७ कार्तिक, रोल्पा । संयुक्त फूलबारी युवा समूह सुनछहरी-४ घोगा झिन्जा रोल्पाको आठौँ वार्षिकोत्सव बिहीबारदेखि सुरु भएको छ। कार्तिक ६ गतेदेखि १० गतेसम्म सञ्चालन हुने वार्षिकोत्सवमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ।
वार्षिकोत्सवको उद्घाटन सुनछहरी गाउँपालिकाका अध्यक्ष धनबहादुर पुन मगरको प्रमुख आतिथ्यता र वडा नं. ४ का वडाध्यक्ष हर्कराम बुढामगरको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो। समूहका अध्यक्ष हेमप्रसाद गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन सचिव रुबिन चुनाराले गरेका थिए।
कार्यक्रममा समूहका सल्लाहकार मनलाल चुनाराले स्वागत मन्तव्य दिएका थिए भने सल्लाहकार संयोजक एल. बी. मगरले धन्यवादसहित शुभकामना मन्तव्य राखेका थिए। उद्घाटन समारोहमा सिउरी पञ्चेबाजा समूहले सांस्कृतिक प्रस्तुति दिएको थियो। फूलबारी स्वास्थ्य आमा समूह, घोगा र देउराली स्वास्थ्य आमा समूह, झिन्जाले अतिथिहरूको स्वागत गरेका थिए।
उद्घाटन समारोहको अन्त्यमा संयुक्त फूलबारी युवा समूह र सुनवेशी युवा समूह, सिउरीबीच मैत्रीपूर्ण खेल भएको थियो। खेलका लागि अतिथिहरूले ७ हजार रुपैयाँ प्रायोजन गरेका थिए। उक्त खेलमा आयोजक संयुक्त फूलबारी युवा समूह विजयी भएको थियो।
वार्षिकोत्सवले स्थानीय युवाबीच आपसी एकता, सद्भाव र सहकार्य बढाउनुका साथै खेलकुद तथा संस्कृतिको प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।


