रोल्पामा पशुपालनबाट राम्रो आम्दानी गर्न सकिन्छ

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाले अहिले ५ वटा पाटोमा कामलाई विभाजन गरेर आफ्नो गतिविधि सञ्चालन गरिरहेको छ । पहिलो पशुस्वास्थ्य तर्फ पशुको स्वास्थ्यलाई ख्याल गरेर रोल्पा जिल्ला भरी नै हामीले भ्याक्सिनेशन मुख्य गरी महामारी जन्य रोगहरू, लम्पी स्किन, बाख्राको पीपीआर, गाईभैँसीको एफेन्डीजलाई निःशुल्क भ्याक्सीनेशनको रुपमा सञ्चालन गयौं । २७ हजार ५ सय लम्पी स्किन डोजको भ्याक्सिन, ६२ हजार २ सय डोज खोरेत (एफेन्डीज) को भ्याक्सिन, १ लाख ३७ हजार पीपीआरको भ्याक्सिन, त्यसैगरी ५० हजार रानी खेतको भ्याक्सिन, ४ हजार क्लासिकल स्वयनफेवरको भ्याक्सिन र ५ सय ७ वटा रेबिज भ्याक्सिन जिल्लाभर हामीले अभियानको रुपमा सञ्चालन गरेका छाैँ। जसले पशुहरूमा लाग्ने रोगको रोकथाम गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । त्यसको साथै हामीले विभिन्न दूरदराजमा जहाँ हाम्रो सेवा सुविधा पुगेको छैन, त्यस्तो ठाउँमा पशु स्वास्थ्य शिविर सञ्चालन गरेका छौँ । 

जिल्लाको विकट गाउँहरू सुनछहरीको गाम, लुङ्ग्रीको पाङ, गंगादेवको पाखापानी, रुन्टीगढीको लिबाङीआँप, थबाङको मिरुल, माडी गाउँपालिकाको भाबाङमा हामीले पशु स्वास्थ्य शिविर सञ्चालन गरेका थियौँ । यी शिविरमा २ हजार भन्दा बढी किसानहरु सहभागी हुनुभयो । हामीले किसानको घरघरमै गएर १० हजार भन्दा पशुको औषधी उपचार, बन्ध्याकरण देखि लिएर रेविज भ्याक्सिनेशन र पशु स्वास्थ्य शिविर सञ्चालन ग¥र्यौं ।

रोल्पा जिल्लाको दुधको एकदमै सम्भावना भएको ठाउँ हो । रोल्पा नगरपालिका र सुनिलस्मृति गाउँपालिका यि दुई स्थानीय तहको रुढ करिडोरको कार्यक्रमहरु संञ्चालन गरेका छौँ । यी पालिकाका किसानहरुले पाल्नुभएका पशुहरुमा प्रजननसँग सम्बन्धि समस्याहरु बाझोपन हुने, गर्भ टुहिने समस्याको निराकरणको निमित्त किसानहरुको गोठ–गोठमा पुगेर ‘डोर टु डोर’ कार्यक्रम सञ्चालन ग¥र्यौं । पशु प्रजनन कार्यालय पोखरा र पशु प्रजनन कार्यालय नेपालगञ्जबाट विज्ञ बोलाई किसानको घरधुरीमा गएर २ सय भन्दा बढी पशुहरुको बाँझोपनको समस्या समाधान गरियो । यो कार्यक्रम जिल्लामा नयाँ हो । 

त्यसैगरी मानिस र पशुपंक्षीलाई रेविजजन्य महामारीबाट बचाउन त्रिवेणी गाउँपालिका र रुन्टीगढी गाउँपालिकाको सहकार्यमा निःशुल्क सामुदायिक तथा घरपालुवा कुकुरहरुमा पहिलो पटक रोल्पा जिल्लामा बन्ध्याकरण कार्यक्रम सम्पन्न गरेका छौँ । उक्त शिविरमा ३ सय २० वटा कुकुरहरुको स्थायी बन्ध्याकरण गरिएको छ । भने शिविरमा रेविज विरुद्वको भ्याक्सिनेशन पनि संचालन गरेका छौँ । त्यसैगरी हाम्रो अस्पतालमा गतवर्ष भन्दा अली संख्या बढ्ने गरी करिब ३५ सय पशुपंक्षीको उपचार संचालन गरेका छौँ । औषधी उपचार प्रयोगशाला सेवा, किसानहरु कार्यालय पुग्न नसक्ने अवस्थामा विशेष अभियान बनाएर संचालन गरेका छौँ । साथसाथै पशुसँग सम्बन्धित उत्पादन र उत्पादकत्व वृद्धि गर्न त्यसका लागि पनि विशेष कार्यक्रम संचालन गरेका छौँ । 

सुनछहरी–४ मा बाख्राको पकेट बनाउने गरी कार्यक्रम र माडी गाउँपालिकाको विभिन्न वडालाई समेटेर बंगुर पकेट क्षेत्र बनाउने उद्देश्य सहित बङगुर विशेष संघन कार्यक्रम सञ्चालन गरेका छा}F । सुनछहरी गाउँपालिकाको स्युरीमा २५ जना किसानहरुलाई समेटेर बाख्रा पालन कार्यक्रम पनि संचालन भईरहेको छ । स्युरीका किसानहरुसँग स्थानीय जातको बाख्रा छन् । जहाँ बोका पाथीहरु उच्च मूल्यमा बिक्रि हुन्छन्, त्यहाँ अझै व्यवसायिक गराउने उद्देश्यका साथ त्यहाँ यि कार्यक्रमहरु संचालन भएका छन् ।

घाँस खेतिदेखि खोरका संरचना बनाउने, तालिम गर्ने, क्षमता अभिवृद्धि गर्ने, लगायतका कार्यक्रमहरु भएका छन् । त्यसैगरी पशुजन्य उत्पादनलाई विविधिकरण गरेर सानो उद्योग संचालन गर्ने एउटा कार्यक्रम थियो । त्रिवेणी गाउँपालिकामा एउटा नमूना डेरि बनाउने भनेर त्यो पनि संचालन गरेका छौं । त्यसैगरी लक्षित समुदाय विशेष आयआर्जन कार्यक्रम भनेर सिमान्तकृत आर्थिक अवस्था कमजोर भएका, पछि परेका समुदाय (जस्तो वादी, वोटे, थकाली समुदाय) र सिमान्तकृत समुदायमा काम गर्छौं । परिवर्तन गाउँपालिकाको बाग्मारामा वादी समुदायको वस्ती छ, त्यहाँ १८ घरलाई ५४ वटा बाख्रा वितरण गरियो । वादी समुदायको जिवनस्तर उठाउन आम्दानी वृद्धि हुने गरि वाख्रा वितरण गरेका छौं । त्यसैगरी लुङ्ग्री गाउँपालिकामा त्यहाँ माझी (वोटे) समुदाय छ । वोटे वस्तीमा ग्रामिण पोषण सुधार कार्यक्रम अन्तर्गत कुखुरा पालन कार्यक्रम गरेका छौं । 

त्यसैगरी प्रतिफलमा आधारित प्रोत्साहन अनुदान थियो । त्यो धेरै सफलता हुन सकेको छैन् । त्यो हामी सम्पन्न गर्ने क्रममा छौं । हामीले उत्पादनको आधारमा दुधमा २ रुपैँया, खसी, बोकाको मासुमा २५ रुपैँया, रागामा २० रुपैँया अनुदान दिन्छौ । समूह, सहकारी अथवा नीजि डेरीले उहाँहरुले गत आर्थिक वर्षमा गरेको कारोबारको रेकर्डलाई मध्यनजर गरेर हामीले यो आर्थिक वर्षमा अनुदान दिन्छौ । रोल्पा जिल्लामा जतिपनि समूह, सहकारी, किसान दाजुभाई दिदिबहिनीहरु हुनुहुन्छ तपाईले गरेको कारोबारको लेखाजोखा राम्रोसँग राख्नुस । त्यसलाई करचुक्ता गर्नुस, अडिट गर्नुस, त्यसको आधारमा हामीले प्रतिफलमा आधारित दिन्छौं ।

हामीसँग आएको बजेट फिर्ता हुने अवस्थामा रहेको छ । हुन त मैले सम्पूर्ण जनप्रतिनिधि ज्यूहरु, अगुवा कृषकहरुलाई अनुरोध गरेको छु । अभियानकै रुपमा यो कार्यक्रम गर्न जरुरी छ । त्यसैगरी हाम्रो यो रोल्पा नगरपालिका, लुङ्ग्री गाउँपालिका र त्रिवेणी गाउँपालिकामा प्रदेश सरकारकै गौरवको कार्यक्रम भनेर स्मार्ट कृषि कार्यक्रम थियो ।  जसलाई यो आर्थिक वर्षमा सम्पन्न गरेका छौं । त्यसको कार्ययोजना अन्तरगत हामीले ५ वटा संवाहकमा हेर्छौ ।

जलवायू स्मार्ट, प्रविधि स्मार्ट, बजार स्मार्ट, पोषण तत्व स्मार्ट र सिचाई स्मार्ट छन् । खोर निर्माण गर्ने, सिंचाई निर्माण, सिंचाई ट्याङ्की बनाउने अथवा पशुका लागि चाहिने आहारा अथवा घाँसको बन्दोबस्त गर्ने, उहाँहरुको क्षमता अभिवृद्धिको लागि तालिम संचालन गर्ने, सीप वृद्धिका लागि संवाहकमा आधारित गतिविधिलाई अगाडी बढाई संचालन गरेका छौं । स्मार्ट कृषि कार्यक्रमलाई अन्तिम वर्षपछि बाख्राको एउटा स्रोत केन्द्रको रुपमा बनाउने गरी यि कार्यक्रम सम्पन्न गरेका थियाैँ । 

यसका साथसाथमा रोल्पा जिल्लामा भेटेरिनरी अस्पतालले आफ्नो नाम अनुसारको काम गर्नुपर्छ । स्वास्थ्य सेवा, औषधी उपचार र जनस्वास्थ्यसँग जोडिने, बजार अनुगमन मासूपसल अनुगमन देखि लिएर एग्रोभेट अनुगमन पनि गरिएको छ । नियम अनुसार नगरेका लाई कारबाहि पनि गर्ने र सुधार्नका लागि उहाँहरुलाई अनुरोध पनि गर्ने गर्दै आएका छौं । नियमअनुसारको परिपत्र देखि निर्देशन पनि दिने अभियान पनि चलाएका छौं । जसले राम्रो गर्नुभएको छ, उहाँहरुलाई प्रोत्साहन रेफ्रिजेनेरेटर उपलब्ध गराउने गरेका छौं । प्रविधि प्रर्दशन अन्तर्गत मासुसँग सम्बन्धित जिल्लामा सचेतनामूलक कार्यक्रम पनि गरेका छौं । यि कार्यक्रमहरु हाम्रो मुख्य मुख्य कार्यक्रमहरु हुन ।

मुख्यगरी रोल्पा नगरपालिकाको लिवाङ बजार, माडी गाउँपालिकाको घर्तिगाउँ बजार, सुनिलस्मृति गाउँपालिकाको सुलिचौर र रुन्टीगढीको होलेरी बजारमका मासु र डेरी पसलमा अनुगमन गरियो । यसो गर्दा फेरी पहिलो चरणमा सम्बन्धित पक्ष हामीसँग अली आक्रोसित नै हुनुहुन्थ्यो ।

अनुगमन गर्दा र सामान जफट गरिदिदा सुरुमा अली बुझ्नु भएको थिएन । तर, विस्तारै नियम, कानून, विधि प्रकृया, हामीले बुझायौ । उहाँहरुको मासु, दुध नष्ट गर्ने मात्र गरेनौ । उहाँहरुलाई प्रशिक्षण कार्यक्रम, अभिवृद्धि कार्यक्रम पनि संचालन गरियो । त्यसपछि उहाँहरु छर्लङ्ग हुनुभयो । उहाँहरुले त्यससलाई रियलाइज गर्नुभयो । त्यसकारण अहिले उहाँहरुको मासू पसल सुध्रिएको छ । जे हुनुपर्दथ्यो प्रचलित ऐन नियम अनुसार र जुन मापदण्ड पुग्नु पर्दथ्यो त्यो सबै पुग्नुभएको छैन् । तर यो अभियान हामी फेरि लगत्तै संचालन गर्ने छौ । 

हाम्रो कार्यक्रमले रोल्पाका १०/१५ प्रतिशत किसान लाभान्वित हुनुभएको छ । भोलिका दिनमा हामीले यसलाई बढाएर जाने अभियानमा छौं । धेरै भन्दा धेरै जनतासँग जोडिने गरी हामी अगाडि बढ्छौ । सिमित स्रोत साधनका साथै जनशक्तिको अभावका कारणले पनि हरेक नागरिकको घरदैलोमा पुग्न सकेका छैनौं । र अप्रत्यक्ष रुपमा हामीले गरेका गतिविधिले जनतालाई चाहिँ अलिकति सेवा प्रदान गर्ने र जनस्वास्थ्यमा सहयोग पु¥याउने हो । समग्र रोल्पा जिल्लाको आर्थिक अवस्थामा पशुपंक्षीको योगदान प्रचुर संभावना छ । 

नेपालभर जतिपनि कृषिमा नेपाल सरकार, प्रदेश सरकार  र स्थानीय सरकारले अनुदान वितरण गर्नुभएको छ । यसको भरपुर सदुपयोग, प्रतिफल र दिगो रुपमा व्यवस्थापन गर्न एकदमै चुनौतीपूर्ण रहेको छ । हामीले जसरी सहयोग गरेका छौ, धेरै जसोले पशुपंक्षी पाल्नुपनि भएको छ, दिएको अनुदान सदुपयोग पनि गर्नुभएको छ । कतै हामीले सोचे अनुसार त्यसको प्रयोगमा नभएको जस्तो देखिन्छ ।

प्रचलित नियम अनुसार जति वर्ष हामिसँग भएको सम्झौता, नेपाल सरकारले तोकेको कार्यविधि नियम अनुसार चाहिँ उहाँले गर्नपर्ने गतिविधि नभएका समूह, सहकारी छन् । तिनलाई नियम भित्र लिएर कारवाही गर्नुपर्ने अवस्थामा किसानसँग सामान्य सोधपुछ गरेर, छलफल गरेर त्यसलाई निरन्तरता दिने पाटो छदै छ । त्यो हामी गर्छौ । फिल्डमा जादा कुनै ठाउँमा २/४ वर्ष, ५/७ वर्ष कुनै आयोजनाले सहयोग ग¥या,े त्यो आयोजना सकिएसँगै उहाँहरु पनि त्यो छोडेर अर्कोमा पलायन हुनुभएको छ । यो चाहिँ एकदमै समस्याको कुरो रहेको छ । त्यसकारण अनुदान चाहिँ सोचे जस्तो सदुपयोग हुन सकेको छैन् । हामी के प्रतिवद्ध छौ भने काम नगर्ने किसानलाई अनुदान पाउने अवस्था छैन् । हामी प्रतिफलमा आधारित अनुदानलाई बढोत्तरी दिएका छौ । त्यसले गर्दा यो क्रम घट्दो रहेको छ । 

स्मार्ट कृषि गाउँ कार्यक्रम लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजना हो । यो वहुवर्षिय कार्यक्रम हो लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ देखि सुरुवात गरेर २०८०/०८१ सम्म यो कार्यक्रम संचालन छ । रोल्पा जिल्लामा २०७६÷०७७ सालदेखि यो कार्यक्रम सुरु गरियो । यो आर्थिक वर्षसम्म निरन्तर छ । गत वर्ष एउटा कार्यक्रम थबाङ गाउँपालिकाको वडा नम्बर ३ मा भित्रिवन स्मार्ट कृषि गाउँ कार्यक्रम सम्पन्न भयो । र, त्यो हस्तान्तरणको क्रममा छ । त्यसैगरी यो आर्थिक वर्षमा चालु ३ वटा स्मार्ट कृषि गाउँ कार्यक्रम अन्तरगत रोल्पा नगरपालिकाको ह्वामामा, रुन्टीगढीको रामबनमा यसैगरी माडी गाउँपालिकाको कोर्चाबाङमा बाख्राको स्मार्ट कृषि गाउँ कार्यक्रम संचालन भए । अब समापनको क्रममा रहेको छ । मुख्यगरी बाख्राको सम्भावना हेरेर, त्यहाँको भुगोल हेरेर, पशुहरुको आहाराको अवस्थालाई हेरेर र त्यसको बजारलाई पनि ख्याल गरेर बाख्राको कार्यक्रम यहाँ छनोट गरिएको थियो । र यसमा बाख्रा पालन कार्यक्रमलाई सपोर्ट हुने गरी ५ वटा संवाहक त्यस भित्र पर्दछन् । 

पशु आहाराको कुरा सम्बोधन हुने गरी पशु पोषण स्मार्ट भनेर एकदमै सुधारिएका दाले घाँस, उच्च पोषण युक्त घाँस देखि लिएर, किसानहरुले दाना बनाउने काम भयो । नश्ल सुधारको लागि प्रविधि स्थापना भयो । ५० देखि ६० समुहमा कृषकहरुले खोर पनि बनाउनु भयो । एकदमै सुधारिएका खोरहरु बनाउनु भएको छ । त्यहाँ बाख्राको लागि चाहिँने आवश्यक दाले घाँसहरु भुई घाँसहरु व्यवस्थापन गर्नुभएको छ । त्यस्तै घाँस कात्ने मेसिने देखि लिएर च्यापकटरहरु पनि त्यहाँ उपलब्ध भएको छ । यसैगरी बोकालाई खसी पार्नको लागि आवश्यक पर्ने औजारहरु पनि प्रयोग भएको छ । स्वास्थ्य व्यवस्थापन गर्नका लागि ४ वटै समूहमा हामीले १ जना प्राविधिकको व्यवस्थापन गरेका छौं ।

भ्याक्सिन वा रोग लागिसकेपछि त्यसको उपचारको लागि बन्दोवस्त मिलाएका छौं । जलवायू परिवर्तनलाई समेत ख्याल गरेर व्यवसायिक बाख्रा पालनलाई सपोर्ट हुने गरी प्रविधिको पनि व्यवस्थापन गरिएको छ । बाख्राहरुको लागि चाहिने स्वच्छ पानि तथा घाँस खेतीका लागि चाहिँने सिंचाईको व्यवस्था स्मार्ट कृषिमा उपलब्ध गराएका छांै । मुख्यगरी कृषकको क्षमता अभिवृद्धि गर्नको लागि बाख्रापालनसँग सम्बन्धित तालिम, घाँस खेतीसँग सम्बन्धित तालिमका साथै बजारिकरणसँग सम्बन्धित तालिम संचालन गरेका छौं । त्यसैगरी पशुजन्य उत्पादन र उत्पादकत्व वृद्धि सँगसँगै बजारिकरणको लागि पनि एकदमै ख्याल गरेर सबै स्मार्ट कार्यक्रममा मासु पसल सुधार संकलन केन्द्रको स्थापना भएको छ । 

माडी गाउँपालिकामा मासू पसल सुधार गरिएको छ । रुन्टिगढीमा संकलन केन्द्रको स्थापना गरिएको छ । त्यसैगरी रोल्पा नगरपालिकामा पनि मासू पसल व्यवस्थापन गरिएको छ । घरघरमा खसी बोका तौल लिएर विक्रि गर्नको लागि मेसिनहरु उपलब्ध गराईएको छ । यसले गर्दा बजारिकरणमा पनि सहयोग पुगेको छ । समग्रमा भन्दा स्मार्ट कृषिगाउँ कार्यक्रम एकदमै सफल भएका छन् । वहुवर्षिय कार्यक्रम भएकोले किसानलाई ४ वर्षसम्म निरन्तर सपोर्ट भयो । यसले किसानमा हौसला आएको छ । र, नमूनायोग्य काम मान्न सफल भएको छ । यद्यपी स्मार्ट कार्यक्रम हस्तान्तरणको चरणमा रहेका छौं । जब यी कार्यक्रममा हाम्रो दायित्व सकिन्छ त्यहाँको समूह समितिलाई हस्तान्तरण गर्दछौं । यसको दिगोपना र अहिलेसम्म भएका गतिविधिलाई भोली पनि कायम राख्ने, किसानलाई बढी भन्दा बढी नाफामूखी बनाउने र कृषकलाई त्यहाँ भएको आधुनिक प्रविधिको प्रयोग गर्ने वातावरण वनाईने छ ।

कोर्चावाङका स्मार्ट कृषि गाउँ कार्यक्रमको अध्यक्षले ३० वटा बोयर जातका बोकाहरु बिक्रि गर्नुभयो र सिफारिस लिन हाम्रो कार्यालयमा आउनु भएको थियो । त्यस्ता किसानहरु एकदमै धेरै हुनुहुन्छ सुरुको । १/२ वर्ष उहाँहरुको लगानी लाग्यो । उहाँहरु लगानीको क्रममा हुनुहुन्थ्यो । अहिले वर्षको ५/७ लाख रुपैँया प्रतिघरले आयआर्जन गर्ने अवस्थामा पुग्नुभएको छ । कोर्चावाङमा किसानको लगानी कटाएर पनि ३/४ लाख वर्षमा नाफा आएको छ ।

किसानलाई आफ्नो घरखर्च चलाउने, बच्चाबच्ची पढाउने भएको छ । यसलाई अझै निरन्तरता दिदै जानुभयो भने वर्ष ४/५ लाख कमाउन गाह्रो छैन भन्ने किसिमको उदाहरण कोर्चावाङले दिएको छ  त्यसैगरी अन्यत्रका स्मार्ट कृषिबाट पनि आयस्तर बढिरहेको छ । बाख्रा पालन गर्दा जुन प्रविधि अपनाउनु भयो, त्यसले गर्दा लागत कर्जा पनि घटेको छ । र, बजारिकरणमा पनि सहयोग गरेको छ । खेति प्रणालीलाई छोडेर किसानहरु अहिले व्यवसायिक बाख्रा पालनमा लाग्नुभएको छ । त्यसले गर्दा आम्दानीको स्रोत बढेको छ । त्यसकै सिको गर्दै अरुले पनि सुरुवात गरेका छन् । यसले गर्दा रोल्पामा बाख्रा पालनमा प्रचुर सम्भावना छ । यसले फड्को मार्ने देखिन्छ ।

प्रकाशित मिति : २०८१ साउन ३२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस