सांकेतिक तस्विर
२० जेठ, रोल्पा। रोल्पाको गंगादेव गाउँपालिका–६ स्थित बुद्धि विकास माध्यमिक विद्यालयबाट घर फर्कने क्रममा खहरे खोलाले बगाउँदा दुई विद्यार्थीको मृत्यु भएको छ।
बुधबार विद्यालय छुट्टिपश्चात घर फर्किरहेका बेला एक्कासि आएको बाढीले बगाउँदा दुई विद्यार्थीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिएका छन् ।
मृतकहरू विद्यार्थीहरु स्थानीय निमबहादुर खड्काका ७ वर्षीय छोरा गोपाल खड्का र सर्वजित खत्रीका ६ वर्षीय छोरा समिर खत्री रहेका छन्। घटनापछि इलाका प्रहरी कार्यालय घर्तीगाउँ र जिनाबाङबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको प्रहरी निरीक्षक श्रेष्ठले बताए।
जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार बाढीले दुवै बालकलाई करिब १ सय ५० मिटर तल पुर्याएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८३ जेष्ठ २० गते बुधवार


