नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पाको स्थापना २०६१ साल पुस १४ गते भयो । रोल्पा जिल्लाबाट त्यतिबेलासम्म रेडियो तथा पत्रपत्रिकाहरु स्थापना तथा प्रकाशन भैसकेका थिएनन् । राजधानीबाट निस्कने तथा मोफसलका अन्य जिल्लाहरुबाट निस्कने पत्रपत्रिका तथा प्रशारण हुने रेडियोमा काम गर्ने १६ जना पत्रकारहरुको भेलाले नेपाल पत्रकार महासंघ जिल्ला तदर्थ समिति रोल्पा गठन गर्नपुग्यो ।
२०६१ साल पुस १४ गते आइतबार विभिन्न संचार माध्यममा क्रियाशील १६ जना पत्रकारहरुको भेला सम्पन्न भएको थियो । कान्तिपुर दैनिकमा कार्यरत पत्रकार काशीराम डाँगीको सभापतित्वमा जिल्ला शाखा गठन गर्ने निर्णय भयो । पहिलो भेला आयोजना हुँदासम्म काशीराम डाँगीले मात्र नेपाल पत्रकार महासंघको सदस्यता प्राप्त गरेको देखिन्छ ।
उहाँले महासंघको दाङ शाखाबाट सदस्यता प्राप्त गर्नु भएको थियो । महासंघको विधान अनुसार जिल्ला शाखाको मान्यता प्राप्त गर्नका लागि कम्तीमा १५ जना सदस्य रहनु पर्ने भए पनि सो संख्या २०६२ साल मंसिर १६ मा मात्र पुग्न सक्यो । यसरी विधान अनुसार संख्या पुगेपछि २०६२ साल मंसिर १६ गते नेपाल पत्रकार महासंघ जिल्ला शाखा मान्यता प्राप्त गरी वैधानिक शाखाको रुपमा जिल्ला शाखा स्थापित हुन पुग्यो ।
नेपाल पत्रकार महासंघ रोल्पाले स्थापनाको १५ वर्ष पार गरि सक्दा देशका अन्य शाखाको तुलना र नेपाल पत्रकार महासंघ केन्द्रीय समितिकै तुलनामा निकै शैशव शाखा भए पनि १५ वर्ष एउटा जीवन्त संस्थाका लागि सामान्य समय होइन । स्थापनाको गर्भमा रहदा सशस्त्र द्धन्दको निर्मम चपेटा व्यहोर्न पुगेको शाखाले २०६२÷०६३ को जनआन्दोलनमा खेलेको भूमिकाले जिल्लामा छोटै समयमा स्थापित नागरिक समाजको स्वीकार्यता प्राप्त गर्यो । सशस्त्रयुद्ध शान्ति प्रकृयामा रुपान्तरण भएसँगै आएको सहजताले नेपाल पत्रकार महासंघ रोल्पालाई थप फष्टाउन मद्धत गर्यो ।
स्थापनाको १५ वर्ष पार गर्दै गर्दा नेपाल पत्रकार महासंघको सदस्यता लिनेहरुको आकर्षण पनि बढ्दै गयो । फलस्वरुप सयौँ पत्रकारहरु महासंघको सदस्य बने । पेशा गर्दा मात्रै सो संस्थाको सदस्य हुने पेशा परिवर्तन गरे वा अन्य कारणले पत्रकारितामा सक्रिय नभए सदस्यता समाप्ती हुने नेपाल पत्रकार महासंघको विधानको व्यवस्था अनुरुप पछिल्लो पटक यसको सदस्यता नविकरण गर्नेको संख्या ६२ पुगेको छ । तोकिएको समयमा विविध कारणबस सूचना नपाएका एकाध बाहेक अन्य सबै पत्रकारहरुले सदस्यता नविकरण गरिसकेका छन् ।
यस आलेखमा २०७६ सालसम्म सदस्यता नविकरण गरिसकेका पत्रकारहरुको शब्दचित्र उतार्णे प्रयास गरिएको छ ।
नेपाल पत्रकार महासंघको पछिल्लो संशोधित विधानले “पत्रकार” भन्नाले छापा, प्रसारण तथा अनलाइन जस्ता कुनै पनि प्रकृतिका आमसञ्चारका माध्यमसँग आवद्ध यस विधानबमोजिम तोकिएको योग्यता पुगेको समाचार संकलन, उत्पादन, सम्पादन, सम्प्रेषण, समाचार लेखन÷पुनर्लेखन गर्ने कार्यका साथै नियमित स्तम्भ लेखक, कार्टुनिष्ट, फोटो पत्रकार, प्रेस क्यामरा पर्सन, समाचार तथा समाचार मूलक कार्यक्रम निर्माता तथा सञ्चालक, समीक्षक, साजसज्जा, स्केच, भाषा तथा श्रब्य दृश्य सम्पादक एवं स्वतन्त्र पत्रकार समेतलाई जनाउँछ भनेर परिभाषित गरेको छ ।
यसैगरि “आमसञ्चारमाध्यम” भन्नाले देशभरिमा सञ्चालित पत्रपत्रिका, रेडियो, टेलिभिजन, समाचार एजेन्सी र समाचार तथा समाचार मूलक कार्यक्रम उत्पादन तथा अनलाइन सेवा जस्ता आमसञ्चारका माध्यम समेतलाई जनाउँछ भनिएको छ ।
सो परिभाषा अनुसार रोल्पा महासंघमा आवद्ध भई नियमित नविकरण गरेका ६२ जना पत्रकारहरुको अवस्था विश्लेषण गरिएको छ ।
१) लैंगिक अवस्था
सामाजिक समावेशीकरणको मुद्दा लामो समयदेखि उठाउँदै आएको नेपालको सञ्चार जगतले समाजको विविधता, सामाजिक बहिष्करण तथा शक्ति सम्बन्धको बारेमा समेत कुरा उठाउँदै आएको छ । कतिपय प्रसङ्गमा मिडियाकै कारण संरचनाहरूमा फेरबदल भएका समाचारहरू पनि नसुनिएको होइन । पत्रकारिता एक सशक्त पेशा हो । अलि चुनौतीपूर्ण र अप्ठ्यारो पेशा भएका कारण मान्छेहरू हत्तपत्त यो पेशामा आवद्ध हुन मान्दैनन् ।
यसैले होला पत्रकारितामा सामाजिक समावेशीकरणको मुद्दाले अलिक पछाडि प्रवेश पाएको । नेपाल पत्रकार महासंघ जिल्ला शाखा रोल्पामा आवद्ध भई २०७६ साल सम्म नियमित नविकरण गरेका ६२ जना सदस्य मध्ये १४ जना महिला छन् । पुरुषको संख्या ४८ जना छ । पत्रकार महिलाको यो संख्या जिल्लाको कुल पत्रकारको संख्याको झण्डै २३ प्रतिशत मात्रै हो । नविकरण गरेका पत्रकार महिला मध्ये १ जना सम्पादक, २ जना समाचार सम्पादक, १ जना समाचार वाचक, २ जना प्रेस प्रतिनिधि र ८ जना सम्वाददाता पदमा कार्यरत रहेका छन् । जसमध्ये ११ जना करार र ३ जना अस्थायी सेवमा रहेका छन् । कृयाशील पत्रकार महिला मध्ये ९ जना रेडियो र ५ जना पत्रिकामा कार्यरत रहेका छन् । कृयशील सबै पत्रकार महिलाहरु स्थानीय संचारमाध्यममा कार्यरत रहेको देखिएको छ ।
२. शैक्षिक अवस्था
महासंघका ६२ सदस्य मध्ये ६ जनाको एसएलसी वा सो सरहको योग्यता देखिएको छ । यसैगरि प्रविणता प्रमाण पत्र वा सो सरह योग्यता भएका पत्रकारको संख्या १८ जना रहेको छ । स्नातक वा सो सरह योग्यता हुनेहरुको संख्या २० जना छ । स्नातकोत्तर वा सो सरह योग्यता भएका पत्रकारको संख्या १२ जना रहेका छन् । सदस्यता नविकरण आवेदन फाराममा शैक्षिक योग्यता उल्लेख नगर्ने पत्रकारको संख्या ६ देखिएको छ ।
नेपाल पत्रकार महासंघको संशोधित विधान बोजिम देहायका व्यक्तिहरू महासंघको सदस्य हुन योग्य हुनेछन् भनि उल्लेख गरिएको छ । जसअनुसार (क) पत्रकारिता वा अरू कुनै विषयमा स्नातक उत्तीर्ण गरी एक वर्षदेखि पत्रकारिता पेशामा लागेको व्यक्ति । (ख) पत्रकारिता वा अन्य कुनै विषयमा उच्चमाध्यमिक तह वा सो सरह उत्तीर्ण गरी दुई वर्षदेखि पत्रकारिता पेशामा लागेको व्यक्ति । तर, महिला, आदिवासी जनजाति, दलित, मधेशी, थारू, मुस्लिम, अपाङ्गता वा अन्य पहिचान भएका व्यक्ति र अल्पसंख्यक, उत्पीडित वा पिछडिएको क्षेत्र र कर्णालीका हकमा एक वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील भए पुग्नेछ । (ग) यो संशोधित विधान लागू हुनुभन्दा अगाडि महासंघको सदस्य रहेका व्यक्तिहरु भनि उल्लेख गरिएको छ ।
३.उमेरगत अवस्था
महासंघको सदस्यहरुमा उमेरगत विविधता पाईन्छ । २० देखी ३० वर्ष उमेर समुहमा रहेका पत्रकारको संख्या १७ जना रहेको छ । ३१ देखी ४० वर्ष उमेर समुहका ३० जना पत्रकार कृयाशीलरहेका छन् । यसैगरि ४१ देखी ५० वर्ष उमेर समुहका पत्रकारको संख्या ९ छ, भने २ जना पत्रकार ५१ वर्षमाथिका छन् । सदस्यता नविकरण आवेदन फारममा ४ जना पत्रकारले आफ्नो उमेर उल्लेख गरेका छैनन ।
उमेरगत रुपमा ठूलो समुहको रुपमा ३१ देखी ४० वर्ष उमेर समूहका पत्रकारहरु रहेका छन् । यो समूहका पत्रकारहरुको संख्या ३० जना छ, जुनसंख्या नेपाल पत्रकार महासंघ रोल्पाका कुल सदस्य संख्याको झण्डै आधा–आधि हो । महासंघको सदस्य हुन १८ वर्ष पुगेको नेपाली नागरिक हुनुपर्नेछ विधानको व्यवस्था भएकाले २० वर्ष भन्दा कम उमेरका पत्रकारहरुले नेपाल पत्रकार महासंघको सदस्यताका लागी आवेदन दिएका देखिदैन ।
४. मिडिया
महासंघका सदस्यहरु मध्ये ४ जना टेलिभिजनमा कार्यरत रहेको देखिएको छ । यसैगरि छापा माध्यममा कार्यरत पत्रकार २६ जनारहेका छन । रेडियोमा कार्यरत पत्रकारहरु २९ जना रहेका छन । १ जना सदस्य अनलाईनमा कार्यरत रहेको देखिएको छ । ४ जना पत्रकारले आफु कार्यरत रहेको संचार माध्यम उल्लेख गरेका छैनन । आवेदन फारममा एकल उत्तर दिएपनि अधिकांश पत्रकारहरु बहुमिडियामा कार्यरत रहेको देखिन्छ । रेडियो र अनलाईन, छापा र अनलाईन तथा टेलिभिजन र अनलाईनमा कार्यरतरहेको पत्रकारकोसंख्या ठूलै देखिन्छ ।
सदस्यता नविकरण गरेका मध्ये ४८ जना पत्रकारहरु स्थानीय संचार माध्यमहरुमा कार्यरत रहेको देखिएको छ । यसैगरि १३ जना राष्ट्रिय स्तरका संचार माध्यममा कार्यरत रहेका छन् । स्तम्भकारको रुपमा १ जना पत्रकारले राष्ट्रिय र स्थानीय संचार माध्यमहरुमा स्तम्भ लेखनमा सक्रिय रहेको देखिएको छ ।
महासंघका सदस्य मध्ये २४ जना सम्वाददाताको रुपमा कार्यरत रहेका छन् । यसैगरि ५ जना समाचार वाचक,४÷४ जना सम्पादक र प्रेस प्रतिनिधि पदमा कार्यरत छन् । स्टेशन म्यानेजरको रुपमा कार्यरतको संख्या ३ रहेको छ । कार्यकारी सम्पादक र समाचार सम्पादक पदमा २÷२ जना कार्यरत छन् । बरिष्ट सम्वाददाता, उप–सम्पादक, सह–सम्पादक, प्रबन्ध सम्पादक, प्रमुख समाचारदाता, साजसज्जा, ध्वनि–सम्पादक र स्तम्भकारको संख्या १÷१ जना छ । १० जना सदस्यले भने आफ्नो पद उल्लेख गरेका छैनन् ।
महासंघका सदस्य मध्ये ३५ जना करार सेवामा कार्यरत रहेको देखिएको छ । यसैगरि १३ जना अस्थायी ७ जना स्थायी, अन्य ४ र नखुलेका ३ जना रहेका छन् । संचार माध्यममा स्थायीत्व मुख्यसमस्या भएपनि जिल्लामा ७ जना पत्रकार स्थायी सेवामा रहेका छन् । राष्ट्रिय संचार माध्यममा कार्यरत २ र स्थानीय संचार माध्यममा ५ गरि ७ जना स्थायी सेवाको रुपमा कार्यरत रहेका छन् ।
निश्कर्षः आलेखको निश्कर्ष दिने काम लेखकको नभई पाठकको भएकाले योजिम्मेवारी पाठकलाई छोडिएको छ ।
(लेखकः नेपाल पत्रकार महासंघ रोल्पाका अध्यक्ष हुन् )