गणतन्त्रका उपलब्धि इतिहासबाट मेटाउन सकिँदैन : दाहाल

१७असोज, काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्र स्थापनापछि मुलुकमा केही पनि नभएको भन्ने भाष्य इतिहास र तथ्यसँग मेल नखाने बताएका छन् ।

शनिबार काभ्रे जिल्ला एकता बैठकलाई सम्बोधन गर्दै दाहालले राजनीतिक परिवर्तनदेखि विकास निर्माणसम्म भएका उपलब्धिलाई इतिहासबाट मेटाएर नयाँ कथा बनाउन नसकिने बताएका हुन् ।

गणतन्त्र स्थापनापछि भएका उपलब्धिको वस्तुनिष्ठ समीक्षा गर्नुपर्नेमा जोड दिँदै उनले कमजोरी स्वीकार गर्दै उपलब्धिलाई तथ्यसहित जनतासामु प्रस्तुत गर्नुपर्ने बताए । ‘गणतन्त्र आएपछि केही पनि भएन भन्ने कुरा इतिहास र तथ्यसँग मेल खाँदैन । सामन्ती राजतन्त्रबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा देशलाई रूपान्तरण गर्ने राजनीतिक प्रक्रियामा हामीले महत्त्वपूर्ण भूमिका खेलेका छौँ,’ दाहालले भने ।

उनले आफ्नो नेतृत्वमा सरकारमा रहँदा भएका कामको पनि तथ्यका आधारमा मूल्याङ्कन गर्न आग्रह गरे । पहिलो कार्यकालमा शान्ति प्रक्रियालाई संस्थागत गर्ने, गणतन्त्रलाई व्यवहारमा कार्यान्वयन गर्ने र संविधान निर्माणको आधार तयार गर्ने महत्त्वपूर्ण राजनीतिक काम भएको उनको भनाइ थियो ।

उनले गत वर्ष भदौ २४ गतेको प्रतिगामी विध्वंसपछि देश सहज अवस्थामा अघि नबढेको बताए । ‘अहिलेसम्म आइपुग्दा देशलाई असाधारण सङ्कटतर्फ धकेल्ने दुष्प्रयासहरू भइरहेका छन्। यस्तो परिस्थितिमा त्यसका विरुद्ध तथा संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा हामीले अझ दृढतापूर्वक सङ्घर्ष गर्नुपर्ने अवस्था छ’ उनले भने ।

दाहालले आजको चुनौतीको सामना गर्न सच्चा कम्युनिस्ट शक्तिहरूबिच पार्टी एकता र संविधान तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिहरूबिच सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । ‘इतिहासका सबै अनुभवबाट शिक्षा लिँदै सत्य के हो भन्ने कुरा जनतालाई स्पष्ट रूपमा बुझाउनु आजको आवश्यकता हो’ दाहालले भने ।

दाहालले अन्तर्राष्ट्रिय सहकार्यलाई पनि थप विस्तार गर्नुपर्ने बताए । ‘नेपालको राष्ट्रिय हित, सार्वभौमिकता र विकासका लागि छिमेकी तथा मित्रराष्ट्रहरूसँगको सम्बन्धलाई सन्तुलित र प्रभावकारी ढङ्गले अघि बढाउँदै अन्तर्राष्ट्रिय पहललाई थप विस्तार गर्ने काम अहिले पनि भइरहेको छ’ उनले भने ।

आजको अर्को महत्त्वपूर्ण प्रश्न जनताको जीवनसँग जोडिएको बताउँदै महँगी, बेरोजगारी, भ्रष्टाचार, सुशासनको अभाव तथा गरिब, सुकुमबासी , मजदुर र आधारभूत वर्गका समस्यालाई केन्द्रमा राखेर जनताका मुद्दा उठाउनुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति : २०८३ असोज १७ गते शनिवार
प्रतिक्रिया दिनुहोस