१९ साउन, रोल्पा । पूर्वी रोल्पाको सुनछहरी गाउँपालिका–१ घुस्बाङ खोलाको झोलुङ्गे पुल जीर्ण बन्दा स्थानीयलाई दैनिक आवतजावत गर्न कठिनाइ हुनेगरेको छ ।
बर्सातको समय । उर्लंदो खोला । कुहिएर झर्न बाँकी काठका फल्याक सहित आफै चुँडिएला झै लाग्ने झुलुङ्गे पुल हुँदै १ नम्बर वडावासी असुरक्षित यात्रा गर्न बाध्य छन् । सुनछहरी गाउँपालिकाको केन्द्र पोबाङ जोड्ने पुल वर्षौं अघि निर्माण गरिएको थियो । सम्बन्धित निकायबाट मर्मत नहुँदा पुलमा बिच्छाइएका काठका फल्याक कुहिएर झर्न थालेका छन् । ठाउँठाउँमा जाली चुँडिएका छन् । जोखिमलाई न्यून गर्न स्थानीयले बेलाबेलामा पुलको मर्मत गर्दै आएका छन् । कुनैपनि निकायबाट बजेट नआउँदा गाउँलेले नै मर्मत गर्नु परेको छ ।
घुस्बाङलाई जोड्ने एकमात्र विकल्पका रुपमा रहेको पुल मर्मत नहुँदा स्थानीयले मात्र होईन, पालिकाको केन्द्र तथा बजार आउजाउ गर्ने सरकारी तथा गैरसरकारी निकायका कर्मचारीहरूले समेत कष्ट भोग्नु परेको छ ।
पुल जीर्ण भएकाले वारपार गर्न जोखिमपूर्ण हुने गरेको स्थानीय एवं बुद्धिजीवी पुस्तमन घर्तीमगर बताउँछन् । पुलको अवस्थाको बारेमा स्थानीय जनप्रतिनिधिलाई जानकारी गराए पनि मर्मतको लागि ध्यान नदिएको घर्तीमगरको गुनासो छ ।
वर्षाको समय भएकाले खोलाको वेग धेरै बढेको स्थानीय बताउँछन् । हिउँदको समय जस्तो खोला तर्ने सम्भावना छैन । पुलको मर्मत सम्भार नहुँदा छिमेकीगाउँ पुग्न र स्याउला सोत्तर लिएर आवतजावत गर्न समेत कठिनाइ हुँदै आएको छ । यस क्षेत्रमा रहेको लघु जलविद्युतका कर्मचारीलाई पनि सास्ती हुने गरेको छ ।
ज्येष्ठ नागरिक, विद्यार्थी, बालबालिका, अपांग र अशक्तलाई पुल वारपार गर्न झनै कठिन हुने गरेको छ । घुस्बाङ गाउँ सुनछहरी गाउँपालिकाको केन्द्रदेखि नजिकैको रहेपनि विकासको दृष्टिकोणले कर्णाली जस्तै पछाडि पारिएको स्थानीको आरोप छ । यस क्षेत्रको फलबाङ, खेरबाङ, सज्जर र घुस्बाङ लगायतका वस्ती हालसम्म पनि सडक सञ्जालको पहुँच बाहिर छन् । बर्सातको समयमा कुनै महामारी फैलिएमा बिरामीलाई स्वास्थ्य संस्थासम्म पु¥याउन कठिन हुन्छ ।
मर्मतका लागि विभिन्न निकायसँग आग्रह गर्दापनि सुनुवाइ नभएपछि केही दिनअघि स्थानीय आफैले श्रमदान गरी पुलको मर्मत गरेका छन् । गाउँलेले घरघरबाट काठका टुक्राटुक्री, फल्याक, भाटा लिएर मर्मत गरेको स्थानीय एवं बुद्धिजीवी घर्तीमगरले जनाएका छन् ।
सुनछहरी गाउँपालिका–१ का वडा अध्यक्ष धनिमन रोकाले भने फलबाङ खोला र धुरी खोलामा झोलुङ्गे पुल निर्माणका लागि डीपीआर भैसकेको जनाए । वडा अध्यक्ष रोकाका अनुसार काम पनि छिटै सुरु हुनेछ । नयाँ पुल नबन्दासम्म भने गाउँलेले जीर्ण झोलुङ्गे पुलबाटै आवतजावत गर्नुपर्ने भएको छ ।