दशवटासम्म पुस्तकहरु प्रकाशन गर्ने धोको छ

साहित्यिक यात्रा कहाँबाट शुरु भयो ?

२०५३ सालमा गोरखापत्रमा प्रकाशित मेरो कथा ‘भाग्य र कर्म’ बाट मेरो साहित्य यात्रा शुरु भएको हो । त्यसपछि कान्तिपुरमा चेतनामूलक लेख, लघुकथा र कविताहरु प्रकाशन हुनथालेपछि मेरो साहित्यिक यात्राले तीब्रता लियो ।

लेख–रचनामा कति व्यस्त हुनुहुन्छ ?

मलाई अहिले विशेष गरी साहित्यिक सञ्चार माध्यमहरुले सम्पर्क बढाएका छन् । साथै साहित्यिक संस्थाहरुसँग निकट हुनथालेको छु । अन्य लेखहरुका लागि अन्य सञ्चार माध्यमहरु त छँदैछन् । व्यस्तता ज्यादा नै छ । राती निद्रा पु¥याउन पनि गाह्रो छ ।

दिनमा कतिवटासम्म लेख–रचनाहरु तयार गर्नुहुन्छ ?

दिनमा चारवटासम्म मेरा लेखरचनाहरु प्रकाशन भएको इतिहास छ । दिनको एकदुईवटा त मामुली हो । तयार त पाँच छ वटासम्म पनि हुनेगरेका छन् । राती पाँचघण्टा मात्र सुत्ने अवस्था छ । पहिले मैले मिडियाहरु खोज्थेँ भने अहिले मिडियाहरुले मलाई खोज्नेगरेका छन । आफूलाई व्यस्तता राख्नु जरुरी पनि छ । ‘खाली दिमाग सैतानको बास’ भन्ने त उखानै छ । तर धेरै व्यस्त हुँदा एकोहोरो भइने कुरा सत्य हो । खुकुलो बनाउने प्रयासमा छु ।

तपाईको आत्मकथा संग्रह ‘ओगिल्जा’ को पहिलो प्रकाशनबाट निकै फाइदा भयोहोला नि ?

‘ओगिल्जा’ ले राम्रै बजार पाएको र छोटो अवधिमै सकिएको हुँदा दोस्रो संस्करण प्रकाशन गर्ने योजनामा छु । पहिलो प्रकाशनबाट लगानी खासै उठेको छैन । गुणस्तरीय कागज भएको र मूल्य कम भएको कारण आर्थिक हिसाबले फाइदा भएको छैन । पाठकहरुद्वारा पुस्तक रुचाइएको कुरालाई नै ठूलो उपलब्धि ठानेको छु ।

छोटो अवधिमै यति धेरै चर्चा कमाउनुभयो उपलब्धि के छ त ?

मेरै जीवनमा आधारित ‘अमर अधिकारीः ब्यक्तित्व र कृतित्व’ नामक पुस्तक पनि प्रकाशन हुँदैछ । दशैसम्ममा पुस्तक प्रकाशन गर्ने लक्ष्य छ । यो नै मेरा लागि ठूलो उपलब्धि हुनेछ ।

मैले लेख दुईघण्टामै, गीत–कविता पन्ध्र मिनेटमै र मुक्तक तीनमिनेटमै रच्नसक्छु । बसको टिकट, एटिएम स्लिप, बिल, भर्पाई सबैका पछाडि रचना गरेकै हुन्छु । हिँड्दाहिँड्दै बाटोमै मोबाइलमै रचना गर्ने अर्को क्षमता हो मेरो । साथै बसयात्रा गर्दागर्दै पनि मोबाइलमा लेख्न भ्याउँछु ।

देशको अवस्थाका बारेमा चिन्तित हुनुहुन्छ हैन ?

सिंहदरबार र वरिपरि पन्ध्रवर्ष सरकारी सेवा गरेकोले देश किन विग्रियो र समाधानका उपाय के के छन् भन्ने विषयमा केन्द्रित रहेर लेखहरु लेख्दैआएको छु । चालिस वर्ष काठमाडौँको बसाई त्यसमा पनि सिंहदरबार सेरोफेरोमा रहेर सरकारी सेवा गर्दैगर्दा देशको अवस्था बारे धेरै बुझेको छु । देशको अवस्था दयनीय छ । सक्षम युवाहरु विदेशिने क्रम जारी छ, रोकिने छाँटकाँट छैन ।

जोखिम मोलेर काम गर्न खाडी मुलुकमा जाने युवाहरुलाई रोक्न सक्नुपर्छ । देशभित्रै रोजगारीको अवसर सृजना गर्नुपर्छ । चाहे एकतिहाई कमाई किन नहोस् ।

हालसम्मका तपाईका कृतिहरु कुन–कुन हुन् र भविष्यका योजनाहरु के के छन् ?

पहिलो कृति २०६१ सालमा बाल कविता संग्रह ‘ईन्द्रेणी’ दोस्रो कृति आत्मकथा संग्रह ‘ओगिल्ला’ र तेस्रो कृति शब्दकोश ‘रापतीका अलग शब्दहरु’ प्रकाशित भए । भविष्यमा थप दशवटासम्म पुस्तकहरु प्रकाशन गर्ने धोको छ । रोल्पाली सेरोफेरोको एउटा गीत बजारमा आइसकेको छ । बाँकी गीतहरु र भजन रेकर्डिङका लागि कुरा भैरहेको छ ।

भ्रमण गर्न बा“की कुन ठाउँ छ ? शुभचिन्तकहरु त निकै कमाउनुभएको देखिन्छ नि ?

सुदूरपश्चिम प्रदेश बाहेक सबै प्रदेश भ्रमण गरिसकेको छु । आउँदो तिहारपछि सुदूरपश्चिम प्रदेश भ्रमणको निम्तो आइसकेको छ । शुभचिन्तकहरुले खान, बस्न र स्थानीय सवारी साधनको व्यवस्था गरिदिनुहुन्छ । शुभचिन्तकहरुबाट प्राप्त सद्भाव र सहृदयता नै मेरा लागि ठूला सम्पत्ति हुन् । धन सम्पत्तिलाई म खासै महत्व दिँदैन ।

तपाइँप्रति शुभचिन्तकहरु कत्तिको आकर्षित हुनुहुन्छ ?

मेरो फेसबुक एकाउन्ट नै एक प्रकारको मिडिया नै बनेको छ । कतिपयले मलाई ब्राण्ड एम्बेसडर नै बनाइदिनुभएको छ । शुभचिन्तकहरुले आफ्नो ब्यवसाय प्रवद्र्धन लागि मलाई ट्याग हाइलाइट गरिदिनुहुन्छ । कतिपयले मेरो लेखलाई नै विद्यालयमा टाँस्ने गर्नुभएको पाएको छु । किन कि मैले चेतना र ज्ञानका विषयमा पनि लेख्ने गर्छु ।

समाज सेवामा पनि संक्रिय हुनुहुन्छ ?

लेखहरु मार्फत् पनि समाज सेवा गरिरहेकै छु । समाज सुधारका विषयमा पनि लेखहरु लेख्छु । गाउँमा विभिन्न मठ–मन्दिर निर्माणका लागि आर्थिक सहयोग पनि गरेकै छु । म आर्थिक हिसावले सम्पन्न व्यक्ति चाहिँ होइन ।

रोल्पाबाट काठमाडौँमा बसाइसराइ गरेपछि के फाइदा भयो ?

सरकारले घरपायक सरुवा गराउने भन्दै नयाँ ठेगाना कायम गराउन उर्दी जारी गरेपछि काठमाडौँमा बसाइसराइ गराइयो । सरकारले भने बमोजिम घर पायक सरुवा भएन, बसाइसराइ बेकार गराइयो अब त्यो फिर्ता गर्नुछ । म रोल्पाली नै हुँ ।

सरकारी जागिर खाने क्रममा के के अप्ठ्यारा परिस्थिति आए ?

जागिर खाँदाका हण्डरहरु धेरै नै छन् । पहिलो कुरा रोल्पाली भएकै कारण दुःख दिन खोजियो, अप्ठ्यारो ठाउँमा सरुवा गर्न खोजियो । दोस्रो कुरा मलाई कार्यालय नै नभएको ठाउँमा सरुवा गरियो, जसका कारण मलाई एक वर्षसम्म तनाव भयो ।
अस्वस्थ भई मेडिकल बोर्डको सिफारिस पेश गर्दा समेत मलाई अनुकूल स्थान र कार्यालयमा सरुवा गरिएन । साथीहरुले पैसा खुवाएपछि भनेकै ठाउँमा सरुवा हुन्छ भने । तर म पैसा खुवाएर सरुवा गराउने पक्षमा थिइनँ ।

तेस्रो कुरा दुई निकायका लेखापालहरुले मैले पाउनुपर्ने भत्ता नै नदिएर अन्याय गरे । तमाम कुराहरु मेरो पुस्तक ‘ओगिल्जा’ मै उल्लेख गरेको छु ।

जीवन र संघर्षमा के फरक छ ?

मेरो पुस्तक ‘ओगिल्जा’ पढेमा संघर्ष के हो ? झिनो सफलता के हो ? त्यो छर्लंगै छ । सो पुस्तक जीवनको एक दर्पण पनि हो ।
सुखलाई मात्र जीवन भनिदैन भन्ने मेरो धारणा हो । पन्ध्रवर्षसम्म थोत्रो ल्यापटपमा काम गर्दै आएको छु । कतिपय काम मोबाइलमै गर्छु ।

वर्षदिनको अवधिमा प्रकाशित मेरा लेखहरुको संगालो मात्रै पाँचसय पृष्ठको पुस्तक बन्ने देखिन्छ । संघर्षले जीवनमा सकारात्मक परिवर्तन ल्याउँछ भन्ने कुराको ज्वलन्त उदाहरण म नै हुँ ।

साहित्य–लेखनमा कीर्तिमान पनि कायम गर्नुभएको छ, के के हुन् ती कीर्तिमानहरु ?

मैले कायम गरेका हालसम्मका तीन कीर्तिमानहरुमा नेपालको सबैभन्दा छोटो लघुकथाका रचनाकार एउटा हो ।
दोस्रो कीर्तिमान मोबाइलमै पुस्तक तयार गर्ने लेखक पनि मै हुँ भने दैनिक चारवटासम्म लेख–रचना प्रकाशन गर्ने लेखक–साहित्यकार पनि म नै हुँ । छोटो अवधिमै बजारबाट पुस्तक सकिनु पनि अर्को कीर्तिमानी हो, ठोकुवा चाहिँ गर्दिनँ ।

अरु अनुभवहरु बारे बताइदिनुहुन्छ कि ?

कुनैबखत काठमाडौँमा सकृय रहेको संस्था रोल्पा विकास समाजको कोषाध्यक्ष भएर काम गरेको थिएँ । समाजको मुखपत्र ‘रोल्पा–बिम्ब’ को पहिलो अंकका लागि ब्यवस्थापक र दोस्रो अंकका लागि सल्लाहकार भएर पनि काम गरेको छु ।
बाल साहित्यिक पत्रिका ‘बालमार्ग’ को सकृय सल्लाहकार भएर पनि काम गरेको अनुभव छ ।

प्रकाशित मिति : २०८१ असोज ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस