महिला भएकै कारण उपाध्यक्ष भएर पनि सेरेमोनियल भई बस्नुपर्ने बाध्यता छ 

आजभोलि केमा व्यस्त हुनुहुन्छ ? कार्यकाल कसरी बितिरहेको छ ?

भरखरै मात्र आर्थिक वर्ष सकिएको छ । नयाँ बजेट कार्यन्वयन हुने चरणमा छ । कति पय आफ्ना पारिवारिक र व्यक्तिगत कामहरू पनि छन् । अब जनतासँग जोडिएका कामहरू त छँदैछन् । समय गतिशील छ । हामी जनप्रतिनिधि भएकोले जनताकै काम कार्यमा समय बितिरहेको छ ।

तपाई गाउँपालिका उपाध्यक्षमा निर्वाचित भइसकेपछि सम्पन्न कामबारे केही बताइदिनुस् न ?

यो दुईवर्षे कार्यकालमा न्यायिक कार्य सम्पादन, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक आदि जस्ता कार्यहरू सम्पन्न भएका छन् । तर ती सबै पर्याप्त छैनन् । यो सुकिदह गाउँपालिका विकासका थुप्रै सम्भावना बोकेको पालिका हो । विभिन्न क्षेत्रको विकासको लागि हामीले प्रदेश हुँदै केन्द्रसम्म पहल गरेका छौँ । आशा छ केही सम्बोधन हुनेछन् ।

गाउँपालिकाको नयाँ एजेन्डा के छन् ?

जनताका तमाम आवश्यकताहरू छन् । जसलाई विगतदेखि निरन्तर सम्बोधन गर्ने प्रयास गरिएको छ । नयाँ एजेण्डामा यस पालिकाको केन्द्रमा रहेको विवादलाई निरुपण गर्ने र यो आर्थिक वर्षमा प्रशासनिक भवन निमार्ण गरी एक ठाउँबाट नै पालिकाका कामकाजहरू गर्ने रहेको छ ।

महिला भएकै कारण नेतृत्वमा रहेर काम गर्दा के–कस्ता चुनौती सामना गर्नुपरेको छ ?

समानताका कानुनहरू बनेका छन् । कानुनले अधिकार दिएको छ । तर अधिकार कागजमा सीमित छन् । महिला नेतृत्व भएर मात्र भएर हुँदैन नि त । हाम्रो संस्कार संस्कृति सोच त पुरुष प्रधान नै छ । यहाँ घर होस वा कार्यस्थल । यहाँ मैले के देखे भने काम धेरै गर्नुपर्ने, जनताका सरोकारका विषयमा जोडिनु पर्ने, जवाफदेही हुनुपर्ने तर निर्णय गर्दा सेरेमोनियल बस्नुपर्ने ।

कानुनको पूर्ण कार्यान्वयन नहुँदासम्म मलाई लाग्छ उपाध्यक्ष भनेको त सेरेमोनियल पद हो । त्यसैले बुझ्नुहोस् । अब चुनौती र समस्याहरू के कस्ता रहेछन् ? अनुगमनमा जाँदा, बाहिरका कार्यक्रममा जाँदा, कार्यपालिकाका निर्णय गर्दा समेत महिला भएकै कारणले होला सायद फरक नै हुँदोरहेछ । मलाई लाग्छ जब हामी पुरुष प्रधानताको सोचबाट माथि उठ्न सक्दैनौनि समाज विकास त! होला । तर संस्कार विनाको हुन्छ ।

गाउँपालिकाले महिला लक्षित कार्यक्रम ल्याएको छ वा छैन, छ भने के–कस्ता छन् ?

महिला लक्षित कार्यक्रम ल्याएको छ । महिलाको क्षमता अभिवृद्धि कार्यक्रम, महिला हिंसा तथा बालविवाह विरुद्ध कार्यक्रम, महिलालाई आर्थिक उत्पादनसँग जोड्नका लागि सरफ बनाउने तालिम, सिलाइ कटाइ तालिम, सुत्केरी र बच्चाको पोषण सम्बन्धीका थुप्रै कार्यक्रमहरू सम्पन्न भएका छन् ।

गाउँपालिकाको विकास र समृद्धिका लागि अझै के–कस्ता कार्यक्रम ल्याउनुपर्ला ?

गाउँपालिकाको विकास र समृद्धिका लागि थुप्रै कामहरू गर्नु पर्ने हुन्छ । मलाई लाग्छ गंगादेव वासीहरुलाई सुखि बनाउने महान काम राज्यबाट पालिकामा आउने बजेटले केही पनि हुँदैन । अधिकांश बजेट चालुगत खर्चमा जाने गर्छ । केही रकम शिक्षक तथा कर्मचारी व्यवस्थापनमा जान्छ । सानो रुपमा पालिकाभर वितरण गरिने पालिकाको बजेटले जनताका आवश्यक्ता पूर्णरुपमा हुन धेरै समय लाग्छ ।

सदरमुकामलाई जोड्ने बाटो निर्माण गर्न सुरुवात गरेको दशकौ बित्तिसके तर अहिलेसम्म ट्याक खुल्न सकेको छैन । मुख्य बजार जोड्ने बाटो आकाशमा बादल देखिन वितिकै अबरुद्ध हुन्छ जस्लाई केन्द्रले सम्बोधन गर्न सकेको छैन ।

नेपाल जस्तो आर्थिक रुपमा कमजोर राज्यमा स्थानीय निकाय वा सरकारले मात्र समृद्धिमा जान सकिदैन होला । यसको लागि राज्यले विकासका पूवार्धारको दिगो विकास गर्न जरुरी छ । यहाँको अहिलेको मुख्य आवश्यक्ता भनेको सडक, कृषिलाई व्यवसायीकरण, गुणस्तरीय शिक्षा, खानेपानी, स्वास्थ्य रहेका छन् । रोल्पाकै कृषि उत्पादनमा अगुवाको रुपमा रहेको पालिका भएकोले कृषिबाट नै यहाँका जनताको जीवनस्तर उठाउन सकिन्छ ।

संविधानले व्यवस्था गरे अनुसार तपाईं न्यायिक समितिको संयोजक पनि हुनुहुन्छ । तपाईंहरुसामु कस्ता खालको उजुरीहरु आउँछन् र कसरी मिलाउनु भएको छ ?

न्यायिक समितिमा लेनदेन, झगडा, अंशबण्डा, पानी, साँधीसेवान जस्ता मुद्दाहरु आउँछन । हामीले निरुपण गर्न पाउने उजुरीहरु मेलमिलापबाट नै निरुपण गरेका छौँ । कतिपय समाधान गर्न कानुनले नै नदिएका समस्याहरुको समाधान गर्ने बाटो सिकाइदिन्छौँ। अहिले प्रत्यक वडामा तालिम प्राप्त मेलमिलाप कर्ता भएकोले जनतालाई पालिकासम्म दुःख नदिने उद्देश्यले वडास्तरमा मिलाउने गरिएको छ । भने जटिल प्रकारका समस्याहरू न्यायिक समितिसम्म आउँछन् ।

न्यायिक समितिबाट साँच्चिकै अन्यायमा परेकाहरुले न्याय पाएका छन् त ?

हामीकहाँ आएका उजुरीहरुको निराकरण गर्दा एक आपसमा दुवै पक्षको सहमतिमा मेलमिलापबाट गरेका छौ । त्यसैले गर्दा मलाई लाग्छ, उहाँहरुले न्याय पाउनु भएको छ । कुरा के भने न्याय पाएको अनुभूति त पिडितले गर्ने हो । यहाँ मेलमिलापबाट समस्याको हल गरिने भएकोले दुवैपक्ष सन्तुष्ट रहन्छन् ।

तपाईं नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ । न्यायिक इजालासमा कत्तिको पार्टीको हस्तक्षेप हुन्छ ?

न्याय निरुपनमा राजनीतिक दवाव हुनहुदैन भन्ने मेरो मान्यता हो । पार्टीको हस्तक्षेपले न्यायिक इजलासमा कुनै प्रभाव पार्दैन र परेको पनि छैन् ।

उपाध्यक्ष अनुगमन समितिको संयोजक पनि हुने व्यवस्था छ । अनुगमन चाहिँ चाडपर्वको बेलामा मात्रै हुने, तर प्रभावकारी हुन नसकेको गुनासो छ । किन अनुगमन प्रभावकारी हुन नसकेको हो ?

गंगादेव गाउँपालिकामा ठूला बजारका क्षेत्रहरु छैनन् । प्रत्यक टोलमा केही पसलहरु छन्, साना बजारहरु छन् । अब यसरी छरिएर रहेका सबै बजार क्षेत्रमा नियमित अनुगमन गर्न अलि कठिन छ । विगतमा हामीले अनुगमन गरेका हाैँ ।

अनुगमनको समयमा केही व्यवसायीहरुको क्षति भएता पनि त्यसको प्रभाव राम्रो रह्यो । नियमित अनुगमण गर्ने कुरामा पनि एक आपसमा तालमेल, सहयोग, एकताका साथै आर्थिक कुराले पनि प्रभाव पार्दो रहेछ । अनुगमणका योजनाहरु छन् । तर भनेको समयमा गर्न सकिएको छैन् ।

आगामी योजना के छन् ?

जनतासँग प्रत्यक्ष जोडिएका विषयहरुको न्यूनतम विकास तथा आवश्यक्ता पुरा गर्नुपर्छ भन्ने मुख्य योजना हो । तर अनुभूति के रह्यो भने पुरुष प्रधान देशमा सोचेअनुसार सबै पुरा गर्न कठिन हुदो रहेछ ।

अन्त्यमा केही छ?

हाम्रो तिर सानोतिनो कुराहरुलाई पनि नकारात्मक रुपमा सोच्ने र मिडियाबाजी गर्ने परम्परा अलि धेरै छ । सकारात्मक सोचको विकास गरौँ र समस्यामा समाधानका उपाय सहितको सल्लाहको अपेक्षा गर्दछु । हरेक कुरामा ख्याल गर्न समग्र सुकिदहबासीहरुमा अनुरोध गर्दछु । 

प्रकाशित मिति : २०८१ असोज २२ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस