शासकहरू किन जवाफदेही हुँदैनन् ? 

रोल्पाको भूमिबाट नेपालभरी फैलिएको माओवादी हिंसा राज्यको प्रतिहिंसाको मलजल प्राप्त गर्दै नेपाल भरी १० वर्षमा व्यापकता पायो । राज्य विरुद्धको बलियो शक्तिको रुपमा स्थापित भएपछि देश बाहिरका शक्तिले समेत स्वार्थ प्राप्तका लागि मलजल गर्दै उपयोग गर्न थालियो । 

राज्य दरबार हत्याकाण्डपछि थप कमजोर बन्न पुग्यो । २०३२ सालमा सिक्किमका राज चोग्याललाई निम्ता गरेर अपमान गरेको २६ वर्षपछि राजा बिरेन्द्रको वंशनाश भयो । शासकहरू देशका नागरिक भन्दा पर पुगेर अनुचित लाभका लागि ओत खोज्ने र जनताप्रति जवाफदेही नहुँदा अप्रिय र दुःखान्त अन्त्य हुन पुग्दछ ।

त्यसैगरी नेपालमा २०६३ सालपछि स्थापित भएका शक्तिहरूका बीचमा उचित खालको तालमेल र राजनीतिक सौदाबाजी नहुँदा देशले दुःख पाउने अवस्था सिर्जना भएको छ । जनताका लागि रुचिकरका विषय नभएका मुद्दामा राजनीतिक लेनादेना भएको देखिन्छ ।

जनतालाई नवीन प्रकारको सपना देखाएर स्थापित भएको माओवादी शान्ति प्रकृयाका गहिरो घाउमा राज्यले मलम नलगाउँदै जनताबाट अस्वीकृत हुने अवस्थामा पुगेको छ । शान्ति प्रक्रियापछि ६ महिना भित्र  द्वन्द्व व्यवस्थापन सम्पन्न  गर्ने बाचा गरेका कार्यहरू पटकपटक नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी सत्तामा पुग्दा समेत सम्पन्न हुन सकिरहेको छैन ।

नेपालमा कोत पर्वदेखि सत्ताका लागि हिंसा गर्ने र हिंसाको ताज पहिरिएर नै सत्तामा बस्ने अनि शक्तिको दुःखान्त अन्त्य नेपालले सयौँ वर्षदेखि भोग्दै आएको छ । तर आजको विश्व जगतमा यस प्रकारको कार्यको उन्मुक्ति पाउने अवस्था देखिदैन । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन आकर्षित हुन सक्छन् ।

फेरी देशमा नयाँ परिस्थिति सृजना हुन थालेको छ । आजको दिनमा भिड विस्तारै नेताको हातबाट फुत्कने अवस्थामा पुग्दै छ । २०६३ सालमा जनताको  आक्रोश र भिड् नेता वा  पार्टीको नियन्त्रणमा थियो । आजको दिनमा नेताहरूले नेपालीमाथि दिएको बाचा र सपना पुरा भएन भने ती अधुरा सपना बोकेका जनताले आक्रोश र पीडा पोख्न थालेका छन् । यी जनताले जन आक्रोसलाई सम्बोधन गर्ने वा दबाउने अवस्था आउन नदिनका लागि वर्तमान सत्ता तयार हुन्छ वा हुँदैन । त्यसैमा निर्भर हुने अवस्था  छ । 

नेपालको राजनीति परिदृश्यमा कालो  बादल मदारिने अवस्थामा पुगेको छ । नेपालको राजनीति र भू–राजनीतिमा विदेशी चासो र चिन्ता त्यतिकै मात्रामा बढेको छ । देशलाई उचित गति दिन बलियो कुटनीति आवश्यक छ । तर तीनचार दिनको लागि विदेश भ्रमण जाने तर महिनौ दिन हप्तौदिन बस्ते शासकबाट नै फेरी देशमा खतरा बढ्न थाल्यो कि भन्ने प्रश्न चिन्ह खडा भएको छ ।

आजको दिनमा नेपाल जस्तो बहु आयामिक भूराजनीतिक महत्व बोकेको देशका लागि विदेशी शक्तिको चासो, प्रभाव नहुने कुरै भएन । हाम्रो देश जस्तो भू राजनीतिक सम्बन्ध भएका देशका शासकले अत्यन्त सजकताका साथ  कुटनीटिक सम्बन्ध स्थापित गर्न आवश्यक छ ।

एकातिर असफल कुटनीतिक सम्बन्ध अनि चुलिदो जनआक्रोशले असलता निम्त्याउने सम्भावना रहन्छ । राजनीतिक दलमात्रै असफल हुने होइन देशलाई नै असफल बनाउने सम्भावनाबाट टाढा राख्न आजको दिनमा नागरिक सजक हुन आवश्यक छ । 
नेपालका शासकहरू बेथितिको चगुलबाट बच्नका लागि नागरिकको माझमा पुग्ने र जनस्तरबाट उठेका तथ्यको निवारण र आशंकालाई मेटाउन आवश्यक छ ।

पटक पटक जनताको जनमतलाई समेत नेपालका मुख्य राजनीतिक दलले अपमान गरेको तथ्य जनताको  माझमा खुलस्त छ । जनताबाट पाँच वर्षका लागि मत माग्ने तर छ महिना वर्षदिनमा नै सत्ता फेरबदल गर्ने कार्यले शासकहरू वा राजनीतिक दलमामा जवाफदेहिता कमजोर बन्दै गएको छ । 

नेपालका नेतामा नैतिक हैसियत कमजोर भएको छ । चोकचौतारा र सार्वजनिक स्थानमा राजनीतिक दलका नेताप्रति जनताको एक प्रकारको पीडा व्यक्त हुन थालेको  छ । र आक्रोशको पीडाले सीमा नाघ्न थालेको छ । आजको दिनमा जनताको नजर कानुनी तथा नैतिक रुपमा दोषी करार भएका व्यक्तिहरू वा स्वार्थ समूह नेताको वरपर घुमिरहेको देखिन्छ साथै असली दाता बनेको समेत देख्न थालिएको छ। यो प्रकारको बेथितिको जालो नेता र पार्टीले फालेर सफेल अनुहार नेपाली जनताको सामु देखाउन सक्लान् भन्ने अहम प्रश्न खडा भएको छ । 

अबको दिनमा जनता सार्वभौम सत्ता सम्पन्न हुन् भन्ने मान्यता स्थापित गर्ने हो भने नेपालका स्थापित पार्टी र ती पार्टीका नेताबाट नै विश्वास दिलाउन आवश्यक छ । लोकतन्त्रमा भगवान भनेको जनतानै हुन । जनतालाई साँची राखेर गरिएका सबै बाचा पुरा गर्न आजको नेतृत्वबाट सम्भव छ । यो तयार छ । यो प्रश्न आम नेपालीमा व्याप्त रहेको छ । 

नेपालको पछिल्लो पटक घुमीफेरी सत्तामा बसिरहेका नेताले २०५० सालपछिको आन्दोलन र त्यो आन्दोलनले सिर्जना गरेको नेपालको राजतन्त्रको अन्त्यको उचित प्रकारको पुष्टि वा जवाफ नेपाली जनतलाई दिन सकिरहेका छैनन् । नेपाली जनताले नेताहरूको जवाफलाई समेत विश्वास गर्न सकिरहेका छैनन् । त्यसका पछाडि नेपाली पार्टी र तीनको नेताहरूले गर्दै आएको राजनीतिक निर्णय तीनको जीवन व्यवहार, सुशासन प्रतिको नेताको बचन र विश्वास वा नेता हिड्ने पारदर्शिता र सुशासनको समेत यात्रा गर्न तय नसक्नु नै हो । 

नेपाली जनतालाई आजको दिनमा विश्वको राजनीतिक परिदृश्य समेत देखेका र अनुभव तथा अनुभूति गर्नेको संख्या बढ्दै गएको छ । आजको दिनमा आइपुग्दा नेपाली जनता तुलनात्मक अध्ययन गर्न थालेका छन् तर जनताको चाहना अनुसार नेपाली शासकहरू जवाफदेही बन्न सकिरहेका छैनन् ।

आजको दिनमा सरकारको दैनिकी र सरकारका प्रतिनिधि कर्मचारी संयन्त्र पनि त्यतिकै मात्रामा  पारदर्शी, जवाफदेहिता र सुशासन युक्त हुन आवश्यक छ । जहाँसम्म शासक सुशासन, पारदर्शी र जवाफदेही भएर देश  र नागरिकका लागि कार्य गर्दछन् त्यसै अनुरुप नागरिकले राज्यका लागि योगदान दिन सक्छन् ।

प्रकाशित मिति : २०८१ कार्तिक २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस