समय गोल चक्कर घुमिरहन्छ। कहिले दुःखको पूर्वी ठेगानासम्म। कहिले सुखको पश्चिमी ठेगानासम्म। खै! कसरी आइपुग्यो यो समय हाम्रै आँगनमा आश्रय लिन।

परिस्थितिले ल्याएको हो या प्रकृतिले नै। कुनै देवताले दिएको श्राप जस्तो। अकाल्पनिक संयोगहरुको मेला जस्तो। चिसा सोच र प्रश्नहरुमा रुमलिरहेको छ अचेल, दिनचर्या।

म जस्ता विद्यार्थीहरूलाई पोहोर–साल कोरोना भाइरस भनिने कोभिड–१९ ले विद्याको ज्योतिपुञ्जबाट पर–पर पु¥यायो। मानौ, हाम्रो भविष्य कता–कता हराइरहेको छ। भविष्यका बाटाहरु धुमिल भएका छन्। आशाका त्यान्द्रा सुक्दै गएका छन्।

सायद, समय लाग्ला अब त।

मनहरू अन्यौँलको भुमरीमा लुकामारी खेलिरहेका छन्।

सबै–सबैका सपना हराएको समयः भोलिवादको निम्ति सम्पूर्ण योजनाहरू हराएको त्यो पल। त्यो दिन। त्यो साता। त्यो महिना र त्यो निष्ठुरी साल, सन् २०२०। अर्थात् कोरोना त्रासले सन्नाटा छाएको भयानक त्रासदी वर्ष।

भनिन्छ, ‘मानिस हिजो र भोलिमा अल्झिएको हुन्छ अनि वर्तमानमा क्षणिकमात्र बाँचेको हुन्छ।’

तर, कोरोना त्रासले पढाइ, व्यवसाय र कामहरू सबै लथालिङ्ग राख्नुपरेको छ। आम–मानिसका मन, मस्तिष्कमा तनाब बाहेक केहीँ छैन। दैनिकी धान्न धौ–धौ परेको छ। तरपनि बाँच्नैपर्ने बाध्यता छ।

दिनप्रतिदिन बढ्दै गइरहेको जटिलताले सपना र योजनासँगै भविष्यको चिन्तन गर्नेसम्म अवस्था छैन। मानिसलाई आजको एक पलमै खुसी हुनु–छ। खुला आकाशको पंन्छी झैँ रम्नु छ।

संसारनै कोरोनाको मारमा रन्थनिएको छ। महामारी पन्छाउने अनेक उपाय जुटाउँदा पनि मावनजाती हारिरहेको छ। दिनहुँ हुने संक्रमणले ज्यान गुमाउनेहरूप्रति कठै भन्ने शब्द बाहेक केहीँ छैन।

कोभिड–१९ ले लामो समयसम्म विभिन्न देशहरुमा शैक्षिक संस्था थला परे। अहिल्यै जुरुक्क उठ्ने अवस्थामा छैनन्। तर, म्यान्मारमा भने कोरोना खासै त्रास देखिएको छैन। स्कूल चलाउँन सक्ने अवस्था छ।

थ्रुपै देशमा विद्यार्थीले अनलाईन शिक्षा लिइरहेका छन्। उनीहरूले आफ्नो पढाइ रोकेनन्। तर, म्यान्मारमा विज्ञानको साधन भएपनि संकटको समयमा त्यति व्यापक प्रयोग भएन। होस् पनि कसरी ? कारुणिक छ– कारण!

म्यान्मारमा ८५ प्रतिशत विद्यार्थीहरू अनलाइन शिक्षा विद्या पुञ्जको समिपमा छैनौंं। पढाइ बीचमै लथालिङ्ग पारेर सपना र उद्देश्यहरू झोलामा थन्काएका छौं। बस्, शिक्षापुञ्जमा ढोका थुनेको थियो।

कोरोनाको भय एकातिर, सैनिक शासन अर्कोतिर। त्रासैत्रासमा लुकामारी खेलिरहेको बर्मेली जीवनमा पटक्कै सुख र शान्ति भेटिदैन।

हुनत, आजकाल हाम्रो जीवन–यात्रामा ‘भोलि’ सोच्ने फुर्सदै छैन। कहिलेकाहीँ दुई–चार शब्द नै भारी लागिदिने। जस्तै हाम्रो लागि ‘भोलि अथवा अर्को–दिन’ त्यसै भइदिएको छ। बाँचिने हो या मरिने कस्लाई थाहा छ र?

कोरोना कालको समयमा आश थियो– एक वर्षपछि सुरक्षितसाथ् विद्यापुञ्जमा फर्किने छौं। तर, त्यसो भएन। निराशै–निराशाको डढेलो लाग्यो। अशान्ति फैलियो, मनहरुरुमा। अनि देशमा।

जब हामी विद्यारस–पान गर्ने तयारीमा थियौं। तब अनायसै राष्ट्र नै हरण भएपछि कहाँको विद्यारस–पान गर्न सकिदो–रहेछ र? सत्ता हत्याएका सैनिकहरूको क्रूरताले कैंयौ विद्यार्थी र गुरूजनको हत्या गरेको छ।

कक्षा, किताब, बेञ्च, मेच, कालो–पाटी आदि सबै–सबै आन्दोलनका अग्रज विद्यार्थी र गुरूजनको रातो रगतले रङ्गिएका छन्। कैयौंको रगत र उनीहरूका माता–पिताको आँसुको नदी तरेर कसरी जानू –स्कूल?

लोकतन्त्र समर्थक नागरिकले सैनिक निरङ्कुशता कल्पना समेत गर्दैनन्। पछिल्लो आधुनिक र विकसित खुला समाजमा बर्मेली–जनता पनि स्वतन्त्रताकै पक्षमा वकालत् गर्छन्। बालबालिकालाई स्कूलको दैलोसम्म लैजान सैन्य जुन्ताले अनेक प्रयास गरेको छ। तर, हामीहरूले उसका गतिविधिहरूमा सक्दो बहिस्कार गरिरहेका छौं।

स्कूलका कोठा–कोठामा वाई–फाई, फ्रि–रे! अनेकन बम्पर उपहारका पोका खुलाएको छ। तर, स्कूल नजाने दृढ संकल्प लिएका छौं। हामीलाई सिकाइन्थ्यो ‘चाउमान्मान्टेट् सामखे’ अर्थात् विद्यालय सधैँ गए पढाइ सजिलो हुन्छ।

तर, परिस्थितिले २०२१ मे ५ का दिन प्रजातन्त्रिक आन्दोलनको क्रममा मारिएका श्रद्धेय गुरूजन र प्रियजन विद्यार्थीका निम्ति श्रद्धा सुमन अर्पण गर्ने सुनौलो अवर सुम्पियो। त्यसैले ‘चाउमटेट्ने चाउँ प्ये’ अर्थात् स्कूल नजाऔं। स्कूलबाट विछिप्त होऔं। स्वतन्त्रताको लागि ज्यान गुमाएका महान सहीदहरूमा पुष्पाञ्जली अर्पण गरौं।