निर्वाचनको माहोल एकाएक तातिएको छ। अब भोट हाल्न चार दिन मात्रै बाँकी छ। दल र दलालहरू मतदाताको घर-आँगन चहारिरहेका छन्। तल्लो दरबारको नयाँ ‘सिंह’ बन्न साढे चार वर्षपछि मतदाता खोज्दै घरदैलोमा पुगेका छन्, उम्मेदवार–समर्थक।

अघिल्लो निर्वाचनपछि हराएका जनप्रतिनिधि तथा उम्मेदवारहरू गाउँ–ठाउँमा पस्दा नागरिक अलमलमा छन्। जनगुनासो छ, ‘जितेका त आएनन्, आएनन्! तर हारेका पनि लामो समयसम्म कतै देखिएनन्। बल्ल पो झुल्किन थाले त! ’ यद्यपि, गाउँको माया लागे झैं गरी लचकदार बनेर मतदाताको सहानुभूति बटुल्न उनीहरू अभ्यस्त नै देखिन्छन्।

नाच्दै, गाउँदै, मासु–भात बाँड्दै आइपुगेका छन्– उम्मेदवार–समर्थक। उम्मेदवारहरू भन्छन्, ‘यो पनि मैले गरेँ, त्यो पनि गरेँ। सबै मैले गरेँ। मेरै योजनामा यस्तो भयो। यो सब विकास हाम्रै पार्टीले गरेको हो।’

उनीहरू यसरी आफ्नो वर्चस्व प्रदर्शन गर्दैछन् कि– मानौँ यसअघि कोही थिएन र उनीहरूभन्दा पछि पनि कोही छैनन्। केही दिनपछि नेताहरू गाउँतिर खुब नाटक मञ्चन गरेका छन्। धान गोड्न, गहुँ काट्न खेतबारीमा पुगेका छन्। आफूलाई विकासवादी नेता भएको प्रमाणित गर्न खोज्छन्।

उम्मेदवार, समर्थक जनतासँगै रून्छन्, हाँस्छन्। माया साटासाट गर्छन्। पानी मागेर पिउँछन्। तर, अवोध मतदातालाई के थाहा, उनीहरू साँच्चिकै तिर्खाएर आएका होइनन् भन्ने१ फगत पानीको बहानामा तपाईंको सहानुभूति लिन बस्ती छिरेका हुन्। अब सस्तो प्रतिबद्धता देखेर–पढेर नजानिँदो तरिकाले बेबकुफ बनिहाल्छन्, जनता।

उम्मेदवारहरू मतदातासँगै हिँड्छन्, डुल्छन् अनि भोट माग्छन्। भोट मात्रै माग्दैनन्, करिब–करिब भिखै मागे जस्तो गर्छन्। यो कथा चुनाव जित्नका लागि तयार गरिएको ‘चुनावमञ्च’ हो। जब जित्छन्, उनीहरू अबिर र मालाले लपेटिन्छन्। उमङ्गमा हराउँछन्। अर्को दिनदेखि मतदातालाई बिर्सिन्छन्, लात हान्छन्। यो पुरानै संस्कार हो।

अब वर्तमानको समीक्षा गरौं– संस्थापक जनप्रतिनिधिले स्थानीय तहको सीमित सम्पत्ति मिलीजुली दोहन गरिरहेका छन्। हार्नेहरू ‘ट्वाँ’ परेका छन्, तर बोल्न सक्दैनन्। अनियमितताप्रति उनीहरूको खासै फरक मत छैन। किनकि, उनीहरूले एकदिन पुग्ने ठाउँ त्यहीँ हो भन्ने भन्ठानेका छन्। स्थानीय तहमा जित्ने–हार्नेहरूको रहस्यमय चुप्पी छ। विपक्षको मौनता रोचक छ।

पाँच वर्षे शासनकालमा जनप्रतिनिधिको राम–रमिता नै चल्यो। सामान्य जनताको चासो–गुनासो भुलेर उनीहरूले कार्यकालभर लुटपाट नै मच्चाएका छन्। उम्मेदवार अर्थात् ‘छोटे नेता’ हरू कुन मुख लिएर भोट माग्न टोल–टोलमा छिर्लान्रु

वास्तवमै गतिलो छानविन भएपछि कतिपय जनप्रतिनिधिले भ्रष्टाचारको कीर्तिमान तोड्ने छन्। स्थानीय तहको पछिल्लो दृश्य हेर्दा सजिलै भन्न सकिन्छ– भ्रष्टलाई भोट माग्ने अधिकार छैन।

जनप्रतिनिधिले अनेकौं जनविरोधी काम गरेका छन्। कतिले त श्रीमान(श्रीमतीको नाम जोडेर गाउँ तथा नगरपालिकाको नामै फेरेका छन्। कतिले आफ्नो घरछेउमा पालिका केन्द्र सारेका छन्। कतिले करारका कर्मचारीलाई पालिका नै सुम्पेका छन्। भ्रष्टाचार त कति गरेका छन्–छन्१

यसो भनिरहँदा भौतिक संरचनाको निर्माणलाई मात्रै विकासको मापदण्ड मान्नुपर्ने घुमाउरो बाध्यता पनि छ, जनतासँग। वास्तवमा कथित पुँजीवादीहरूको कारण वैचारिक परिवर्तन नै धरापमा छ। जनतालाई चाहिएको छ, चाँडै परिवर्तन। जुन परिवर्तनको लागि राजनीति अपरिहार्य छ। तर, हुनुपर्ने वैचारिक परिर्वतन हो। काम ढिलो हुन्छ। तर, दीर्घकालीन हुन्छ।

खैर, अब मतदाताले आफैँ एउटा अठोट गर्नुपर्छ। भ्रष्टाचारमा संलग्न र गलत आचरण भएका उम्मेदवारलाई यसपालि भोट नहाल्न अपील गरौँ। नेपाली नागरिक भ्रष्टाचारको चर्चा सुनेरै थाकिसकेका छन्। घुसबिना कुनै काम हुँदैन। ताकि, भ्रष्टाचार निर्मुल गर्न बलियो र प्रभावकारी सयंन्त्र बनोस्। स्वच्छ छवि भएका सामान्य सामाजिक कार्यकर्ता स्थानीय सरकारको नेतृत्वमा पुगेपछि भ्रष्टाचार धेरै हदसम्म निर्मुल हुन्छ।

भ्रष्ट राजनीतिज्ञले मतदातालाई झुक्याउँछन्। छाक टार्न संघर्ष गर्नेलाई मासु–भात दिन्छन्। अन्धकारमा सुत्नेलाई बिजुलीको हावा गफ दिन्छन्। अनि भोट लुट्छन्। रक्सी–मासुमा भुल्नेलाई चुनाव सकिएको भोलिपल्टदेखि मुख सुक्न थाल्छ। रक्सी त के पानी पनि पाइँदैन। मासु त के हड्डी पनि भेट्दैनन्।

कुनै पनि राजनीतिक शक्ति भ्रष्टाचारबाट टाढा छैनन्। संविधानले तीन तहका सरकारको परिकल्पना गरेको छ। जनताको सबैभन्दा नजिकको स्थानीय सरकार छ। जसको निर्वाचन मिति नजिकिँदै छ। तर भारीका भारी बेथितिका चाङ पनि उत्तिकै छन्।

अस्थिरताले समृद्धि र निर्माणलाई कसरी बिथोल्छरु भन्ने कुराको उदाहरण स्थानीय तहमा प्रशस्तै छन्। एउटा दलको नियुक्ति, अर्को दललाई अपाच्य हुन्छ। कार्य सम्पादन र नेतृत्व क्षमता त परको कुरा, गाउँकै माटोलाई समेत साक्षी राखेर क्षणिक दृश्य देखाइन्छ। यही गलत अभ्यासकै परिणाम पनि हो– भ्रष्टाचार र अनियमितता।

मतदाताहरू निष्कलंक छवि भएका इमानदार पात्र खोज्छन्, ‘भजनलाल’ होइन। भजनलाल भनेको नेताको गुणगान गाउनेहरू हुन्। उनीहरू सबैभन्दा खराब छन्। प्रतिनिधिले संघीयताको मर्म बिर्सिएका छन्। पार्टीगत वा भेगको नाममा भेदभाव गरिरहेका छन्। उनीहरू आफूलाई मन्त्रीझैं ठान्छन्।

गाउँमा बाटो छैन, लाखौंका चिल्ला गाडी चढ्छन्। राम्रो विद्यालय, अस्पताल बन्ने पैसाजति पेट्रोलमै सकेका छन्। उनीहरूलाई ‘छोटे’ मन्त्री बन्नु छ। सचिवालय स्थापनादेखि स्वकीय सचिवसम्म नियुक्ति गर्नुछ। रंग न ढंगका समाचार लेख्ने–छाप्ने प्रेस संयोजक थप्नुछ। निर्वाचन आचारसंहिता लागू भएको अघिल्लो दिनसम्म साला–साली, भाई–भतिज, भजनलालदेखि गुटवादीसम्मलाई करारमा भर्ती गरिरहेका छन्।

परिवर्तनका लागि कसै न कसैले संघर्ष गर्नैपर्छ। जनताले आशीर्वाद दिँदा अहिलेका जनप्रतिनिधिले पनि एकताका संघर्ष नगरेका होइनन्। तर उनीहरू निजी स्वार्थमा रमाउँदा आलोचनाको ‘तीर’ उनैतिर फर्किएको हो।

पुरानो व्यवस्था र पात्रप्रति आम–मानिस सन्तुष्ट थिएनन्। नेपाली जनताले नयाँ विकल्प खोजे। फलस्वरूप काठमाडौँको सिंहदरबार गाउँ–गाउँमा पुग्यो। ठाउँ–ठाउँमा भुइँतहको सरकार स्थापना भयो। तर पात्र परानै पुगेछन्, आचारण भ्रष्ट नै रहेछ। संघीयता संस्थागत गर्नुपर्नेहरू आ–आफ्नै भुँडी भर्नमा लागे। निर्वाचित भएको पाँच वर्षमै खुब आलोचित बने।
अघिल्लो निर्वाचनमा पार्टीका उम्मेदवारहरू नचिनेर नै भोट हालियो। उनीहरूमध्ये प्रायः लामो समयसम्म सहरमा फिरेका थिए। तर मतदाताले पार्टीगत आस्थाकै कारण मताधिकार प्रयोग गरे। अन्ततः कतिपय जनविरोधी नै बने१ परिवारवादमा रूमलिए। भ्रष्टहरूकै वरिपरी घुम्दा भ्रष्ट नै निस्के।

स्थानीय तहको निर्वाचन ‘सामान्य चुनाव’ मात्र होइन, यो घरछेउको आफ्नै सरकार गठन गर्ने महत्वपूर्ण माध्यम पनि हो। टोल–बस्तीमा मुसाझैं छिरेका भजनलालका मीठो नारा सुनेर मतिभ्रष्ट उम्मेदवारलाई भोट नगरौं। राजनीतिमा भ्रष्टाचारको आरोप लागेकाहरूलाई नै जनताले किन भोट दिन्छन्रु यो गम्भीर प्रश्न जताततै उठ्छ।

गाउँ–गाउँमा भ्रष्टहरूको कोलाहल छ। सरकारी कर्मचारीलाई काम गराउन पैसा दिँदा घुस ठान्दैनौं। बैंकबाट पैसा निकाल्दा, बिजुलीको बिल जम्मा गर्दा, सवारी चालक अनुमतिपत्र लिकाल्दा दलाल खोजेर सहयोग माग्छौँ। अनि भन्छौं जताततै भ्रष्टाचार भयो।

सडक खन्दा भ्रष्टाचार, खानेपानी मर्मत गर्दा भ्रष्टाचार। विद्यालय, अस्पताल भवन निर्माण गर्दा भ्रष्टाचार, कृषिको अनुदान बाँड्दा भ्रष्टाचार। पुल बनाउँदा भ्रष्टाचार। कुलो सफा गर्दा भ्रष्टाचार। खेलकुद सामाग्री किन्दा भ्रष्टाचार। कर्मचारी राख्दा भ्रष्टाचार। नगर–गाउँ प्रहरी छान्दा भ्रष्टाचार। कहाँ छैन, भ्रष्टाचार। जताततै भ्रष्टाचार!

दैनिक जीवनमा बिहानदेखि बेलुकासम्म भ्रष्टाचारका अनेकौं रंगहरू देख्न पाइन्छ। देशमा बढ्दो भ्रष्टाचारको लागि सरकारलाई गाली गर्छौं तर निर्वाचनका बेला सोच्दैनौं- गलत पात्रलाई नै अनुमोदन गरेर फेरि किन भ्रष्टाचारलाई प्रवर्द्धन गर्छौंरु

असम्भव छैन। तर भ्रष्टाचारविरूद्ध एकजुट भएर लड्न जरुरी छ। तर यसको सुरुवात हामीले आफ्नै घरबाट गर्नुपर्छ। यस्तो छ अवस्था– मतदाताहरू रक्सीदेखि पैसासम्मको बार्गेनिङ गर्छन्। उम्मेदवार पैसा बाँड्न बाध्य हुन्छन्। उम्मेदवारको चुनावी बजेट धेरै गुणा बढ्छ। चुनावी नतिजा आउँदासम्म मोटो रकम खर्च भइसकेको हुन्छ। जुन निर्वाचन आयोगले तोकेको खर्च सीमाभन्दा बढी गरिरहेका छन्।

यति धेरै पैसा खर्च गरेर चुनाव जितेका जनप्रतिनिधिले भ्रष्टाचार नगरेर के गर्छन् तरु भ्रष्टाचार जनताबाट सुरू अर्थात् आफैँबाट हुन्छ। कानुन निर्माण गर्ने जिम्मा प्रतिनिधिको हो। रक्सी–मासु र साडीमा उनै उम्मेदवारलाई मताधिकार गर्ने! अनि कमाउनका लागि सत्तामा पुगेका नेतालाई नै गाली गरिरहनेरु
भुइँतहको सरकार असल र इमान्दार व्यक्तिविहीन कहिलेसम्मरु चुनावमा भाग लिने कमै नेताहरू सफा छन्, तर उनीहरू निर्वाचन जित्दैनन्। जब सबै भ्रष्ट हुन्छन्, तब कसैले पनि एक्लै व्यवस्था परिवर्तन गर्न सक्दैन।

गएको साढे चारवर्षमा हामीले तीन तहको सरकारको संरचनाबाट गतिलै पाठ सिक्यौँ। मतदाताले पाइला नाप्ने भनेकै स्थानीय सरकारमा हो। अब वडादेखि नगरपालिकासम्मको नेतृत्व गर्ने पात्रहरूको छनोटमा ‘डिस्कोर्ष’ गरौँ।

गाउँ भनेको ढुँगा र माटो मात्रै होइन। उकाली र ओराली मात्रै पनि होइन। गाउँभित्र फरक–फरक समाज छ। त्यहाँ भाषा, संस्कृति, खेलकुद, शिक्षा, स्वास्थ्य, अर्थ, इतिहास सबथोक छ। अबको नेतृत्व गर्ने पात्रले राजनीतिबाहेक यी सबै कुराको राम्रो ज्ञान राख्न जरुरी छ।

कसैले खल्तीबाट निकालेर दिएको एक मुठ्ठी न्यानो मायाले मात्रै अबको नेतृत्व चल्दैन। हामीलाई स्वीकार्य हुँदैन पनि। कम्तीमा अबको नेतृत्वले राजनीतिसँगै समाजका विभिन्न आयामहरुलाई बुझेको होस्। सत्यले जितोस्। जय होस्!