शहरका चोक चोकमा ठूला होर्डिङ बोर्ड टाँसेर राज्यले युवा बेच्न निजी संस्थानलाई विज्ञापन गर्न अनुमति दिएको देख्दा लाग्छ कि यो मेरो देश युवा बेच्ने कारखाना खोल्दैछ । त्यही विज्ञापनले भन्छ, शिक्षामा निजीकरण भएन भने देशमा युवा बस्छ र देश बन्छ । जब शिक्षामा वैज्ञानिक खोज र अनुसन्धान गर्न राज्य तम्सिन्छ त्यो बेला युवाले देशमा रोजगार पाउँछ । युवा देशमा बस्यो भने कृषि, उद्योग र कलकारखाना खुल्छन् । देश समृद्ध बन्छ । तर, यो देशको राज्यले कहिलै शिक्षामा नवीनतम खोज र अनुसन्धान गर्न चाहन्न । त्यसो हुँदा प्रतिभाहरू हिजोको अवस्थामा अर्थात् पुरातन सोचमा बस्न चाहन्न ।
शहरका ठूला भवनहरूमा विदेशी कम्पनीका विज्ञापन छन् । त्यहाँ लेखिएको हुन्छ, ‘विश्वमा कहलिएका देशमा रोजगारीका लागि कामदार चाहिएको छ ।’ हामी त्यो देश जानका लागि बाटो सिकाइ दिन्छौ । नेपाली माटोमा बेचिन नसक्ने मान्छेलाई त्यो होर्डिङ बोर्डले सजिलै बेच्दैछ नेपाली युवालाई ।
२००७ साल पछि नेपाली शिक्षाको विकासले आज आउँदा छुट्टै संरचना बनाएर अघि बढ्न पर्ने हो । तर, आज पढेका पनि बेरोजगार नपढेका पनि बेरोजगार हुनु भनेको सरकार बिचौलियाहरूको हातमा जानू र निजी कम्पनीहरूले सजिलै युवा बेच्न पाउनु हो ।
देश हेर्दा पुरापुर निजी संस्थानको हातमा छ । सामुदायिक विद्यालयहरू धराशायी हुनु र निजी विद्यालयहरू फस्टाउनु भनेकै राज्यको नीति नहुनु र निजीको नितीलाई अङ्गिकार गर्नु हो । शहरका मुख्य भागमा निजी विद्यालयहरु चम्किएका छन् भने त्यही शहरमा निजी कम्पनीहरूले ठूलो प्रलोभनमा विज्ञापन गरिरहेका छन् । देशको माटो सुहाउँदो जनशक्ति उत्पादन गर्न राज्यले शिक्षामा लगानी गर्न नसक्नु र निजीले चलाएका शिक्षाले आफ्नोपन भन्दा विदेशी तडकभडकलाई जोड दिनु युवा पलायन हुनुको मुख्य दोष हो । आज शिक्षित मान्छे कि त राजनीतिक दलको झोले हुनु परेको छ, कि त त्यही निजी कम्पनीको पछि लागेर पैसाको आशामा अरुको देशमा रोटीको भिख माग्न परेको छ ।
सामुदायिक विद्यालयको पाठ्यक्रम व्यवहारिक ज्ञानको अभावमा पर्नु एउटा चुनौति छ भने त्यहाँको प्रशासन र नीति नियम अत्यन्त फितलो बन्दा अभिभावक पनि सन्तुष्ट छैनन् । निजी शिक्षाको पाठ्यक्रम अङ्ग्रेजी भाषामा जोड दिने खालको हुनुको साथै कडा नियम र प्रशासनमा चलेको छ । तर, राज्यले चाल पाउदैन ।
पुस्तक त राज्यले निःशुल्क बितरण ग¥यो । तर, त्यो पुस्तकले मान्छेको मन तान्न नसक्दा हाम्रो ज्ञान विज्ञानले देशमा निशुल्क केही गर्न पर्छ भन्ने चेतना दिन सकिन । अनियन्त्रित विश्व बजारमा आएको ज्ञानको दायरा यति खुल्ला भयो कि, जस्ले जिवनमा गर्ने के र नगर्ने के भन्ने छुट्टयाउने चेतना नै दिन सकिन । निजी विद्यालयको सुकिलो मुकिलो वातावरणले मान्छेलाई आकर्षण ग¥यो । त्यही शहरको भित्ताले पल्लो देशमा जाने वातावरण पनि सृजना गरिदियो ।
मानिसमा पढ्नु पहिलो आवश्यक्ता हो भन्ने चेतना सामुदायिक विद्यालय परिवारले दिएन । पढेको मान्छेमा देशको माया हुनु पर्ने मानसिकता पनि विकास भएन । पढेको मान्छे समाजमा उच्च हुनुको साटो बेरोजगारी देखिन थाल्यो । उस्ले आफ्नो ज्ञानले नयाँ खोज पनि गर्न नसकेर टोले राजनीतिक झोला बोक्यो ।
सामुदायिक विद्यालयले विद्यार्थीमा देशमा बस्ने र खोज अनुसन्धान गर्ने भन्दा जापान, अस्ट्रेलिया र अमेरिका पढ्न जाने र उतै पैसा र योग्यता बढाउन सकिने अमुर्त चेतना भरिदियो । यसले सभ्रान्त परिवारका बालबालिका त्यता आकर्षित भए । बाँकी जो पढ्न सकिरहेको छैन र पैसा पनि देशमा सजिलै देखेको छैन, उस्ले शहरका गल्लिगल्लिमा झुन्डिएका विज्ञापनले आफूलाई बेच्न ईच्छुक हुन्छ ।
यता आफ्ना उत्पादनलाई राज्यले नियन्त्रण गर्न सकिन । पढेकालाई राज्यले न काम दियो न आकर्षक पैसा दियो । न भूल्ने वातावरण दिन सक्यो । तर उता निजी कम्पनीले विकसित मुलुकमा जान सके सीप, ज्ञान र प्रविधि पाउन सकिने र परिवार र सन्तानका लागि सुनौलो भविश्यको सपना बुनिरह्यो । र, त्यसैको आकर्षणमा शहरले चोकचोकमा आफ्ना विज्ञापन बढाइरह्यो र युवा बेचिरह्यो । सक्नेहरु राम्रो देश गए, नसक्नेहरु खाडी मुलुक हुँदै क्यानडा, पोर्चुगल, क्रोसिया जस्ता विकसित राष्ट्र जानलाई भिषा लगाइरह्यो । मान्छे बेच्ने कम्पनि धाई नै रह्यो ।
देशले अर्ध जनशक्तिउ त्पादनगरी रहन्छ । तर, तिनीहरुको मन ठेगान लगाउने क्षमता राज्यले खोज्न नै चाहन्न । शिक्षामा नवीनतम सोंच र तालिम छैन । प्रविधिमैत्री शिक्षा सबै ठाउँमा छैन । किन हुन सकिन ? खोज पनि छैन । सन्तानको भविष्य खोज्न पनि युवा शहर झर्न चाहन्छ । तर शहरमा पनि अभाव छ । आफ्नो निजी सपना बोकेको होर्डिङ बोर्ड छ जस्ले बेचैन भएर बसेकाहरुको मन सजिलै चोर्न सक्छ ।
अस्थिर सरकार, अस्तव्यस्त अर्थ व्यवस्था, आकर्षक निजी संस्थानको विकास, बेचैन र निरस नेपाली शिक्षा प्रणाली हुनु नै नेपाली युवा बेचिनुको मूख्यकारण हो । देशमा पशु पालनबाट हुने फाइदा, तरकारी, तेल र मह उत्पादनले बजार नपाउनु र राज्यले साँचो किसानको समस्या पहिचान गरेर अर्थ व्यवस्थालाई सुदृध नबनाउनु नै प्रतिभा पलायनको मुल कारक तत्व हो ।