मेरो राजा !
वर्षौं भयो,
माथि आकाशमा आल्मुनियमको चरा भुर्र उडेको देख्दा
हजुर आउनु भयो कि भनेर घरको दैलो उघारेर,
हजुरकै पर्खाइमा बसिरहेको !

महिनौं महिना बिते कि,
गर्मीले उखुम पारेको तनबाट पसिनाको धारा बग्दा
कहिलेकाहीँ पारी सुमेरु पर्वतबाट
चिसो पवनको झुप्पा आँगनसम्मै आउदा
हजुर नै आउनु भो कि भनेर दिलको ढोका उघारी
बलेसीमा कुरिरहेको !

हेर्नू !
तपाई विदेशिएदेखि
यो मनमा शान्ती कहाँ छ र प्रिय !
गाउँ घरमा बेला-बेला आउने
धागोले बाधेका चिट्ठीहरु देख्दा,
बेचैनी हुन्छ यो मन !
बारीको डिलको खरिको ठूटोमा बसेर
कालो काग कराउदा पनि,
आफैं-आफैं ढ्याङ्ग्रो जसरी ठोकिन्छ यो मुटु !
र लाग्छ,
आँधीअघिको सन्नटाले मलाई डुबाइरहेछ
आँशुको समुद्रको किनारामा ।

मेरो राजा !
तपाई गएदेखि
फर्केर आउने पलहरुको गन्तीमा
कति रातहरु जाग्राम रहे, गनी साध्य छैन।
नानीमा तपाईंको फोटो सजाएर
रित्तो दिवारभित्र टोलाई रहदा
कति सिरानीहरु भिजेर सडे, भनी साध्य छैन।

मेरो प्राण!
उता अर्धनिद्रामा हजुरले सिरानी पल्टाउदा
रोज-रोज ऎठन हुने गर्छ यता मलाई !
ऊ  त्यो मरुभूमिमा हजुरका पसिना चुहिदा,
हर पल आँशुले भिजाउने गर्छन् निथ्रुक्कै मलाई!
अग्ला-अग्ला कम्प्लेक्सको सुरक्षार्थ हातमा बन्दुक उचाल्दा,
यता तालिवानको बम पड्किन्छ ड्याङ्ग ड्याङ्ग !
साँच्ची मेरो ज्यान!!
हजुरबिनाको यो सन्नटामा
माथी हिउँचुलिबाट आउने हावा पनि चिसो लाग्दैन मलाई !
अह! कत्ति पनि,
हजुर बिनाका रातहरु आफ्नो लाग्दै लाग्दैनन कहिल्यै !
तपाईंको छाँया यो आँखामा नाचीरहदा,,
अलमारिको ऎनामा हेर्छु र अधरले बेस्सरी चुम्छु त्यो ऎनालाई।

साँच्ची राजा!
अस्ति तिजको अघिल्लो दिन
तपाईंले पठाईदिएको मायाको सौगात बुझ्न काठमाडौं झरे।
रातो सुटकेस भित्र रङ्गी बिरङ्गी बिरङ्गनाहरु,
ठूलो जेटबाट एयरपोर्ट आउँदा
एयरपोर्टको गेटैमा गम्ल्याङ्ग अङ्गालो हाले।
सायद मैले भुलेछु कि,
त्यो त पसिनासँग साटेर मेरो लागि
हजुरले पठाएको नासो मात्रै हो,
फेरि देखे-
केही पर त्यही जेटबाट आएको काठको बाकस
र, वरिपरि झुम्मिएका केही विह्वलित मान्छेहरु !
त्यो बाकसको काठले रातो साडी जलाएको देखे,
सिमृकलाई मेटेको भेटे

मलाई रहर छैन मेरो धडकन !
कि,अझै पनि मुटुलाई कुनामा राखेर,
हर प्रहर छट्पटाउन।
मलाई धोको छैन कि, बगरमा  पसिनाले सिंचाइ गरेर
बोटमा लटरम्म  फलेको हिराको माला लाउन !

त्यसैले राजा,,
बरु छिट्टै आउनुस !
मैले भुलेकी छैन आफ्नो धर्म,
मैले च्यातेकी छैन हजुरको त्यो पत्र,
म गाउँमा एक्लि हुँदा दुनियाँले खुर्पा हान्न खोज्दा पनि
मैले ढालेकी छैन त्यो बिश्वासको धरहरा!
किनकि प्रिय!
लाखौं लाखको तातीमा हजुर मन जितेर लिनु भो,
मन मात्रै कहाँ हो र ?
मन भित्र धड्किरहने त्यो मुटु अनि
त्यहाँबाट बहने रक्तसञ्चार, सबै सबै हजुरले नै त लानु भो।
तपाईंको बिश्वास र प्रेमको जगमा बनेको यो घर,,
बरु रातो माटोले पोतेर सिम्रीक सजाउला
दुबै जना सँगै आलिङ्गनमा रहेर।

त्यसैले मेरो राजा !
प्लिज छिट्टै आउनुस,
हजुर बिनाका यी काला रातहरुले ऎठन पारिदिन्छन मलाई,,
हजुर नहुँदा यी दिवारहरुले लाज लाग्ने गरि हेर्न खोज्छन मलाई
प्लिज फर्केर छिट्टै आउनुस !
र एकहोरो हेर्ने यी भित्ताहरुमा पर्दा लगाईदिनुस्।
प्यारको ब्याकुल यो हृदयमा,
स्नेहको डोरीले बाधेर राख्नुस कि,
जुनि जुनि हजुरलाई कसैले खोस्ने छैन अब म बाट।
हर रोज सँग सँगै रहेर ,,
यी अन्धा दिवारहरुमा पर्दा राखौंला
र राखौंला त्यसमाथी रङ्गिन क्यानभास,
जहाँ हजुर र मेरो प्यारको बिम्ब कोरौला,
कहिल्यै नमेटिने गरि !