अन्तर्वार्ता :

कृषि जन्य उत्पादन र शिक्षामा विशेष जोड दिएका छौँ

के काममा व्यस्त हुनुहुन्छ हिजोआज ? वडा कार्यालयका पछिल्लो गतिविधि के छन् ?

हिजोआज सामाजिक कामसँगै वडाकै काममा बढी व्यस्त छु । जनप्रतिनिधि भैसकेपछि वडाका सबै जनप्रतिनिधि निरन्तर जनताको काममा जुतिरहेका छौँ र कहिलेकाहीँ जनताका समस्याहरू समाधान गर्न तर्फ व्यस्त हुन्छौँ ।
विभिन्न विवादहरू हुन्छन्, ति विवादहरूको समाधानको कुरामा, विकासका कुराहरूमा लागिरहेका छौँ । जनतालाई सजिलो हुने गरि काम गरिरहेका छौँ । 

जनतालाई चुनावको समयमा गरेका बाचाहरू मध्ये कति काम सम्पन्न भयो र कति काम हुन बाँकी छ ?

जनतालाई चुनावको समयमा गरेका बाचाहरूमा हामीले जनतालाई भनेका थियौ, तपाईंले चुनावमा जिताउनुस् । जितिसकेपछि हामी सुशासनको क्षेत्रमा धेरै राम्रो काम गर्ने छौँ । सुशासन भनेको प्रत्यक्ष जननिर्वाचित सरकारसँग नहिच्किचाई आफूलाई आवश्यकता अनुसारको काम र आवश्यकताको बारेमा कुरा राख्नु हो ।

हामी जनतालाई आफ्नो अधिकार सुनिश्चित गर्नका लागि गरेको वाचामा अगाडि लागिरहेका छौँ । र सकेसम्म निर्वाचन बेलाका ति घोषणा पत्रमा उल्लेख गरेका कुराहरू क्रमशः पुरा गर्ने प्रयत्न गरिरहेको छु ।

वडाका हरेक गतिविधि सञ्चालन गर्दा वडाबाट निर्वाचित भएर आएका वडा सदस्यहरूलाई सहभागी गराइँदैन भन्ने छ, हजुरको वडामा यस्तो छ कि छैन ?

मेरो वडामा जनप्रतिनिधि मात्र होइन कार्यालयका कर्मचारीहरू लगायत सबैसँग छलफल गरेर के के काम गर्न मिल्छ र के काम गर्दा जनताको हितमा हुन्छ भन्ने बारे ध्यान दिइन्छ । जे गर्दा जनताको पक्षमा हुन्छ, नितान्त जनताको आवश्यकता र चाहना पुरा गर्न सकिन्छ भन्ने कुरा वडा समितिमा छलफल हुन्छ । त्यसपछि मात्र योजनालाई अगाडि बढाइन्छ । वडा सदस्यहरूलाई सहभागी नगराउने भन्ने हाम्रो वडामा छैन । वडा समितिकै निर्णय अनुसार काम कारवाही अगाडि बढाइन्छ । 

कृषि क्षेत्रमा वडाको योजना के छ ? 

कृषि क्षेत्रमा वडाको योजना भन्नुपर्दा वडासँग त्यस्तो पर्याप्त मात्रामा बजेट त हुँदैन । तर, पनि विभिन्न क्षेत्रमा रहेका ति किसानहरूलाई करेसाबारीका लागि, तरकारी खेतीका लागि, विभिन्न बेमौसमी खेतीका लागि टनेलको व्यवस्थापन, बिउको व्यवस्थापन, मलको व्यवस्थासम्मका काम वडाले गरेको छ ।

पर्याप्त मात्रामा बजेट नहुँदा त्यो भन्दा धेरै गर्न हामिले सकेका छैनौँ । र आवश्यकता अनुसार किसानहरूलाई मल, बिउहरु वडाले वितरण गर्न सक्छ र दिइरहेको छ । 

वडाको समृद्धिका लागि कुन क्षेत्रलाई बढी प्राथमिकतामा राखेर काम गरिरहनुभएको छ ?  

वडाको समृद्धिका लागि खासमा हामीले वडाकै विकासका लागि एउटा मोडेलको रुपमा वडा बनाउन प्रयत्न गरिरहेका छौं ।
सुनिलस्मृति–३ का सम्पूर्ण क्षेत्रमा,  सम्पूर्ण वस्तीहरुमा बाटो असाध्यै राम्रो हुनुपर्छ सकेसम्म पक्की हुनुपर्छ, बाटो पछि खानेपानी, विद्युत र सँगसँगै शिक्षा, स्वास्थ्यलाई पनि असाध्यै जोड दिने गरेका छौँ ।

खासमा यि कुराहरुलाई ध्यान दिइरहेका छौ । बाटो, खानेपानी, शिक्षा, स्वास्थ्य राम्रो भयो भने नै मान्छेको जिवनस्तर माथि जान्छ र राम्रो हुन्छ भन्ने हिसाबले लागिरहेका छौं ।

शिक्षाको क्षेत्रमा तपाईको योजनाहरु के के छन् ?

शिक्षाको सन्दर्भमा निरन्तर लागि रहेका छौँ । शिक्षा आजको भोलि नै त्यति फरक पर्ने र आजको भोलि नै नतिजा आउने विषय होइन् । जनप्रतिनिधिको रुपमा स्थानीय सरकारमा आएपछि शिक्षाको लागि निरन्तर अन्तरक्रिया, छलफल, अभिभावक भेला, विद्यालय व्यवस्थापन समितिको वैठक, अभिभावक र शिक्षकको छलफल, अन्तरक्रिया गराइराखेको छु । र हामीले निरन्तर शिक्षाको विषयमा जोड गरिरहेका छौँ । शिक्षामा क्रमस सुधार भैरहेको छ ।शिक्षामा परिवर्तन आउछ भन्नेमा म विश्वस्त छु र आउछ पनि । शिक्षामा विगतको भन्दा राम्रो छ । 

अहिले विपद्को समय पनि रहेको छ विपद् प्रतिकार्यको विषयमा के सोचिरहनु भएको छ ?

अहिले विपद्को समय भएकाले विपद् प्रतिकार्यको सन्दर्भमा हामीले त्यस्तो जोखिम पूर्ण ठाउँहरुमा मान्छेहरुलाई सकेसम्म घरहरु नबसाल्ने, बस्ती नबसाउने, पहिलेदेखि बसिरहेको ठाउँमा पनि सतर्कताका साथ बस्नका लागि जनचेतनामूक कार्यक्रम मार्फत सन्देशहरु दिएका छौं ।

उहाँहरुलाई सुरक्षित ठाउँमा बस्नका लागि आव्हान र खबर गरिरहेका छौं र यदि त्यस्तो अवस्था आएमा वडाले पनि विपद् व्यवस्थापन समितिमा गाउँपालिका मार्फत केहि त्यस्ता सामान्य सहयोगहरु गर्ने तयारीहरु गरिहरेका छौं र जानकारी मूलक कार्यक्रमहरु गरिरहेका छौँ । 

स्वरोजगार मुलक कार्यक्रमहरू वडामा कत्तिको हुने गरेको छ ?

म वडाध्यक्ष भैसकेपछि २० जना महिलाहरुलाई सिलाई कटाई तालिम गराएको थिएँ र सीप सिकेपछि ति महिलाहरुलाई मेसिनहरु पनि उपलब्ध गराउने वातावरण मिलाएका थियौँ । त्यस पश्चात महिला या पुरुष इच्छुक जो कोहि पनि सीप सिकेर व्यवसायिक बन्नका लागि भनेर ड्राइभिङ सेन्टर कार्यक्रम संचालन गरेका थियौँ । आवश्यकता अनुसार महिला या पुरुष जो कोहिले पनि सिक्ने वातावरण मिलाएका थियौँ ।

सिलाई कटाई तालिम प्राप्त गरेका मध्ये ५ जनाले सुलिचौर बजारमै व्यवसाय संचालन गरेर बसेको देखेको छु । मैले उहाँहरुलाई भेट्न पनि गएको थिएँ । भेटेर बधाइ पनि दिएको थिएँ ।

कतिपय सीप सिकेका व्यक्तिहरु गाउँमै पनि व्यवसाय गरेर बसिरहेका पनि छन् । सीप सिकेका २/४ जना बाहेक अधिकांशले व्यापार व्यावसाय संचालन गरेर बसेका छन् । 

वडामा यो आर्थिक वर्षमा के कस्ता कार्यक्रमहरु छन् ?

अहिले यो आर्थिक वर्षमा वडामा संघिय सरकारबाट सुनिलस्मृति–४ को सुलिचौर बसपार्क हुदै नुवाकोट जानेबाटोलाई ३ करोड ६१ लाख २५ हजार स्तरोन्ननती ग्राबेलको लागि भनेर आएको बजेट छ । र खालुलेकदेखि मिझिङसम्म खारा खोलादेखि मिझिङसम्म र खाराखोला देखि मिझिङसम्म भनेर सिंचाई कुलो भनेर बजेट परेको छ र प्रदेश सरकारबाट गजुल जानेबाटो बाट रोल्पा नगरपालिका जोड्ने गरि २ करोड बजेट परेको छ ।

प्रदेश स्वास्थ्य मन्त्रालयबाट आधारभुत स्वास्थ्य केन्द्रका लागि भनेर १६ लाख बराबरको बजेट छ र प्रदेशबाट वस्ती विकासका लागि २५ लाख छ भने अन्य साना विकास योजनाहरु पनि रहेका छन् । 

समाजमा अहिले पनि जातिय छुवाछुत सामाजिक कुरितिहरु विद्यमान छन्, यसको अन्त्यका लागि वडाले के गरिरहेको छ ?

जातीय छुवाछुतमुक्त गर्नका लागि वडा कार्यालयले बजेट विनियोजन गरेको छ । मलाई लाग्छ यो परम्परागत ढंगले यस्ता कुराहरू बढी मान्ने चलन छ र अहिलेपनि यस्तो अवस्था कायम रहि आएको छ ।म आफै वडा अध्यक्ष भएर पनि यस्ता जातिवादी कुराहरू मान्दैन र वडाध्यक्ष हुनु पूर्व पनि मान्दैन् थिएा ।  यसलाई निरन्तर फोकस गरिरहेका छौँ । नयाँ पुस्तामा विभेद करिब करिब अन्त्य भैसकेको छ र हुने कुरामा विश्वस्त छु ।

वडाको समृद्धिका लागि तपाईको भावि योजना के छ ? 

वडाको समृद्धिका लागि भावि योजनाका रुपमा सुनिलस्मृति–३ लाई शिक्षा, स्वास्थ्य, खानेपानी, रोजगारी असाध्यै प्राथमिकता दिनुपर्दछ । शिक्षामा आमुल परिवर्तन आउनु पर्दछ । स्वास्थ्य र खानेपानी पनि त्यस्तै हुनुपर्छ । क्रमशः सबै क्षेत्रमा विकास गर्नुपर्छ । साथ साथै हामीले कृषिलाई विशेष जोड दिनुपर्छ ।

कृषि क्रान्तिमा हामी निरन्तर लाग्यौँ भने मझौला खालको भएपनि कृषि उद्योग संचालन गर्न सक्यौँ भने कृषिमा विकास हुन सक्छ भन्नेमा म विश्वस्त छु । मिझिङको अधिकांश भुभागमा बढी संभावना बोकेको भनेको तरकारी र फलफूलको रहेको छ ।

कृषिमा संभावनाको कुरा गर्नुभयो, किसानहरूलाई व्यवसायिक खेती तर्फ उन्मुख गराउने कुरामा कसरी सोचिरहनु भएको छ?

कृषिमा राम्रो छ । सिंचाईको पर्याप्त मात्रामा पहुँच रहेको छ । जस्तै फर्साचौर, तल्लो खारा, उपल्लो खारा, डाइबाङ भोबाङदेखि लिएर यो क्षेत्रलाई एउटा कृषि जोन बनाउने र साझा रुपमा सरकारले त्यसमा लगानी गर्ने र कृषकको अपनत्व हुने गरी आपूmले मूनाफा लिने गरि हामीले त्यस्तो प्रकारको कृषिमा क्रान्ति ग¥यौँ भने हामीले तरकारी बाहिरबाट खरिद गर्नुपर्दैन ।
हामीसँग त्यसको लागि पर्याप्त भुगोल छ । सिंचाईको सुविधा रहेको छ । उत्पादनको बजारिकरणका लागि हामिले सिंगो गाउँपालिकामा पनि यो कुरा राखिरहेका छौँ ।

सुनिलस्मृति, लुंग्री र सुनछहरी गरी तिन गाउँपालिकाको मातहतमा रहने गरि एउटा चिस्यान केन्द्र पनि बनाउने र उत्पादन भएका ति वस्तुहरुलाई सरकारकै स्वामित्वमा लिने र विक्रि वितरण गर्ने गरी सरकारले सोंच बनाइरहेको छ । र उत्पादनमा वृद्धि भएमा त्यो संभावना रहेको छ । बजारिकरणका लागि त्यति गाह्रो छैन् । 

वडामा पर्यटनको सम्भावनाको अवस्था कस्तो छ ?

वडामा पर्यटनको संभावना पनि रहेको छ । वडाबाट पहल गरेका छौँ । प्रदेश र संघ सरकारले पनि सहयोग गरेमा पर्यटनको राम्रो सम्भावना छ । असाध्यै राम्रो हरहरेधारा भन्ने ठाउँ पर्यटनको संभावना बोकेको ठाउँ छ । विछ्यधुरी भन्ने ठाउँ छ ।
घरलिधारा भन्ने अचम्मको ठाउँ छ । संभावना अत्यन्तै बोकेको छ । साच्चै कुरा गर्ने हो भने सुनिलस्मृति–४ छिर्नेदेखि माथि डाडाँसम्म केबुलकारको व्यवस्था हुने हो भने सुनिलस्मृति–३ सबैभन्दा पर्यटनको राम्रो संभावना बोकेको वडा हो । 

यो आर्थिक वर्षमा विनियोजित बजेट कार्यक्रमको कहिले देखि कार्यान्वयन गर्ने तयारीमा हुनुहुन्छ ?

अहिले विनियोजन भएको बजेटको असोज १५ गतेदेखि हामी सुरु गर्ने तयारीमा छौँ । हामिले वडा समितिको वैठक बसेर उपभोक्ता समिति गठन गर्नका लागि सार्वजनिक सूचना समेत आव्हान गरिसकेका छौँ ।

हामीले भदौको मसान्तसम्म सबै उपभोक्ता समिति गठन गर्ने तयारी गरेका छौँ । र भदौको मसान्तपछि अब छिटोभन्दा छिटो हामीले काम सुरु गर्ने तयारीमा छौँ । 

अन्यत्यमा केही छ ?

अन्त्यमा म तपाईलाई धन्यवाद प्रकट गर्दछु । वडा समितिको आवाज प्रकाशन गर्ने अवसर दिनुभयो । समग्र गाउँपालिका र वडा समग्रमा जनताको पक्षमा, किसानहरुको पक्षमा निरन्तर लाग्नुपर्दछ । र किसानहरूलाई माथि उठाउनका लागि आवश्यक अनुसारका विऊ, मल आदीको व्यवस्था र कृषिमा पकेट क्षेत्र बनाउने हाम्रो तयारी छ । मानव जिवनसँग जोडिएका महत्वपूर्ण विषयहरुलाई महत्वका साथ हेरेर काम गरिरहेका छौँ । यति भन्दै मेरो भनाई अन्त्य गर्छु ।

प्रकाशित मिति : २०८१ भाद्र २ गते आइतवार
प्रतिक्रिया दिनुहोस