झुत्रो पहिरनमा वैज्ञानिक महावीर पुन

यहाँहरूले प्रायजसो वैज्ञानिकहरूको जगल्टे कपाल र अस्तव्यस्त दाह्री जुँगा भएको तस्बिरहरू त देख्नुभएको होला। किन कि ती वैज्ञानिकहरूलाई दाह्री जुँगा र कपाल स्याहार्ने फुर्सद नै हुँदैन। उनीहरु अध्ययन, अनुसन्धान र प्रयोगका अनेक विधिमा व्यस्त रहन्छन्। सुत्ने समय पनि सीमित रहन्छ र खानाको स्वाद कस्तो हुन्छ भन्ने कुरा ती वैज्ञानिकहरूलाई थाहा हुँदैन। थोमस अल्बा एडिसनले त झन आफ्नो नाम आफै बिर्सेका थिए रे। कसैले श्रीमतीको नाम पनि बिर्सेहोलान् कसैले बाआमाको। किन कि वैज्ञानिकहरूको ध्याउन्न भनेकै कुनै पनि सूत्र, विधि तथा यन्त्र उपकरणको रचना तथा निर्माण गर्ने र प्रयोगमा ल्याउनेमै सीमित हुन्थ्यो। यी त भए पुराना वैज्ञानिकहरूका कहानी।

हाम्रो देशमा पनि आविष्कार केन्द्र नामको एउटा संस्था छ। कम्पनी ऐन २०६३ को दफा ५ को उपदफा १ बमोजिम मुनाफा वितरण नगर्ने कम्पनीको रुपमा दर्ता भएको उक्त कम्पनी दर्ता गर्दा असहज महसुस भएको अध्यक्ष महावीर पुन बताउनुहुन्छ। मुलुकले स्पष्ट कानून निर्माण नगरिदिँदा अनुसन्धान र आविष्कारका कामहरू हुनसकेको छैन, जसले अर्थतन्त्रमा सकारात्मक भूमिका खेल्ने गर्दछ।

सरकारलाई कटाक्ष गर्दै पुन भन्नुहुन्छ युवाहरू विदेश पलायनबाट रोक्न सरकारमा बस्नेहरुको दिमागमा घुस्नुपर्छ। युवाहरूलाई योग्यता र दक्षता अनुसार अध्ययन, अनुसन्धान र आविष्कारका कार्यहरूमा संलग्न गराउनुपर्दछ। सूचना प्रविधिका ज्ञाता, वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनले नेतृत्व गरेको राष्ट्रिय आविष्कार केन्द्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा स्थापना गरिएको छ। जनस्तर र विदेशीको सहयोगमा करिव आठ करोड बजेटमा सो केन्द्र स्थापना गरिएको हो । नेपाली जनताले दिएको दान र विदेशीहरूको सहयोगमा केन्द्रको स्थापना गरिएको केन्द्रका अध्यक्ष पुन बताउनुहुन्छ। त्यस केन्द्रमा युवा वैज्ञानिकहरूले उहाँलाई साथ दिइरहेका छन्।

केन्द्रमा पुनलाई भेट्न गएको यस लेखकले उहाँसँग एक घन्टा बिताउने क्रममा ल्याब पनि पुनले अवलोकन गराउनुभएको थिए। उहाँले ल्याबमा अर्धनिर्मित एउटा रोबोट पनि देखाउनुभयो। मुस्कान दिन अलि गाह्रो मान्ने पुन सधैँ झुत्रो पहिरनमा देखिनुहुन्छ। उहाँको पैतालामा थोत्रा चप्पल, ज्यानमा खुइलिएको ज्याकेट अनि शिरमा नमिलाई लगाइएको पुरानो पाल्हीक्यापमा उहाँ देखिनुहुन्छ। उहाँको कार्यकक्ष भब्य होला, उहाँलाई भेट्न मुस्किल पर्ला कि भनि सोँच्दासोँच्दै केन्द्रमा छिरेको यो लेखक टहरा मुनि भद्रगोल अवस्थामा भेटिएका पुनले आफूलाई सरकारले कुनै पनि सहयोग नगरेको गुनासो गर्नुभयो।

वीरगंजस्थित कृषि औजार कारखाना सञ्चालन गर्ने जिम्मा पाएको राष्ट्रिय आविष्कार केन्द्र आफै थला परेको अवस्थामा देखिन्छ। धन्न त्रिभुवन विश्वविद्यालयले उनको संस्थालाई आश्रय दिएको रहेछ। पुनको आविष्कार केन्द्रमा पुग्न राष्ट्रिय आविष्कार केन्द्र लेखिएको सातओटा साइनबोर्ड र शंकेत हेर्दै पुग्नुपर्ने हुन्छ। यो लेखक २०४० देखि २०५६ सम्म कार्यरत रहेको वीरगंज चिनी कारखानाको पनि सञ्चालनको जिम्मा लिइदिएहुन्थ्यो नि डाक्टरसाब भनि कुरो राख्दा वहाँले भन्नुभयो त्यो त भास्ट छ, सजिलो छैन भन्नुभयो। उहाँको आत्मकथा संग्रह उहाँलाई भेट्नआउने जोकोहीले पनि ७५० मा किन्नेगरेका छन्। जसबाट प्राप्त रकम आविष्कार केन्द्र सञ्चालनमा उपयोग गरिनेरहेछ।

नेपालमा केही गर्न खोज्ने काविल मान्छेलाई हतोत्साही गर्ने परिपाटी छ, सम्वन्धित निकायले चासो लिए तापिन त्यसलाई भाँजो हाल्ने माफियाहरुको कमी छैन यहाँ। दिमागदारहरु अमेरिका, अष्ट्रेलिया, युरोपतिर र बलवानहरु खाडी मुलुकहरुमा होमिन वाध्य हुनुमा सरकारको गैरजिम्मेवारीपन हो भन्नुमा कुनै अत्युक्ति हुनेछैन। खाडी मुलुकहरुबाट दशवर्षमा दशहजार लाश भित्रिदा तीतो अनुभव होइन सरकार रेमेटेन्सको मीठो स्वाद मात्र पाउँछ। तर देशलाई समृद्ध बनाउने खोक्रा भाषण मात्र बक्ने काम हुन्छ। सरकारमा रहनेले भन्न छोड्दैनन्– हामी यो देशलाई यस्तो बनाउछौ, उस्तो बनाउँछौँ। २०४६ पछि सरकारी उद्योगहरु सबै टाट पल्टेको थाहा पाउँदापाउँदै मन्त्रीहरु नभएको भत्ता पचाएर थोत्रिएका सरकारी कारखानाहरुमा गएर कारखाना चलाएरै छाड्छौँ भनिरहँदा जनताहरु भने चुपचाप बसिरहेका छन्।

आविष्कार केन्द्रले आधुनिक औजार यन्त्रहरु बनाएर मात्र हुँदैन, त्यसको बजारिकरण सम्वन्धित क्षेत्रहरुमा पहुँचको वातावरण गराइदिने काम सरकारको हो। त्यतातिर सरकारको ध्यान जाँदैजाँदैन। बाँझो पल्टिएका खेतबारीतिर कसैको पनि ध्यान जाने गरेको पाइँदैन। कृषि अनुसन्धान परिषद्को खासै भूमिका पनि देखिँदैन। कृषि मन्त्रालय र कृषि विभागको कुनै पनि काम देखिदैन। मलमा सालैपिच्छे राजनीति हुनेगरेको सबैलाई थाहा नै छ।

धन हुनेले त आफ्ना छोराछोरीहरु सहजै महंगा स्कूल र कलेजमा पढाउनसक्लान्, कमजोर आर्थिक अवस्थाका जनताले भएको पैतृक सम्पत्ती बेच्नुपर्ने अवस्था छ। पढाईपछि रोजगार नपाउँदा अविभावकहरु तनावमा रहनुवाहेक अर उपाय छैन र फेरि विदेशमा पठाउन फेरि ऋणको भर पर्नुपर्दछ। पढ्ने बहाना भए पनि युवा जमात विदेशतिरै हानिएर उतै रमाउन थाल्छन् र आफ्नो देशलाई धिक्कार्न थाल्छन्। धिक्कारिनुपर्ने त देशलाई होइन सरकारमा बस्नेहरुलाई हो। झूठ आश्वासनबाट चुनाव बलजफ्ती तवरबाट विजयी हुनेहरुलाई हो। जनताहरुलाई आफू पिल्सिए पनि सहने बानी परिसकेको छ।

रोजगारका अवसरहरु सृजना गर्नेछौँ भनेर घोषणापत्रमा उल्लेख गर्ने अनि युवायुवतीहरुलाई विदेशमा पलायन हुन वाध्य पार्ने सरकारको दुईजिब्रे नीति तथा ब्यवहारबाट जनताले के आशा गर्लान् र? भएका सरकारी उद्योगहरु त ध्वस्त भए भए निजी क्षेत्रका उद्योगहरु समेत धरासायी हुँदै जाँदा रुग्ण उद्योगहरु सञ्चालनमा ल्याउँछौँ भनेर झुठा कुरा बाँड्दै हिँड्ने नेताहरुलाई अलिकति पनि लाज छैन। हुन त जनता वा मतदाता नै बेबकुफ भएको आभाष पाइन्छ। थोत्रा असक्षम र अदक्ष नेतालाई भोट दिएर पठाउनु नै ठूलो गल्ति हो। जोस जाँगर भएका योग्य उम्मेदवारलाई छनौट गर्न नसक्नु मतदाताहरुको नै कमजोरी हो भन्नु कुनै अत्युक्ति हुनेछैन। गुण्डा माफियाहरुलाई साथमा लिने परम्पराले पनि नेताहरुप्रति जनताको वितृष्णा बढ्दै गएको चाहीँ यथार्थ हो।

महावीर पुन जस्ता देशमा केही गर्नुपर्छ भन्ने भावना लिएर उभिएका काविल ब्यक्तित्वलाई अगाडि बढ्ने अवसर नदिनु नै सरकारको अदूरदर्शिता हो भन्न सकिन्छ। महावीर पुनलगायत देशलाई आवश्यक पर्ने ज्ञान भएकाहरुलाई निरुत्साहित पारिनु देशको हीतविपरितको ब्यवहार हो। यस विषयमा सरकारले गम्भिरतापूर्वक लाग्नु अनिवार्य छ।

प्राविधिक एवं वौद्धिक क्षमता भएका कैयन युवाहरू विदेश पलायनको बाढी बग्नथालेको छ। प्लस टु सकिनासाथ विद्यार्थीहरु विदेशतिर हुर्रिन हतार भएको पाइन्छ। बाबुआमाहरु यस विषयमा बडो चिन्तित हुनेगरेका छन्। भएका सन्तान पनि गाउँ र देश छोडेर बाबुआमाबाट टाढिँदा उनीहरु फर्किने हुन् कि होइनन् भन्ने चिन्ता पाल्नु स्वभाविक नै हो। खेतबारी बाँझो राखेर खाडी मुलुकहरुतर्फ हुर्रिने क्रम झनपछि झन बढ्नथालेको छ। खाडी मुलुकबाट दश वर्षमा दशहजारको लाश भित्रिँदा सरकारलाई शोक मनाउने फुर्सद नै छैन। किन कि सरकार यथेष्ट मात्रामा रेमिट्यान्स भित्रिएको देखेर रमाएको पाइन्छ।

दूरदर्शिताको कमी भएका नेताहरुको भिडभाड छ यहाँ, असम्भव कुराहरु घोषणापत्रमा उल्लेख गरेर मतदाताहरुलाई उल्लु बनाएर चुनाव जित्नेहरुको दबदबा छ यहाँ। हुन त जनताहरु पनि उस्तै हुन्, चेत्दैनन् र खुरुखुरु उनी पुरानाहरुलाई नै भोट दिएर पठाउँछन्। उर्जावान र योग्यतावानलाई चयन गर्ने मनस्थितिमा मतदाताहरु आफै देखिदैनन्। अनि पछि नेताहरुको विरोध गरे जस्तो गर्छन्। वास्तवमा भन्नुपर्दा जनतामा खासै चेतना जागृत भएको पाइँदैन। नयाँ शक्ति रोजौँ वा राजसंस्था पुनर्वहाली गर्नेतिर लागौँ भन्नेहरु पनि नभएका होइनन्। राजा आउने सम्भावना भने ज्यादै न्यून छ, सीमित जनताको लहलहैमा बेलाबखत जुर्मुराउने मात्र हुन् राजा। उनी शक्तिहीन भैसकेका छन्।

कुनैबखत उल्लेख्य मात्रामा राजस्व बुझाउने सरकारी औद्योगिक संस्थानहरु चुर्लुम्म डुबेर गए। बन्द भएर खिया लागिसकेका ती मील मेशिनरीहरु ताजा बनाउन सजिलो पनि छैन। तैपनि नेताहरु वा मन्त्रीहरु बेलाबेलामा डुबेका उद्योगहरुमा गएर केही बोलेर आइहाल्छन्।

जुन उद्योगहरु पुनः सञ्चालनमा ल्याउने भन्ने कुरा असम्भवप्रायः छ। भत्ता पचाएर आउने वाहेक केही उपलब्धि देखिदैन। देश पूरै परनिर्भर वा आयातमुखी भैसकेको छ भन्नुमा कुनै अत्युक्ति हुनेछैन।

झुत्रो पहिरनमा देखिने वैज्ञानिक महावीर पुन र जल्दाबल्दा विज्ञहरुलाई प्रोत्साहन सहित सुविधा र उत्साह प्रदान गर्नु जरुरी भैसकेको छ। एउटा कृषि औजार कारखाना सञ्चालन गर्न दिएजस्तो गर्ने अनि महावीर पुनलाई अरु प्रोत्साहन वा उत्साह प्रदान नगरिनुले झन शंका पैदा गरिदिएको छ।

त्यसले समग्र देशको कैयन समस्याहरुलाई हृदयंगम गर्दै मुलुकलाई साँचिकै समृद्ध बनाउनेतर्फ सरकारमा आसिनहरुले बेलैमा सोँच्नुपर्ने बेला आइसकेको छ। राजनीतिक दल र तीनका नेताहरुले यस विषयमा सोँच्नुपर्ने समय आइसकेको छ। ढिला गरेमा देशको अवस्था जर्जर हुने निश्चित छ।

प्रकाशित मिति : २०८१ भाद्र १० गते सोमवार
प्रतिक्रिया दिनुहोस