अनुभव

सेवा प्रतिको मोहले बिरामीको सेवामा सँधै लाग्छु

डा. निरज घर्तिमगर

मैले आफ्नो छात्रवृत्ति तर्फको एमबिबिएस अध्ययन सकेर रोल्पा आएँ । सुरुमा प्राय दुर्गम नै पठाउने भन्ने हुन्छ । रोल्पा जिल्ला मेरो घर पनि भएको र एसएलसीसम्म यहीँ पढेको पनि भएको कारणले गर्दा रोल्पा नै जानुपर्छ भन्ने भयो । यो मेरो अवसर पनि हो भन्ने लाग्यो ।

अहिले स्थायी सेवामा प्रवेश गर्दैगर्दा यहीँ आउँछु काम गर्न भन्ने अवस्था पनि छैन् । हामीलाई देशैभरी सरकारले जहाँ खटायो त्यहाँ गएर सेवा गर्नुपर्ने हुन्छ । त्यो अवसर आउला वा नआउला भन्ने हिसाबले मैले छात्रवृत्ति पश्चात् नै करारको २ वर्ष रोल्पामै काम गर्ने भनेर आफ्नै जिल्ला छानेर आएँ ।

यहाँ बस्दै गर्दा, जिल्ला अस्पताल रेउघामा काम गर्दैगर्दा विभिन्न तहबाट अस्पतालकै सरहरुबाट होस् या कर्मचारीहरूबाट अथवा विभिन्न निकायबाट सहयोगका भावना पाएँ । सबैले मलाई जहिलै सहयोगी भावनाले हेर्नुभयो । काम गर्नेबेला कहिल्यै पनि अप्ठ्यारो वातावरण आउन दिनुभएन ।

हामीले काम गर्दैगर्दा खेरि कतिपय अवस्थामा धेरै ठाउँहरूमा सुनिरहेको हुन्छौ, दबाब दिने । थुप्रै ठाउँहरूमा अस्पतालमा उपचार राम्रो भएन भनेर आउने त्यस्ता खालका दबाबहरू झेल्नुपर्ने अवस्था धेरै ठाउँमा छन् । तर मैले काम गर्दैगर्दा रोल्पा अस्पतालमा कहिल्यै पनि त्यस्तो दवाव महसुस भएको अर्थात् गर्नैपर्छ भन्ने खालको नराम्रो परिस्थितिको सामना गर्नुपरेन । सबैले समन्वयकारी भूमिका निर्वाह गरेर धेरै सहयोग गर्नुभयो । त्यसको लागि म रोल्पा जिल्लावासी र सम्पूर्णप्रति आभारी छु ।

गत चैतमा भएको संघीय लोकसेवा आयोगको मेडिकल अफिसर आठौँ तहको प्रतियोगितामा छानिएर अहिले स्थायी सेवामा प्रवेश गरेको छु । हाम्रो रोल्पा जिल्लाकै बासिन्दाहरूलाई हेर्दाखेरी पनि लोकसेवा प्रति त्यति आकर्षण नभएको अवस्था छ । रोल्पामा डाक्टर नै बन्नुपर्छ भन्ने भएको जस्तो स्याङजातिर लोकसेवामा भिड्नुपर्छ, लोकसेवाबाट सरकारी सेवामा छिर्नुपर्छ भन्ने छ । तर हाम्रोमा त्यस्तो खालको स्कुलिङ पनि छैन् । जिल्लामै हे¥यो भने पनि लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने कोचिङ इन्स्टिच्युटहरू छैनन् । यहाँको मान्छेले पनि जिल्ला बाहिरै गएर तयारी गर्नुपर्ने अवस्था छ ।

मैले आफैले तयारी गर्दाखेरी पनि काठमाडौँ नै जानु प¥यो । डाक्टरहरुमा पनि एकदमै नैराश्यता छ । जुन सेवा सुविधा सरकारीले प्रदान गरेको छ, त्यसमा कोही पनि सन्तुष्ट नहुने खालको नै छ । त्यसले गर्दा समाचार पनि आइरहेको हुन्छ । अहिलेको अवस्थामा २६ सय दर्ता हुने बेला २३ सय जम्मा छ । त्यसमा पनि ३ सय मात्र यहीँ बस्न खोज्ने छ । त्यसले गर्दा लोकसेवा नै किन भन्ने पनि हुनसक्छ धेरैजसोलाई । म पहिल्यैदेखि नै यहीँ क्षेत्रमा आउने सोच बनाएँ । मेरो बुबा र आमा पनि सरकारी सेवा मै हुनुहुन्छ । बुबा स्थानीय तहमा अहिले पनि कार्यरत नै हुनुहुन्छ । आमा पनि शिक्षक सेवामा हुनुहुन्छ ।

त्यसले गर्दा मलाई सरकारी सेवा प्रतिको मोह पनि भयो । जे गर्नुपर्छ यहीँ नै गर्नुपर्दछ, विदेश जानुहुदैन् भन्ने भएकोले म लोकसेवा प्रति आकर्षित भएँ । सोही अनुसार आफ्नो तयारी गरे । जिल्लामै काम गर्दैगर्दा कतिपय अवस्थामा कस्तो हुँदो रहेछ भने हामीले आफ्नो कामलाई एकदम दत्तचित्त भएर लाग्यो र कामप्रति बफादार भएर लाग्यो भने कुनै न कुनै रुपमा फल दिदो रहेछ । यो मैले लोकसेवा आयोगको परीक्षामा भोगेँ ।

आफ्नो एमविविएसको पढाई पुरा गरेपश्चात् कतिपय त्यस्कै लागि तयारी गरेर बस्नुभएको पनि हुन्छ । मैले सेवा र तयारी सँगै लगेका थियो । मैले अरुभन्दा फरक के मात्र गरेको हो भनेपछि जुन हामीले दैनिक काम गर्ने बेलामा भेटाउने कुनै केस, विरामी वा नेपाल सरकारका कार्यक्रमहरु छन् भने त्यसलाई म आफै सहभागि हुने र त्यसको बारेमा अध्ययन पनि गर्ने गर्दथेँ ।
काम गर्नेबेलामा लोकसेवा भनेर गरेन् बिरामीको सेवा नै भनेर गरे । त्यसले मलाई लोकसेवामा प्रत्यक्ष रुपमा फलदियो ।

परीक्षाको प्रश्नहरु प्नि काम अनुसारकै भयो । जिल्ला अस्पतालमा देखेकै बिरामी आँखा अगाडि आउने जस्तो अवस्था रह्यो ।
कर्ममा विश्वास गर्ने कुरा अहिले मेरो परीक्षाले देखाइदिएको छ । त्यसकारण म अझै उत्साहित छु । भविष्यमा पनि म आफ्नो कर्मलाई अगाडि लैजाने छु भन्ने कुरामा प्रतिवद्ध छु ।

रोल्पा बसाईको क्रममा सत्प्रयास समूहसँगको सहकार्य गर्ने अवसर मिल्यो । विद्यार्थीसँग मैलो आफ्नो अनुभव सुनाउने र उत्प्रेरणा जगाउने काममा हिड्ने मौका पाएँ । त्यति सुन्दर प्लेटफर्म दिनु भएकोमा सत्प्रयास समूहप्रति आभारी छु । ( डा. नीरज घर्तीमगरले सत्प्रयास समूहले आयोजना गरेको कार्यक्रममा व्यक्त गरेको अनुभवको संपादित अंश)

प्रकाशित मिति : २०८२ भाद्र २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस