कविता :

हतारै हतारमा देश

 झोला बोकेर हतार हतार
अनुहारमा कालीको अन्धकार पोतेर
यसरी कहाँ जान खोजिरहेछ देश ?

इतिहासमा
वीर पुर्खाहरूले
छाती नपाउँथे हङकङ र सिङ्गापुरको भर्तीमा
दौडिन्थे भारतीय सेनाका लागि 
नसक्नेहरू जान्थे कालापहाड र सिमलातिर ।

आज
स्वयम् यो देश नै उठेर हिंडन खोजेजस्तो
के पर्‍यो मानिसहरूलाई 
आफ्नै गाउँमा बस्न खान नसक्ने गरी ?
 
आँखामा आँसु भरेर
थर्थराउँदा खुट्टाहरू उचालेर
यसरी कहाँ जान खोजिरहेछ देश ?

गाउँ मर्‍यो भने को जान्छ मलामी ?
गाउँ बाँच्यो भने को नाच्छ झ्याउरे?
जन्ती र मलामी नभएको गाउँ
कसरी गाउँ हुनसक्छ ?

बाढीले काटेको नदी किनारमा
उभिएको एक्लो एक्लो र नीरस रुखजस्तो
म उभिएको छु
कर्मविहीन आफ्नै दुई हत्केलाहरू हेर्दै।
 
यही देशको डिलमा उभिएर 
यतै खपत हुन चाहने म एक स्वप्निल नागरिक
सिङ्गो देश नै विदेश हिंडेको बेला 
के एउटा नागरिकले देशलाई फर्काउन सक्छ ?
000

प्रकाशित मिति : २०८३ असार २० गते शनिवार
प्रतिक्रिया दिनुहोस