
कमरेड थमन बुढा मगरको मृत्यु २०७९ मङ्सिर २० गते भयो । उहाँ ७९ वर्षको हुनुहुन्थ्यो । उहाँ २००१ असोज १५ गते बुबा थान बहादुर बुढा र आमा पद्मादेवी बुढाको कोखबाट साबिक गोठिबाङ गाबिस वर्डा नं. ४ गोठिबाङमा जन्मनु भएको थियो । परिवारको पहिलो सन्तान थमन बुढामगर हुनुहुन्थ्यो । उहाँको एक भाइ एक दिदी, एक बहिनी हुनुहुन्थ्यो ।
सानै देखि हक्की स्वभावका थमन बुढामगर बिद्रोही स्वभावको हुनुहुन्थ्यो । उहाँको बुबा समाजका चल्तापुर्ता र रकमी प्रकारको हुनुहुन्थ्यो । “पढी लेखि कामै काम हलो जोती मामै माम” भन्ने उहाँको बुबाबाट पढ्न लेख्नमा पारिवारिक सहयोग न भएको बताउनु हुन्थ्यो । इण्डियामा नोकरी गरेर आफ्नो कमाईबाट मुस्किलले पढेको बताउनु हुन्थ्यो । उहाँको सामाजिक सुधारका काममा रूचि सानैदेखि थियोे । हाम्रै गाउँ मार्सिबाङ र दिवाङमा खुल्ला चहुरमा हाम्रा बुबाहरूलाई पनि पढाएको हाम्रा बुबा लगायत गाउँका बुढापाकाहरूले सुनाउनु हुन्छ । सम्भवतः उहाँले गाउँ गाउँमा त्यसरी पढाउँदै हिंडेको निशुल्क थियो होला ।
२०२२ सालदेखि साविक गोठिबाङ गाविस बाजिपुरमा रहेको गङ्गेश्वरी प्रा.वि.मा प्र.अ. बनेर झण्डै १२ वर्ष अध्यापन गर्नु भयो । तत्कालीन पञ्चायती ब्यवस्थाले राजतन्त्रको विरोधमा पर्चा वितरण गरेको र उक्त पर्चाकाण्डको आरोप लगाई राजकाज अपराध र सजाय ऐन अन्तर्गत उहाँलाई २०३४ सालमा जेल हाल्यो । पछि २०३५असार २८ गते जेलबाट रिहा हुनु भयो । जेलबाट रिहा हुँदा तीन पुस्तासम्म सरकारी जागिर खान नपाउने गरी पञ्चायती सरकारले सजाय तोक्नुका साथै गङ्गेश्वरी प्राविको शिक्षण पेशा पनि गुम्यो । २०३६ सालको जनमतसंग्रह पछि पञ्चायती ब्यवस्थाले फौजदारी अभियोग लागेका बाहेकका सबै राजनीतिक मुद्दा लागेकाले सरकारी जागिर खान पाउने घोषणा गरेपछि गोठिबाङ गाविसको जुडापाटामा रहेको विद्यानन्द निमाविमा अस्थायी शिक्षकको रूपमा फेरि अध्यापन सेवा सुरू गर्नु भयो । यस विद्यालयमा अध्यापन सेवा सुरु गर्न अगाडि जेलबाट रिहा भएपछि आफ्नै घरमा होजेरी उद्योग स्थापना गर्नु भएको थियोे । पछि उहाँ राजनैतिक तहबाट सक्रिय हुन थालेपछि त्यो उद्योग बन्द गर्नु भयो ।
म ४ कक्षामा अध्यनरत हुँदा थमन सरलाई चिनेको हुँ । विद्यालयमा मादलको तालमा पिटी परेड खेलाउने, विद्यालय स्तरका विभिन्न कार्यक्रमहरूमा विद्यार्थीहरूलाई गीत संगीत र नृत्यमा उत्साहित गर्ने गर्नु हुन्थ्यो । उहाँ सँग मादल र हार्मोनियम बजाउने, नाच्ने र गीत गाउने बहुप्रतिभा थियो । यो सबै देखेर म उहाँसँग भित्रैदेखि प्रभावित थिए । मेरो बाल मस्तिष्कले उहाँलाई एउटा आईडलको रूपमा ग्रहण गरिसकेको थियोे ।
पछि २०४६ को जनआन्दोलन ताका म माण्डवी निम्न माध्यमिक विद्यालय नयाँ गाउँमा ६ कक्षामा अध्ययन गर्थे । त्यतिबेला कृष्ण सेन ईच्छुक, मणि थापा लगायतका नेताहरू उक्त विद्यालयमा आउ जाउको प्रभाव भएकाले नेकपा (मशाल) पट्टी मेरो झुकाव थियो । २०४८ को निर्वाचन ताका नेकपा (एकता केन्द्र) बन्यो र बुद्ध बहादुर जिसी चुनावमा उठे । म उनको चुनाव प्रचारमा २३ दिन माडी खोलाभरी हिंडे । चुनावको केही दिन अगाडि बाबा इण्डियाबाट चुनाव बहिष्कार गर्ने भनेर घर आउनु भयो । त्यही समयमा अर्घाखाँचीबाट यमुना भुसाल दिदी हाम्रो घरमा आउनु भएको थियोे । उहाँको साथमा थमन बुढामागर र गोठिबाङकै घनश्याम योगी पनि हुनुहुन्थ्यो । साँझ ठूलो राजनीतिक प्रशिक्षण भयो । म त्यही दिन देखि नेकपा (मसाल)को राजनैतिक लाइनमा सामेल भए । मेरो बाल मस्तिष्कमा परेको थमन बुढामगर प्रतिको प्रभावले साहेद म छिटै राजनीति क्रियाकलापमा सहभागी भए । पछि म कक्षा ७ को अध्ययन गर्न विद्यानन्द निमावि जुडापाटामा गएँ । गोठिबाङ निवासी घनश्याम योगी सर शिक्षक बनेर त्यही विद्यालयमा आउनु भयो । त्यतिबेला थमन बुढाले शिक्षण पेशा छोडी सक्नु भएको रहेछ । विस्तारै मैले घनश्याम योगी सरको संगतले थमन बुढामगरलाई नेपाल कम्युनिस्ट पार्टी (मसाल) प्युठानको नेताका रूपमा चिन्ने मौका पाए । क्रमशः म उहाँहरूको राजनीतिक प्रशिक्षणमा अखिल (छैठौं) को राजनीतिमा क्रियाशील हदै गए ।

थमन बुढा मगर
२०५० साल ताका हामीले गाउँमा झुल्के घाम साँस्कृतिक परिवारको स्थापना गरेका थियौं । त्यतिबेला देशैभरि धेरै साँस्कृतिक समुहहरू थिए । जसले रक्तिम परिवारको सदस्यता लिन पाउँथ्यो । पछि रक्तिम साँस्कृतिक अभियान बनाएपछि, देशैभरि रहेका साँस्कृतिक समुहहरूलाई त्यसैमा गाभियो । हामीले तीन महिनासम्म गाउँमा साँस्कृतिक तालिम संचालन गरिम । हामीलाई सिकाउन कोही प्रशिक्षकको आवश्यकता परेन । जिल्लामा सम्पर्क पनि थिएन । मादलको तालमा यो सब गरियो । तीन महिना पछि गाउँमा साँस्कृतिक कार्यक्रम देखाउने ठेगान भएपछि बल्ल मलाई थमन बुढाले हार्मोनियम बजाउन जानेको याद आयो र उहाँसँग सम्पर्क गरेँ । लालटिनको भरमा हामीले गाउँमा साँस्कृतिक कार्यक्रम संचालन ग¥यौं । थमन बुढाले हार्मोनियम लिएर आउनु भयो । मैले जीवनमा पहिलोपटक कार्यक्रम संचालन गर्ने मौका पाए । घनश्याम योगी र थमन बुढामगरले दमदार भाषण गर्नु भयो । कार्यक्रम भब्य र सानदार रूपमा सफल भयो । यही बेलादेखि मेरो बाल्यकालको गुरु, पिटि परेडको मास्टर, राजनीतिक यात्राका मार्ग निर्देशक कमरेड थमन बुढा मगरसँग सहकार्य गरेर राजनीतिक यात्राका सहकर्मी बन्न पुग्यौं । हामीले झुल्के घाम साँस्कृतिक परिवारको नाममा बाजिपुर, बर्जिबाङ, धाईरेचौर, आपचौर, सल्लिखर्क दिबाङ लगायतका ठाउँमा साँस्कृतिक कार्यक्रम ग¥यौं । यो सबै ठाउँमा थमन बुढामगर हाम्रो अभिभावक, नेता र सहकर्मी कलाकारको हैसियतले निरन्तर सामेल हुनुहुन्थ्यो ।
समय क्रममा थमन बुढामगरसँग मेरो पार्टी संगठनको काममा, आन्दोलनमा र समाजमा रहेका हरेक प्रकार अन्याय, अत्याचार र मुद्दा मामिला हेर्ने र निर्णय गर्ने सवालमा सहकार्य हुँदै आयो । यही क्रममा हाम्रो परिवार र उहाँको बिचमा पार्टी संगठनका साथै घनिष्ट पारिवारिक सम्बन्धको पनि विकास भयो । आज थमन बुढामगरको मृत्युले नेपालको कम्युनिस्ट आन्दोलनले एउटा हस्तीनै गुमाएको छ भने मैले हाम्रो परिवारको अभिभावक गुमाएको महसुस गरेको छु ।
पार्टी संगठनको काममा क्रियाशील रहँदा गरिबीको पीडाले सताएको कुरा कहिलेकाही हामीसँगको अन्तरङ्ग छलफलमा गर्नु हुन्थ्यो । जिल्लाका कैयौं कार्यक्रममा सहभागी हुँदा बाटा खर्चका समस्या, चिया नास्ता खाने पैसाको समस्याले कार्यक्रममा सहभागिता कहिल्यै छुटेन । बरू घरबाटै रोटीपोली बोकेर हिडेको हामीले नै देखेको हो । जिल्ला पार्टी कार्यालय खलंगामा सचिव भएर बस्नुका साथै लामो समयसम्म नेकपा (मसाल) प्युठानको जिल्ला समितिमा र पेशेवर कार्यकर्ताको हैसियतले पनि पार्टीमा योग्दान दिनु भएको छ । मलाई नेकपा (मसाल) को सदस्यता प्रदान गर्ने ब्यक्ति पनि उहाँ नै हो ।
२०४९ सालको स्थानीय निर्वाचनमा नेकपा (मसाल) ले अखिल नेपाल किसान संघको नाममा निर्वाचनमा भाग लिएको थियो । उहाँ साविकको गोठिबाङ गाविस वर्डा नं। ४ को वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । प्युठानमा , जिल्ला विकास समितिको सभापति पदका लागि कर्णध्वज केसी र रमेशराज भण्डारी उपसभापति पदमा निर्वाचित हुनुभएको थियो । थमन बुढामगर यही निर्वाचनमा क्षेत्रीय सदस्यमा २ मतले पराजित हुनु परेको थियो । जिल्ला पार्टीमा रमेशराज भण्डारीलाई उपसभापति न बनाएर थमन बुढामगरलाई बनाउने विषयमा धेरै छलफल भएको रहेछ । तर थमन बुढामगरको निर्णय हुन सकेन । पछि यसको गुदी कुरा के रहेछ भने बिजुवारका रामहरि राजभण्डारी संग मोहन बिक्रम सिंहको पुरानो मित्रबत सम्बन्धले काम गरेको बुझियो ।
२०५४ को दोस्रो स्थानीय निर्वाचनमा राष्ट्रिय जनमोर्चाले गिलास चुनावचिन्ह लिएर भाग लिएको थियो । गोठिबाङ गाविस अध्यक्षमा थमन बुढामगर राष्ट्रिय जनमोर्चाको तर्फबाट चुनाव लड्ने जिल्ला पार्टीको निर्णय भएको रहेछ । ०४९ को निर्वाचनमा धनबहादुर योगी गाबिस अध्यक्षमा निर्वाचित हुनुभएको थियो । थमन बुढालाई अध्यक्षमा टिकट दिदा धनबहादुर योगी रिसाउने हुन की भनेर तात्कालिन जिल्ला सभापति कर्णध्वज केसीले धनबहादुर योगीलाई तपाई वडा सदस्यमा लड्नु होला भनेर सम्झाएर पत्र लेख्नुभएको रहेछ । गाउँ पार्टीको बैठकमा त्यो पत्र ईमान सिङ खड्काले वाचन गर्दा माथिको बेहोरा न पढेर तल तपाई सदस्यमा उठ्नु होला भन्ने देखि तल मात्र पढियो । थमन बुढाले पार्टीको निर्णय परिवर्तन भएछ भनेर सदस्यमा आफू उठ्ने र धनबहादुर योगी पुनः अध्यक्षमा लड्ने निर्णय भयो । तर धन बहादुर योगी ७ मतले गाविस अध्यक्षमा पराजित भए । एमालेका खुमान सिंह बिसीले चुनाव जिते । थमन बुढामगरले पछि फेरि त्यो पत्र पढे । धनबहादुर योगीलाई सम्झाएर सदस्यमा उठाउनु होला अध्यक्षमा थमन बुढालाई सघाउनु होला भनेर कर्णध्वज केसीले धनबहादुर योगीलाई पत्र लेखेका रहेछन् । ईमान सिङ खड्काकै सामुन्ने थमन बुढाले यो कुरा राख्दा विषय हाँसोमा उडाउने काम भयो । जिल्लामा यति गम्भीर विषयमा कुनै छलफल नै भएन भन्ने हामी तल बस्ने कार्यकर्ताले पनि थाहा पायौं ।
२०५६ सालमा पार्टीको सुदृढीकरण अभियान चलेको थियो । त्यसपछि शुद्धीकरण कार्यक्रम चलेको थियो । जिल्ला पार्टी सेक्रेटरीमा चोपलाल आचार्य हुनुहुन्थ्यो । हामीलाई स्थानीय स्तरमा यी दुवै कार्यक्रमका फारम कमरेड थमन बुढामगरले नै भराउने काम गर्नु भएको थियो ।
पछि जिल्ला समितिमै रहेका र पार्टीकै काममा क्रियाशील थमन बुढामगरको पार्टी सदस्यता गायब भयो । यो कुरा प्युठानमा बिमल शर्मा जिल्ला पार्टीको सेक्रेटरी बनेर आएपछि थाहा भयो । जिल्ला पार्टीकै मिटिङ्मा यो विषय उठेपछि उनले चित खाए । पार्टीमै क्रियाशील मान्छेको कसरी पार्टी सदस्यता गायब भयो भनेर खोजी गर्दा जिल्लाका क्रियाशील १ सय ५० जना ब्यक्तिको पार्टी सदस्यता गायब गरिएको भेटियो । थमन बुढामगरलाई पुरानो पार्टी सदस्यता कायम हुने गरी निवेदन दिन लगाएर २०५८ सालमा उहाँको पार्टी सदस्यता पुनः कायम गरियो ।
जीवनभर पार्टी संगठन र वर्गीय मुक्ति आन्दोलनमा होमिएका थमन बुढामगर सोझा, इमानदार र कर्मठ नेता हुनुहुन्थ्यो । पछिल्लो समय पार्टीभित्र भैरहने टुटफुट र विभाजनले असाध्य चिन्तित हुनुहुन्थ्यो । उहाँ बिमारी रहेको अवस्थामा कमरेड राम बहादुर बुढा र म भेट्न गएका थियौं । कम्मरदेखि मुनीको भाग चल्नै न सक्ने अवस्थामा हामीले उहाँलाई भेटेका थियौं । राम बहादुर बुढाले उहाँको जीवन लेख्नु भएको किताब दिनु भयो । पार्टी संगठनमा आएका समस्याको बारेमा कुरा गर्दा उहाँ धेरै भावुक बन्नु भएको थियो ।
त्यहीँ भेटको बेलामा उहाँले घर परिवारमा एउटा संघर्ष चलिरहेको बताउनु भएको थियो । धेरै पटक डाक्टरलाई देखाउँदा र औषधि खाँदा पनि उहाँलाई निको न भएपछि धामीझाँक्री बसाल्ने सल्लाह भएको रहेछ । तर उहाँले आफुलाई धामीझाँक्री प्रति विश्वास न भएकोले मेरो माक्र्सवादी दर्शन प्रतिको आस्थामा प्रहार न गर्न घर परिवार संग अनुरोध गरि राख्नु भएको थियो । घर परिवार कुनै उपाय भएन धामीझाँक्री गर्न टुङ्गोमा हुनुहुन्थ्यो तर उहाँले मान्नु भएको थिएन । राम बहादुर बुढाका एक जना डाक्टर साथीबाट औषधि चलाएपछि उहाँ पुनः हिड्न सक्ने हुनुभयो । चुनावको बेला शशिधर भण्डारी कमरेड र म फेरि भेट्न गएका थियौं । उहाँले हामीसँग धेरै बेर बसेर कुरा गर्नु भएको थियो । कम्मरमा फेरि दुख्न थालेको कुरा गर्नु भएको थियो ।
कमरेड शशिधर भण्डारी र म भेटेको दिन नै हाम्रो अन्तिम भेट भयो । मंसिर २० गते उहाँको मृत्युु भएको दुःखदायी घटना सुने । अत्यन्तै दुःख लाग्यो । विगतका सबै कुराहरू पुनः स्मरण भयो र म विक्षिप्त भएँ । मानव जीवनमा मृत्यु अनिवार्य छ । मृत्युलाई सहर्ष स्वीकार्नु बाहेक हामीसँग अर्को विकल्प थिएन । भौतिक रुपमा उहाँ हामीसित हुनुहुन्न । तर कम्युनिस्ट आन्दोलन र समाजका लागि छोडेर गएका योगदानहरु हाम्रो बीचमा जीवित रहिरहने छन् ।