२ वर्षभित्र नेपालको आफ्नै स्याटेलाइट

१७ असारकाठमाडौँ । सरकारले २ वर्षभित्र अन्तरिक्षमा आफ्नै भूउपग्रह (स्याटेलाइट) स्थापना गर्ने भएको छ । भूउपग्रह स्थापनासँगै नेपालले सञ्चार क्षेत्रमा नयाँ फड्को मार्ने छ ।

विदेशी भू–उपग्रहको प्रयोग राष्ट्रिय सुरक्षाका लागि समेत संवेदनशील हुने भएकाले सरकारले आफ्नै भू–उपग्रह स्थापना गर्न लागेको हो । भू–उपग्रह स्थापनाका लागि सरकारले भू–उपग्रह नीति, २०७७ समेत ल्याइसकेको छ ।

यही असार २ गते बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको उक्त नीतिमा सन् २०२२ भित्र अन्तरिक्षमा आफ्नै भू—उपग्रह स्थापना गरी मुलुकभित्रैबाट यससम्बन्धी विश्वसनीय र गुणस्तरीय सेवा उपलब्ध गराउने जनाइएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले मुलुकको राष्ट्रिय सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सूचना तथा सञ्चारको क्षेत्रमा थप प्रभावकारिता ल्याउन अबको २ वर्षभित्र अन्तरिक्षमा आफ्नै भू–उपग्रह स्थापना गर्ने लक्ष्यसहित भू–उपग्रह नीति ल्याइएको स्पष्ट पारे । अब नीतिअनुसारका काम अगाडि बढ्ने छन् ।

भूउपग्रह स्थापनासँगै सन् २०२४ सम्म मुलुकको कुल गार्हस्थ उत्पादनमा डिजिटल क्षेत्रको योगदान उल्लेख्य रूपमा वृद्धि हुनेछ । दुर्गम र अति विकट भौगोलिक क्षेत्रका जनतासमक्ष ब्रोडब्यान्ड इन्टरनेट सेवा र प्रसारण सेवाको पहुँच सुनिश्चित हुने उनले बताए ।

भू—उपग्रह स्थापनापश्चात् नेपालकै भू—उपग्रहको सेवा लिने व्यवस्था मिलाइने तथा अन्तरिक्ष प्राविधिकसँग सम्बन्धित दक्ष जनशक्ति तयार गर्न आवश्यक व्यवस्था मिलाइने जनाइएको छ । भू–उपग्रह स्थापनासँगै अन्तरिक्षसँग सम्बन्धित सन्धि तथा महासन्धिहरूको पक्ष राष्ट्र हुने प्रक्रिया अगाडि बढाइने छ ।

यसैगरी मुलुकको मौसम पूर्वानुमान र विपद् व्यवस्थापन कार्यमा सहयोग पुग्नेगरी प्रभावकारी सञ्चार संयन्त्रको व्यवस्था गरिनेछ । भू–उपग्रह सञ्चालन तथा व्यवस्थापनका लागि छुट्टै संस्थागत व्यवस्था नभएसम्म नेपाल दूरसञ्चार प्राधिकरणले त्यसको व्यवस्था गर्ने उनले जानकारी दिए । आजको गोरखापत्र दैनिकबाट

प्रकाशित मिति : २०७७ असार १७ गते बुधवार
प्रतिक्रिया दिनुहोस