
आवश्यकताहरूको बजार
ओहोरदोहोर नजर हजार
प्यास अतृप्त छ सरकार
घरै खायो आउन्न ढकार
बदनाम रत्नपार्कको घुम्टो
उघार्न गाड्दै चुरोटको ठुटो
समाएर पन्जा भरिको चुल्ठो
मस्त छ बडो अधवैँसे ठिटो
रासलीला पचाएर रातभरि
चिथोर्दै कोपर्दै सुन्दर नगरी
उस्तै असन्तुष्टिका डामहरू
लिलाम चोखो प्रेमको नामहरू
उस्ले नटेक्दा रत्नपार्क
एउटा झिलमिल शहर
बिक्यो बदनाम रत्नपार्क
बाध्यता र पुरा गर्न रहर
पुरूष जो सफा बन्दैछ
बदनाम रत्नपार्क भन्दैछ
आफै रातको मिनेट गन्दै छ
रात सकिदाँ पछुतो माग्दैछ
नुहाएर चट्ट कमिज सेतो भिरी
बदनाम रत्नपार्कको झ्याँउकिरी
गर्दैछ उसैले ठुलो खबरदारी
मात्र बदनाम रत्नपार्कको नारी
प्रकाशित मिति : २०८० असोज १३ गते शनिवार