माओवादी केन्द्रका सुप्रिमो पुष्पकमल दाहाल ‘प्रचण्ड’को दिमागमा सम्भवतः अन्तिम ‘कुर्सी संघर्ष’ चलिरहेको छ। उनी फेरि सिंहदरबार छिर्नका लागि संघर्षको मैदानमा उत्रिएका छन्।

कुर्सी प्राप्तिका लागि देशभित्रका वामपन्थी र देश बाहिरका हिन्दूवादीसँग उनको ‘लबिङ’ जारी छ। नेपाली राजनीतिको शक्तिकेन्द्र ‘दिल्ली दरबार’ बाट फर्केलगत्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री बन्ने तीव्र चाहना प्रकट गरेका छन्। तर उनी सिंहदरबार घटकका सबैभन्दा प्रभावशाली पात्र हुन्।

सत्ता राजनीतिका चतुर खेलाडी उनी भारत भ्रमणपछि समाजवादी केन्द्र निर्माणको नयाँ अभियानमा लागेको माओवादी केन्द्रका शीर्ष नेता वर्षमान पुन बताउँछन्। आजकल प्रचण्ड दैनिक जसो बालुवाटारदेखि कोटेश्वरसम्म दौडिरहेका छन्।

सन्दर्भ उही नजिकिँदै गरेको संघीय संसदको निर्वाचन हो। त्यसैले उनी निर्वाचनको अंक गणितमा व्यस्त छन्। आगामी सरकारको नेतृत्व आफूले गर्ने दावी गर्दैआएका छन्। निर्वाचनपछि माओवादी केन्द्रलाई प्रदेशदेखि संघसम्म सरकार बनाउन कसैले रोक्न नसक्ने उनको जिकिर छ।

प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका पूर्वनेता डा। बाबुराम भट्टराईदेखि पार्टीविहीन वामदेव गौतमसँग वामपन्थी एकताको चर्चा गरिरहेका छन्। यी पात्रसामु दिल्लीको नयाँ सन्देश सुनाउँछन्। बेलाबेला फकाउँछन्। नयाँ कार्ड फ्याँक्छन्। तर्साउँछन् अनि वाम गठबन्धनबारे मीठो सपना बाँड्छन्।

प्रचण्डले नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग शक्ति सन्तुलनका लागि चुनाव केन्द्रित नयाँ चलखेल गरिरहेको एकीकृत समाजवादीका एक पदाधिकारी बताउँछन्। आउँदो निर्वाचनलगत्तै आलोपालो प्रधानमन्त्रीका लागि ‘छरिएका वाम, एकैठाम’को अभियानमा लागेका छन्।

अर्कोतर्फ वाम–लोकतान्त्रिक गठबन्धनको पनि उत्तिकै आवश्यकता देख्छन्, प्रचण्ड। विप्लव समूहदेखि माधवकुमार नेपालसम्मलाई वामपन्थी एकताको योजना सुनाइरहेका छन्। माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठदेखि शीर्ष नेता वर्षमान पुनसम्म ‘कम्युनिष्ट टुक्रा’ खोज्दै हिँडिरहेका छन्। उनीहरू अध्यक्ष प्रचण्डका लागि फेरि कुर्सीको भारी बोकेर वाम चुनावी गठबन्धनको संवादमा जुटेका छन्।

संकट सबैतिर छ। प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री ताकिरहेका प्रचण्ड, नयाँ घरजम गरेका माधवकुमार नेपाल, राष्ट्रपतिका आकांक्षी जे।एन खनाल–रामचन्द्र पौडेल, सडक संघर्षमा पुगेका डा। भट्टराई र विद्रोही विप्लवलगायत शीर्ष नेताहरू राजनीतिक दौडमा छन्। झन् अप्ठेरोमा छन्, एमाले तोडेर नयाँ पार्टी जन्माएका पूर्वप्रधानमन्त्री नेपाल।

अक्करै–अक्करको यात्रामा हिँडिरहेका छन्, अध्यक्ष नेपाल। सत्ताछेउमा उभिएर प्रचण्डसँगै वाम गठबन्धन रोज्ने दाउमा छन्, उनी। संसारले चिनिरहेको ‘प्रचण्ड’ एउटा नाम मात्रै होइन। यो एउटा नेपाली सत्ता राजनीतिको ‘ब्राण्ड’ पनि हो। जहाँ पदभोगी, अवसरवादी, परिवारवादी र विचौलिया पात्रहरूको महाभेलामा उनै प्रचण्ड प्रमुख वक्ता बन्न सक्छन्। र, सत्ता र शक्तिका लागि विदेशी मालिकसँग ढलिमलि गरिदिन पनि सक्छन्।

उनको पछिल्लो भारत भ्रमण त्यसकै एउटा निरन्तरता थियो–

३१ असारदेखि १ साउनसम्म माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड स्वकीय सचिवसमेत रहेकी कान्छी छोरी गंगा दाहाल र अर्का स्वकीय सचिव रमेश मल्लसँगै नयाँ दिल्ली प्रस्थान गरे। घरमा सिकिस्त बिरामी अवस्थामा रहेकी श्रीमती सीता दाहाललाई एक्लै छोडेर दिल्ली हानिनुको एउटै कारण थियो– भारतीय सत्तारुढ दलका नेतासँगको भेटवार्ताको नाममा राजकीय शक्ति प्राप्तिका लागि अनुनय–विनय गर्नु।

चीनको सत्तारूढ दल चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओ स्वदेश फर्किएलगत्तै उनी दिल्ली हिँडेका हुन्। अन्तर–देशीय पार्टी कुटनीति हेर्दैआएका लिउ नेपाली वामपन्थीको पछिल्लो रबैयाप्रति पूर्ण जानकार छन्। भलै उनी खुलेर बोलेनन्। तर अमेरिकी–भारतीय शक्तिबाट अलग्गै राख्न ओली–प्रचण्ड–नेपाललाई एउटै गोलाभित्र राख्न–देख्न चाहन्छन्।

विदेश विभाग प्रमुख लिउले काठमाडौंमा हुँदा प्रधानमन्त्री देउवादेखि ओली–प्रचण्डसम्म पालैपालो भेटे। लिउ र प्रचण्डको भेटवार्तापछि स्वभाविक रूपमा भारतीय दूतावासभित्र गम्भीर चिन्ता प्रकट भएको दूतावास स्रोतको दावी छ।

उता प्रधानमन्त्री देउवा पत्नी तथा कांग्रेस नेत्री डा। आरजु राणा देउवा नयाँ दिल्लीमै अड्डा जमाएर बसिरहेकी छिन्। उनी आउँदो संघीय निर्वाचन र त्यसपछिको दृश्यबारे ‘राखी भाइ’ तथा भाजपा विदेश विभाग प्रमुखको वरिपरि नै नाचिरहेकी छिन्।

‘दिल्ली दरबार’भित्र अनेकौं खेलोमेलो गरिरहेकी डा। आरजुकै जोडबलमा प्रचण्ड भारतीय जनता पार्टीको निम्तोमा भारत भ्रमणमा निस्केको लैनचौर दूतावासका एक अधिकारी बताउँछन्। अर्को पाटो नेपालका लागि पूर्वभारतीय राजदूत विनय मोहन क्वात्रालाई अनेक अनुनय–विनय गरेर भारतीय संस्थापनकहाँ जानुको कारण आउँदो चुनावमार्फत् कसरी सत्तामा फर्कन सकिन्छ भन्ने नै हो१

अहिलेको गठबन्धन कायम राखेर आलोपालो भएपनि प्रधानमन्त्री हुने ध्याउन्नमा लागेका प्रचण्ड दिल्लीको समर्थन खोजिरहेका छन्।

भारत भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री मोदीलाई नै भेटेर कांग्रेससँग आलोपालो प्रधानमन्त्रीको सम्झौता गर्ने अपेक्षा थियो। तर, तत्कालै प्रचण्डको विश्वास गर्ने पक्षमा देखिएनन्, मोदीनिकट नेता।

नेपाली कम्युनिष्ट नेतासँग भेटवार्ता गरेर फर्किएका चिनियाँ विदेश विभाग प्रमुख लिउको नेपाल चासो र प्रचण्ड स्वयमको मनस्थिति अध्ययन गर्नमा केन्द्रित भाजपा नेताले मोदीसँगको भेटवार्ताको अवसर पनि जुटाएनन्।

काठमाडौंदेखि आरजु राणा देउवासँगको भेटसम्म उत्साहित प्रचण्ड अन्ततः निराश भएर फर्किएका छन्। फर्केलगत्तै विमानस्थलमा उनले भने, ‘मोदीले मसँग किन भेट गरेनन् म स्वयम्ले पनि बुझेको छैन। मोदीसँग भेट नभए पनि मलाई कुनै टेन्सन छैन। भारत भ्रमण अत्यन्त उत्साहवर्द्धक र सफल भएको छ।’

अध्यक्ष प्रचण्ड विचित्र भावमा प्रकट हुँदा छेउतिरका शीर्ष नेता नारायणकाजी र वर्षमान अवाक देखिन्थे। भारतीय जनता पार्टीले सोचेअनुरुप ‘रेस्पोन्स’ नगर्दा वाम एकताको नयाँ कार्ड खेल्न थालेका छन्, प्रचण्ड। बाहिर जतिसुकै आदर्शका कुरा गरेपनि प्रधानमन्त्रीको रुपमा फेरि सत्तामा फर्कने उनको ‘प्रचण्ड’ आकांक्षा छ।

‘एक तीर दुई शिकार’ त्यसैपनि प्रचण्डको परिचित स्वभाव हो। उनी देउवा अर्थात् कांग्रेस र ओली अर्थात् एमालेसँग चुनावी गठबन्धनका लागि पनि खुला छन्। देउवासँग वाम–लोकतान्तिक गठबन्धनको नाम आलोपालो प्रधानमन्त्री पद सुरक्षित गर्ने नयाँदिल्ली दाउ सबैभन्दा चर्चामा छ।

अर्कोतिर ‘मिनी’ वाम गठबन्धको हल्ला पिटाएर नेताद्वय नेपाल, डा। भट्टराईलाई एकठाउँमा केन्द्रीत गर्न खोजिरहेका छन्। अघिल्लोपटक पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग उधारो प्रधानमन्त्री सम्झौता गरेर अलपत्र परेका प्रचण्ड यसपटक नगदकै लाइनमा छन्।

ओली ‘बा’को चतुर खेलमा भासिएका उनी यसपटक उनीभन्दा झन् चतुर बन्न चाहन्छन्। यी सबै प्रचण्ड–दृश्य मसिनो गरी उनै ओलीले बालकोटको बार्दलीबाट चिया पिउँदै नियालिरहेका छन्। तर, प्रचण्ड कांग्रेससँगको सहकार्यमा आजसम्म अपमानित मात्रै भइरहेका छन्।

कांग्रेसभित्रै चुनावी गठबन्धन विरोधी स्वर बढ्दै गएको छ। वाम–लोकतान्त्रिक गठबन्धन भएपनि माओवादीलाई आलोपालो प्रधानमन्त्री पद दिन नमिल्ने दवाव देखिन थालेपछि उनी झन्–झन् तर्किएका छन्। कांग्रेसलाई राम्रोसित पत्तो छ– प्रचण्ड एक्लै निर्वाचनमा जान सक्दैनन्, उनी मतदातासामु निकै कमजोर भइसकेका छन्। अर्कोतर्फ वाम गठबन्धनको कुरा उठाएर एमालेसँग बार्गेनिङ पनि गरिरकेका छन्।

प्रचण्डको प्रधानमन्त्री बन्ने तीव्र आकांक्षाको यतिबेला सारथी बनिरहेका छन्, माधवकुमार नेपाल, डा। बाबुराम भट्टराई। उनीहरू ‘समाजवादी केन्द्र’को नाउमा प्रचण्डसँग टासिनुबाहेक अर्को विकल्प पनि देख्दैनन्। न कार्यकर्ता छन्, न संगठन। नेता चाहिँ कैयौं दर्जन छन्, जो संघसंगठनमा भिज्ने खालका छैनन्। प्रचण्ड र जनता समाजवादी पार्टीबाट अनौपचारिक रुपमा छुट्टिएका डा। भट्टराई केही समयदेखि निरन्तर चलिरहेको छ। उनी फेरि एकपटक प्रचण्डसँगै सहयात्रा गर्ने कसरतमा छन्।

यसअघि प्रचण्ड निवास खुमलटार, लैनचौरस्थित उपराष्ट्रपति नन्दबहादुर पुनको निवास, सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा पटक–पटक भेटवार्ता भएको थियो। तर, बिहिबार भने वाम–वार्ताका लागि प्रचण्ड र डा। भट्टराई बेग्लै स्थान हात्तीवनस्थित सिटिस्केप अपार्टमेन्ट पुगेको प्रचण्डको सचिवालयले जनाएको छ।

प्रचण्डका भानिज गोकुल भण्डारीको घरमा डा। भट्टराई र नेता वर्षमान पुनबीच झण्डै तीन घण्टा कुराकानी भएको थियो। त्यसअघि र त्यसपछि पनि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानीत नेता झलनाथ खनाल, पार्टीविहीन बामदेव गौतमसँग पनि अध्यक्ष प्रचण्ड पटकपटक वार्तामा जुटेका छन्।

यता वामपन्थी गठबन्धन–एकताको चर्चा फिजाएर उनी चीन भ्रमणमा जान खोजिरहेको माओवादी केन्द्र विदेश विभागका एक सदस्य बताउँछन्। त्यसका लागि वरिष्ठ उपाध्यक्ष नारायणकाजी, नेता वर्षमान र माओवादीमा एल।मणि। पौड्यालको नामले परिचित पूर्व प्रशासक एवम् चीनका लागि पूर्वनेपाली राजदूत लिलामणि पौड्याल आ–आफ्नो सूत्रबाट खटिरहेका छन्।

यी सबै प्रयासका बाबजुद प्रचण्डको आगामी राजनैतिक कदम सर्वोच्च अदालतको साउन १० गतको फैसलालले थप निर्धारण गर्नेछ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशबाट संवैधानिक निकायमा नियुक्ति दिलाएका ५२ जनाको नियुक्ति सम्भवतः ‘सेटिङ’ मार्फत् खारेज गरिनेछ। अदालतमा विचाराधीन उजुरीबारे यतिबेला राजनीतिक वृत्तमा अनेकौं टिका–टिप्पणी भइरहेका छन्।

नियुक्ति खारेज भएको अवस्थामा फेरि एकैपटक झण्डै पाँच दर्जन जति संवैधानिक निकायमा कार्यकर्ता भर्तीमा भागवण्डाको अवसर प्राप्त हुने भएकाले उनी केही समय गोप्य रुपमै राजनीतिक लेखाखोजामा रहने छन्। नयाँ नियुक्तिको विषयअघि मंसिरको निर्वाचन सार्ने अवस्था आएमा सोच–विचार गरेर त्यही अनुसारको कदम चाल्ने छन्।

सत्तारोहणका लागि नेपाल–भट्टराईको पाखुरा समातेर सिंहदरबारतिर हान्निएका प्रचण्ड वाम गठबन्धनको एउटा सपनाभित्र हराइरहेका छन्। उनी नयाँदिल्ली र बेइजिङलाई सँगसँगै वाम–लोकतान्तिक र वामपन्थी ‘कार्ड’मार्फत् भ्रममा पारिरहेका छन्।

‘प्रचण्ड चरित्र’ स्थापित ‘सत्ताभोगी चरित्र’ हो। आलोचकहरू भन्छन्– उनी नयाँदिल्लीको मन जित्न जे पनि गर्न सक्छन्। प्रचण्डको पछिल्लो ध्यान एकै ताल, एकै सुर र एकै लयमा सिंहदरबारतिरै केन्द्रीत छ।

प्रतिनिधिसभाले शुक्रबार पारित गरेको विवादित नागरिकता ऐन–२०६३ को संशोधन विधेयक पनि संयोग नै मान्छन्। कतिपय त प्रचण्डको मन छाम्न भारतीय पक्षले बोकाइदिएको भारी नै ठान्छन्।

त्यसो त प्रचण्ड पहिलो प्रयासमै आधाआधी सफल भएका छन्। कुर्सीका लागि जुनसुकै हदसम्म जान सक्ने चरित्रका प्रचण्डको पछिल्लो दृश्यले माओवादीभित्रै उथुलपुथल ल्याउने शीर्ष नेताहरू दावी गर्छन्।

उनी नयाँ दिल्लीबाट फर्किएपछि प्रधानमन्त्रीका लागि वाम–लोकतान्त्रिक गठबन्धन बलियो पार्ने वा वामपन्थी शक्तिबीच एकताका लागि सिंहदरबार वरिवारि दौडिरहेका छन्। सत्ता प्राप्तिका लागि उनी कुन बाटो लाग्छन् तस्वीर अझै प्रष्ट भइसकेको छैन१ संभवतः स्वार्थमा देखिने केही संकेतमार्फत् आगामी बाटो तय गर्ने छन्।