१३साउन, रोल्पा । करिब दश वर्ष पहिले भारतको विभिन्न ठाउँको स्याउ बगैँचामा काम गरेका सुनछहरी गाउँपालिका–४ स्युरी घोगाका नन्दबहादुर घर्तिले त्यहाँको स्याउ आफ्नै गाउँमा पनि परीक्षणको रुपमा लगाउने सोच बनाए ।
त्यहाँ सिकेको अनुभवलाई आफ्नै ठाउँमा पनि प्रयोग गरी स्याउ उत्पादन गर्ने सोचका साथ सुरु गरेको उनको स्याउ खेतीले अहिले उत्पादन दिन थालेपछी उनी डङ्ग छन् । भारतबाट केही बोट स्याउका बिरुवा लिएर बारीमा लगाएको केही वर्षमै उत्पादन दिन थालेपछी उनले स्याउको व्यावसायिक खेती विस्तार गर्न थालेका छन् ।
उनको बारीमा अहिले प्रसस्त मात्रामा स्याउका बिरुवाहरू रहेका छन् । बारीमा करिब सयको हाराहारीमा बिरुवाहरू रहेको उनले बताए । केही बिरुवाले उत्पादन दिएका छन् भने केही उत्पादन दिने तयारीमा छ । पूर्वी रोल्पाको व्यापारिक केन्द्र सुलिचौर बजारको नजिकैको दूरीमा पर्ने यस ठाउँमा स्याउले उत्पादन दिन सुरु गरेसँगै ग्राहकहरू बारीमै पुगेर स्याउ किन्ने गर्दछन् । स्याउ खेतीका लागि रोल्पाका विभिन्न भूभागमा उपयुक्त हावापानी भएपनि आवश्यक प्राविधिक ज्ञान र आधुनिक प्रविधि सम्बन्धी ज्ञानको अभावले यसको व्यवसायिक खेतीलाई बढाउन सकेका छैनन् ।
रोल्पाका किसानले देशका विभिन्न भूभाग तथा भारतका स्याउ बगैँचामा काम गरेको अनुभवलाई लिएर देशमै खेती गरेर आम्दानी गर्न थालेका छन् । कुनै परीक्षण तथा प्राविधिक सहयोग बिनानै नन्दरामले स्याउ फलाएका हुन । नन्दराम अहिले पनि स्याउ उत्पादनको सिजनमा भारतमा स्याउ बगैँचामा काम गर्न जाने गरेको बताउँछन् । प्राविधिक सहयोग र आधुनिक प्रविधिको प्रयोग गरी यसको खेती विस्तार गर्न सके उत्पादनमा वृद्धि हुने प्रचुर सम्भावना रहेको छ ।
केही वर्षअघि बारीमा लगाएको स्याउले उत्पादन दिन थालेपछी नन्दबहादुर खुशी देखिन्छन् । लामो समयदेखि बोटको स्याहारसुसार, गोडमेल गर्दै हुर्काएको बोटमा लटरम्म स्याउ फल्न थालेपछी मेहेनतको फल प्राप्त भएको उनी बताउँछन् । ‘स्याउ फल्न थालेको चार पाँच वर्ष भयो रोपेको २–३ वर्षमै उत्पादन दिन सुरु ग¥यो’, उनले भने ‘बेलाबेलामा बोटमा गोडमेल र स्याहारसुसार गरिरहनुपर्ने हुन्छ, यसमा प्राङ्गारिक मलको मात्र प्रयोग गरेका छौँ, फलमा पनि कुनै विषादी राखेका छैनौ ।’
म सिँचाइको लागि पानीको व्यवस्था नहुँदा खडेरीको समयमा बिरुवामा बोकेर पानी राख्नुपर्ने बाध्यता रहेको उनले बताए । स्याउ रोपेको केही वर्षमै उत्पादन दिन सुरु गरेको र राम्रो आम्दानी हुन थालेपछी उनले खेतीलाई थप विस्तार गर्दै लगेका छन् । बारीको अन्य भागमा पनि उनले यसको खेतीलाई क्रमस बढाउदै लगेको उनले बताए । हाल ६० भन्दा बढी बोटले राम्रो फल दिइरहेको उनी बताउँछन् । स्याउ राम्रो र स्वादिष्ट भएको ग्राहकहरू बताउँछन् ।
अघिल्लो वर्षको सिजनमा ४०–५० हजार बराबरको आम्दानी भएकोमा अहिले भने उत्पादनमा समेत वृद्धि भएकाले आम्दानी बढ्ने उनको अनुमान छ । स्याउको बजारको लागि भने खासै समस्या नभएको उनले बताए । ‘व्यापारको लागि खासै समस्या छैन’, उनले भने ‘ग्राहकहरु बारीमै आएर पनि लैजाने गरेका छन् । साथै अर्डर ९माग० पनि आउने गर्दछ’ । उत्पादन राम्रो दिने सम्भावना देखेपछि यसलाई बढाउदै लैजाले सोच बनाएको उनले बताए । प्रतिकेजी पाँच सयका दरले स्याउ विक्रि भैरहेको उनी बताउँछन् ।
जिल्लामा पछिल्लो समय स्याउ खेती गर्ने किसानको संख्यामा पनि वृद्धि हुँदै गएको छ । जिल्लाको थबाङ, गंगादेव, सुनछहरी गाउँपालिकाका विभिन्न भूभागका किसानहरूले यसको पछिल्लो समय व्यवसायिक खेती विस्तार गर्न सुरु गरेका छन् ।
देशमा रोजगारीको अभावमा दैनिकी रुपमा हजारौको संख्यामा विदेश पलायनको अवस्थालाई न्यूनीकरण गर्नको लागि सरकारले युवालाई कृषि क्षेत्रमा प्रोत्साहण गर्ने कार्यक्रम ल्याउन आवश्यक छ ।
कृषिलाई आधुनिक प्रविधिसँग जोड्दै प्राविधिक सहयोगको व्यवस्था गर्न सके किसानलाई धेरै राहत हुने थियो । किसानहरुले परम्परागत प्रविधिकै प्रयोग गरी उत्पादन गरिरहेका कारण पनि उत्पादनमा वृद्धि गर्न नसकिएको देखिन्छ ।


