शैली पागलको जस्तै देखिन्छ । महामारीको बेलामा पनि धर्मान्तरणको धन्दा सुरु भइसकेको छ । यशुलाई पुकार्दै हिँड्ने युरोप र अमेरिकामा नै कोरोनाले हजारौँ मान्छेको ज्यान लिइसकेको अवस्थामा त्यही खालको धन्दा नेपालमा चलाइरहनु क्रिश्चियन साम्राज्यवादको नयाँ रणनीति हो ।
कोरोनाको संक्रमणको समयमा तिनीहरूले अन्धविश्वास फैलाएर क्रिश्चियन धर्मको प्रचारलाई व्यापक बनाएका छन्, जसलाई रोक्नतर्फ राज्यले कुनै ध्यान दिएको छैन । नेपालमा कैयौँ गिरोहहरूले यशुको खेती गरिरहेका छन् ।
सङ्कटको बेलामा धर्मान्तरण गराउने क्रिश्चियन साम्राज्यवादको रणनीति रहँदै आएको छ, जुन गैरकानुनी र दण्डनीय छ । तर, पनि सरकारले लाचार भएर कारबाही गर्न सकेको छैन । पर्यटनमन्त्री योगेश भट्टराईले लकडाउन नहुने दिनसम्म पनि मन्दिरमा पूजा लगाउन छुट दिएर महामारीप्रति ठूलो हेलचेक्य्राइँ गरेका थिए । कोरोना नष्ट गर्ने भन्दै गरिएका यज्ञ, पूजाहरूलाई नियन्त्रण नगरिनु पनि अन्धविश्वासलार्ई बढावा दिने कार्य नै हो ।महामारी र सङ्कटको समयमा अन्धविश्वास फैलाउनु ठूलो अपराध हो । यशुको नामका पास्टरहरू होऊन् वा पूजा लगाउँदै हिँडेका विनोद चौधरीहरू वा मन्दिरहरूमा ठूलठूला पूजा लगाउन अनुमति दिने योगेश भट्टराईहरू । यिनीहरूले अन्धविश्वाससम्बन्धी अपराध गरेका छन् । महामारीको सङ्कटको बेलामा कोरोना नष्ट गर्न भन्दै पूजा लगाउँदै हिँड्ने पण्डितहरूले अन्धविश्वास फैलाउने अपराध गरेका छन् । तिनीहरूले पूजा लगाएर कोरोना निर्मूल हुने भन्दै पैसा असुल्ने धन्दासमेत सुरु गरेका छन् ।
विनोद चौधरीको दासयुगीन धन्दा
दासयुगमा जब प्राकृतिक विपत्ति र महामारी हुन्थ्यो, त्यतिबेला यज्ञहरूको आयोजना गरिन्थ्यो । अज्ञानताको कारण नै त्यस्तो हुन्थ्यो । किनभने महामारी फैलाउने यस्ता भाइरस र व्याक्टेरियाहरू पत्ता लागिसकेका थिएनन् । त्यसैले तिनीहरू यज्ञको शरणमा जाने गर्थे ।
अहिले वैज्ञानिकहरूले धेरै छिटो रोगहरू पत्ता लगाएका छन् र महामारीबाट पीडितहरूको उपचारमा तल्लीन छन् । अहिले संसारले कोरोनासँग लडिरहेको छ ।
अर्बपतिको सूचीमा रहेका विनोद चौधरीले कोरोना भाइरस नष्ट गर्न भन्दै पूजा लगाएका छन् । एकातिर महामारीका विरुद्ध वैज्ञानिक खोज र अनुसन्धान, अर्कातिर अन्धविश्वास फैलाउनका लागि दासयुगीन पूजाआजाको धन्दा । अन्धविश्वास फैलाउनु खेदजनक कार्य हो । कोरोनाको औषधि पत्ता लगाउनका लागि विश्वका औषधि कम्पनीहरूले करोडौँ डलर खर्च गरेका छन् । वैज्ञानिकहरूले दिनरात काम गरिरहेका छन् ।
मान्छेको ध्यान वैज्ञानिक आविष्कारतिर मोड्नुपर्नेमा अन्धविश्वासतिर मोडिएको छ । अन्धविश्वासबाट फाइदा लिन खोज्नु निश्चय पनि सामाजिक अपराध हो । कोरोना संक्रमण हुनका लागि मान्छे(मान्छेबीच प्रत्यक्ष भेटघाट वा छोइनुपर्छ । तर, यिनीहरूले यज्ञ वा पूजाको प्रचार गरेरै लाखौँ लाख मान्छेको दिमागमा संक्रमण गराइरहेका छन् । महामारीको समयमा अन्धविश्वास फैलाएर जनता लुट्ने नयाँ धन्दा हो ।
यस प्रकारको धन्दामा राज्य चुप लागेर बस्नु आफँैमा खेदजनक छ । अन्धविश्वासबाट कमाइ विभिन्न समयमा अन्धविश्वासको धन्दा चलाएर करोडौँ, अर्बौं रुपैयाँ कमाउनेहरूको जमात सधैँ सक्रिय रहने गर्छ । केही वर्ष पहिले आदित्य दाहाल नाम गरेका बिरामी बालकलाई देखाएर भगवान् हुन् भन्दै लुट्ने गिरोह धेरै सक्रिय थियो । त्यो गिरोहले दाहाललाई देखाएर ठूलठूला यज्ञहरू गरेर करोडौँ रुपैयाँ जम्मा गर्न सफल भयो ।मैले गत वर्ष तिनीहरूले चलाइरहेको कालो धन्दाको सैद्धान्तिक र व्यावहारिक पक्षबारे चिरफार गरेको थिएँ । त्यसपछि त्यो गिरोहका बारेमा ठूलो बहस नै भएको थियो । २ महिना पहिले त्यस्तै कमाउ धन्दाका लागि आयोजना गरिएको चितवनको महायज्ञ नै स्थगित गरिएको थियो । उपराष्ट्रपतिले उद्घाटन गर्ने भनिए पनि धेरै ठूलो विवाद भएपछि अन्तिममा उनी चितवन पुगेर उद्घाटन नगरी फर्किएका थिए ।
चीनबाट सिक्नुपर्ने पाठ चीनले यशु वा बुद्धका नाममा यस प्रकारका कुनै पनि खेती गर्न दिएन । भाइरस देखिनेवित्तिकै सबैतिर लकडाउन गर्‍यो र एक हप्तामा हजारौँ शैय्याका अस्पताल निर्माण गरेर बिरामीको उपचारबाट चीन छिटो बौरिन सक्यो ।
मलेसियाले भने सुरुमै सबै मस्जिदहरूमा जान रोक लगायो । चिनियाँ अर्बपति ज्याक माले नेपाललगायत एसियाका देशहरूलाई मेडिकल सामग्री सहयोग गर्ने घोषणा गरेका छन् । तर, नेपालका अर्बपति भनिएका व्यक्तिले यज्ञ, पूजा लगाएर अन्धविश्वास फैलाउने अपराध गरेका छन् । सङ्कटको समयमा चीन र नेपालका अर्बपतिमा आकाश(जमिनको फरक देखिएको छ ।
चीनमा कोरोनाका विरुद्ध लड्न भन्दै सम्भवतः कुनै पनि प्रार्थनासभा आयोजना गरिएनन् । चीनले आफ्नो सम्पूर्ण शक्ति लगाएर कोरोनाविरुद्ध विजय हासिल गर्दै गयो । सङ्कट र महामारीको समयमा अन्धविश्वास फैलाएर फाइदा लिने गिरोहलाई छिटोभन्दा छिटो नियन्त्रण गर्न जरुरी भइसकेको छ । अन्धविश्वास पनि ठूलो समस्या हो, जसले मान्छेलाई अज्ञानताको कारण मृत्युको मुखमा पुर्‍याउन सक्छ । कोरोना लागेर बिरामी थला पर्ने तर यशुले सन्चो गराइदिन्छन् र भगवानले सन्चो गराइदिन्छन् भनेर प्रार्थना मात्र गर्ने हो भने महामारीले झन् ठूलो रूप लिने निश्चित छ ।
अन्धविश्वासका कारणले महामारी फैलिन ठूलो मद्दत मिलेको छ । त्यसैले हामीले कोरोना भाइरस र अन्धविश्वासका विरुद्ध सशक्त लडाइँ लड्नुपर्छ ।

प्रकाशित मिति : २०७६ चैत्र १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस