सम्पादकीय :-

अपुरो जलजला क्याम्पस भवन कि ठेक्का रद्द गर, कि अविलम्ब निर्माण पुरा गर

अठार महिनामा निर्माण सम्पन्न गर्नुपर्ने जलजला बहुमुखी क्याम्पसको भवन पन्ध्र वर्षसम्म पनि निर्माण पुरा नहुनु दुर्भाग्यपूर्ण हो । यो निकै लज्जाको विषय हो । क्याम्पस जस्तो संवेदनशिल क्षेत्रको भवन निर्माणमा यतिसम्मको लापरवाही क्षम्य हुनैसक्दैन । निर्माणको जिम्मा लिएको ठेकेदारको लापरवाहीको पनि पराकाष्ठा हो यो । त्यसो त ठेक्का लगाउने निकायको जिम्मेवारी र भूमिकामा पनि प्रश्न गर्न सकिने विषय हो । 

जलजला क्याम्पस जिल्लाको जेठो क्याम्पस हो । यसको स्थापना द्वन्द्वको संवेदनशिल समयमा भएको हो । रोल्पा जिल्लाको शैक्षिक इतिहासमा जलजला क्याम्पसको बेग्लै पहिचान छ । यसको विकास र उन्नयनका लागि तत्कालीन जिल्ला विकास समिति, यहाँका राजनीतिक दल, प्रशासक, नागरिक समाज, बुद्धिजीवी, पत्रकारको उल्लेखनीय भूमिका छ । क्याम्पसको विकासका लागि महायज्ञ लगाउनेसम्मका काम भए । जलजला क्याम्पसलाई निकै उचाइमा पु¥याउनु पर्ने नै छ । क्याम्पसको भौतिक विकास गर्ने, यहाँको पठनपाठनको स्तर प्रविधिमैत्री र गुणस्तरीय बनाउने र अब्बल जनशक्ति उत्पादन गर्ने नै हो । यसमा हामी अझै चुक्दै आएका छौँ ।

त्रिभुवन विश्वविद्यालयसँग आवद्ध मात्र नभई मध्यपश्चिम विश्वविद्यालयको सम्बन्धन लिनुसम्मको यात्रामा क्याम्पसले निकै आरोहअवरोह पार गरिसकेको छ । यो क्याम्पसको विकासले जिल्लाकै परिचय माथि बनाउने तर्फ सबैको ध्यान जान जरुरी छ ।

क्याम्पस प्रमुख, क्याम्पस प्रशासन, यहाँका उपप्राध्यापकहरु, स्वतन्त्र विद्यार्थी युनियन र जिल्लाका सबै सरोकारवाला बेलाबेला भेला र साक्षातकार भएर क्याम्पसको उन्नयनमा साझा धारणा बनाएर अघि बढ्नु नै पर्छ । यस स्तरमा हामी अझै उठ्न सकिरहेका त छैनौ नै, सबैभन्दा दुःखद कुरा त यो क्याम्पसको भवन पन्ध्र वर्षसम्म पनि निर्माण पुरा हुन सकेको छैन । यसमा गम्भीरता पनि नभएको जस्तो भान भैरहेको छ । यसको निकासका लागि एकपटक कस्सिनै पर्छ । 

लामो समय आफ्नै भवन नहुँदा बालकल्याण माविमा अध्यापन भएको थियो । जब यो क्याम्पसको भवन बन्ने भयो भन्ने आधार तयार भएपछि जिल्लावासीमा निकै खुशियाली छाएको थियो । तर, समयमा क्याम्पस भवन निर्माण पुरा भएन र हस्तान्तरण समेत हुन सकेन । सुर्खेती डाँडादेखि क्याम्पससम्म जाने बाटो पिच गर्नेसम्मको काम क्याम्पस भवन निर्माण ठेक्कासँगै जोडिएको हो । त्यो बाटो समेत निकै साँघुरो छ ।

सडक चौडा गर्ने काम समेत गर्न सकिएको छैन । क्याम्पसको भवन निर्माणका लागि भारतीय दूतावासको आर्थिक सहयोगमा तत्कालीन जिल्ला विकास समिति रोल्पाले ठेक्का लगाएको थियो । पटकपटक म्याद थप गर्दा पनि निर्माण पूरा भएको छैन । यो निकै दुःख लाग्दो विषय हो । क्याम्पस भवन निर्माण पुर्ण नभएपनि यहीँबाट पठनपाठन गर्नैपर्ने अवस्था आयो । निर्माण पुरा नहुँदा हस्तान्तरण हुने कुरै भएन । हस्तान्तरण नभएपछि यहाँ ठप संरचना निर्माण गर्न समेत कठिन भएको अवस्था छ । यस्तो अवस्थामा ठेकेदारले इमानदारिता देखाउनु राम्रो हुन्छ ।

मुख्य ठेकेदारले गम्भीरता देखाउन आवश्यक छ । पेटी ठेकेदारले समेत संवेदनशिलता देखाउन जरुरी छ । ठेकेदारलाई जिम्मेवार बनाउने गरी जिल्ला समन्वय समितिले विशेष भूमिका खेल्नुको विकल्प छैन । समन्वय समितिबाट प्रयास पनि भएका होलान । तर, ति कति प्रभावकारी भए भन्ने मुख्य सवाल हो । ठेकेदारको लापरबाही र वेवास्ता हो भने यसको समाधानको पनि त उपाय होलान् ठेकेदारले काम पुरा गर्न अटेरी गरेको हो भने ठेक्का रद्द गर्न पनि सकिन्छ होला नि ? त्यसतर्फ किन खुट्टा कमाउने ? ठेकेदारको लापरबाहीमा मौनता साध्नुपर्ने र सम्झौता गर्नुपर्ने जरुरी त पक्कै छैन होला । अबको विकल्प कि ठेक्का रद्द गर्ने, कि ठेकेदारलाई निर्माण हुन बाँकी काम गराएर हस्तान्तरण गर्ने नै हो । यसतर्फ तदारुकता देखियोस् ।

यो पनि पढ्नुहोस् :

प्रकाशित मिति : २०८२ भाद्र १ गते आइतवार
प्रतिक्रिया दिनुहोस